काठमाडौँ, ६ असोज । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि आग्रह गर्दै नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलाई पत्र पठाउनुभएको छ ।
माओवादीका अध्यक्ष वैद्यले गत वैशाख २३ गते पार्टी एकताका लागि अगाडि सारेको छबुँदे प्रस्तावको सोमबार जवाफ दिँदै उहाँले कम्युनिस्ट क्रान्तिकारीको एकताको ऐतिहासिक आवश्यकताबोध गरी पत्र पठाइएको जारी विज्ञप्तिमा उल्लेख छ ।
एमाओवादीको विराटनगर राष्ट्रिय सम्मेलनले पनि एकताको प्रस्ताव पारित गरेको बताउँदै अध्यक्ष दाहालले पठाएको पत्रमा भनिएको छ “जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको रणनीतिमा अगाडि बढ्ने र माओवादलाई आत्सात् गर्ने निर्णय नै महत्वपूर्ण विषय हो ।’’
वैद्य नेतृत्वको माओवादीले माक्र्सवाद–लेनिनवाद–माओवादलाई पथप्रदर्शक सिद्धान्तका रूपमा अवलम्बन गर्ने, नयाँ जनवादी क्रान्तिको नीति, कार्यक्रम र कार्यदिशालाई स्वीकार गर्ने, संसद्वादलाई अस्वीकार गर्ने, सामाजिक क्रान्ति र रूपान्तरणका लागि बल प्रयोगको भूमिकालाई स्विकार्ने, पार्टी इतिहासको समीक्षा गर्न र गल्ती तथा कमजोरीलाई सच्याउन तयार रहने र जनवादी केन्द्रीयताको मर्म तथा भावनाअनुरूप सङ्गठन सञ्चालन गर्न राजी हुने भए पार्टी एकताका लागि आफूहरू तयार रहेको बताउँदै आएको थियो ।
सोही प्रस्तावका आधारमा एमाओवादी अध्यक्ष दाहालले विगतका अनुभवको गम्भीर आत्मसमीक्षा सहित सिद्धान्तनिष्ठ एकताका लागि पहल गर्न आग्रह गरिएको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
















प्रतिक्रिया