कपिलवस्तु, २२ फागुन । नेपाली समाजले अन्तरजातीय विवाहलाई अहिले पनि पूर्णरुपमा स्वीकार गर्न सकेको छैन । अन्तरजातीय विवाह गर्ने जोडीमाथि सामाजिक बहिस्कार, भौतिक आक्रमण तथा मानसिक यातनाका समाचार आइरहेका हुन्छन् । पछिल्लो समयमा अन्तरजातीय विवाहलाई विस्तारै स्वीकार गर्दै गएको पनि पाइन्छ ।
सरकारले अन्तरजातीय विवाह गर्नेलाई प्रोत्साहन भत्ता दिने कार्यक्रम समेत ल्याएको छ । विडम्बना अन्तरजातीय विवाह गर्नेहरुको लागि अझै सहज वातावारण भने भइसकेको छैन । समाजको परम्परागत सोँचलाई चिर्दै कपिलवस्तुमा एक अन्तरजातीय जोडीले धुमधामका साथ मागी विवाह गरेका छन् ।
जिल्लाको गुगौली ४, लोहरौलाका तिन्कुराम थारु र पत्थरदेइया ८, त्रिपालनगरकी मञ्जु वि.क.ले परिवारकै सहमतिमा हाँसीखुशी धुमधामका साथ अन्तरजातीय विवाह गरेका हुन् । यसअघि केटाकेटीबीच कुनै चिनजान थिएन । केटापक्षले केटीको घरमै हेर्न गई मनपराएपछि दुवैपक्षको सहमति अनुसार विवाहको छिनोफानो भएको थियो । दुवै पक्षको सहमति अनुसार थारु जातिका बेहुला र दलित जातिकी बेहुलीबीच सम्बन्ध गाँसिएको हो । बेहुलाले जन्तीसहित बेहुलीको घरमै आई हिन्दू संस्कृति अनुसार धुमधामका साथ विवाह गरेका थिए ।
उमेरले मञ्जु वि.क. तिन्कुराम थारुभन्दा ५ वर्षले जेठी छन् । तर तिन्कुरामले नै मञ्जुलाई पहिलो नजरमै मन पराएरै मागी विवाह गरेको बताए । समाजमा कायम रहेको जातीय भेद्भाव र छुवाछूतलाई निरुसाहित गर्न दलित र गैरदलितबीच विवाह गर्ने जोडीलाई विवाह गरेवापत सरकारले प्रोत्साहन रकम दिँदैआएको छ । तर प्रोत्साहनका लागि भन्दा पनि हाम्रो समाजमा हालसम्म विद्यमान छुवाछुत र भेद्भावलाई निरुत्साहित गर्न दुवै परिवारको सहमतिमै विवाह गरेको नवजोडीहरुको भनाई छ ।
तिन्कुराम नकरुराम थारु र रामरति थारुका माइला छोरा हुन् । उमेरले उनी २२ वर्षका छन् । उनी सामान्य लेखपढ गर्न सक्छन् । घरमै खेतीपातीको काम गर्ने र मिहिनेत मजदुरी गर्ने गर्दछन् । उनको दाजुको विवाह भइसकेको छ भने भाइ अझै बढ्दैछन् । यस्तै मञ्जु वि.क. सूर्य वि.क. र खुमी वि.क.की जेठी छोरी हुन् ।
उनको उमेर २७ वर्ष भएको छ । उनी पनि सामान्य लेखपढ गर्नसक्ने साक्षर छिन् । उनकी दुई बहिनीमध्ये माइली बैनीले केही वर्षअघि प्रेमविवाह गरिसकेकी छन् । भने कान्छी बैनी भने अध्ययनका साथसाथै सामाजिक परिचालकको रुपमा काम गर्छिन् । मञ्जु घरकै कामकाज सम्हालेर बसेकी थिइन् । उनका तीन बहिनीबाहेक दाजुभाइ छैनन् ।
विवाह हुनुभन्दा केही दिन अघिमात्र आफ्नै घरमा केटाले आफूलाई माग्न आएपछि चिनजान भएको उनी बताउँछिन् । “कुराकानी गर्दा दुवैको मन मिल्यो । बाबुआमालाई पनि चित्त बुझेर हामी विवाह गरेका हौं ।” –दुवैले एउटै स्वरमा भने । अन्तरजातीय विवाहले हामी खुशी छौं । दुवैका परिवार समेत खुशी छन् ।











प्रतिक्रिया