झापा, २१ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियानको शुभारम्भ भएको छ ।
संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकताका र सामाजिक सद्भावका लागि गरिएको सो १५ दिने राष्ट्रिय अभियानको शनिबार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीले कांकडभित्ताबाट सुभारम्भ गरेका हुन् ।
वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, भीम रावल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, सत्यनारायण मण्डल लगायतका नेताको सहभागिता रहेको कार्यक्रममा अध्यक्ष ओलीले पार्टीको प्रदेश नं का संयोजक भीमप्रसाद आचार्यलाई राष्ट्रिय झन्डा र पार्टीको झन्डा हस्तान्तरण गरेर अध्यक्ष ओलीले अभियानको शुभारम्भ गरेका थिए ।
शुभारम्भ सभापछि अहिले शीर्ष नेतासहितको र्याली कांकडभित्ताबाट विर्तामोडतर्फ लागेको छ ।
‘जनताबाहेक अरूको आदेश एमालेले मान्दैन’

अभियानको शुभारम्भ गर्दै अध्यक्ष ओलीले राष्ट्रियताका सन्दर्भमा नेपाली जनताबाहेक अरू कसैको आदेश नमान्ने बताए । संविधान र कानुन मान्दै शान्तिपूर्ण अभियानबाट राष्ट्रियताका जागरण ल्याउने अगुवाइ एमालेले गरेको उनले जनाए ।
उनले भने, ‘एमालेकै दबाबमा स्थानीय निर्वाचन घोषणा भएको छ, निर्वाचन गराउनुपर्छ । निर्वाचन नगर्ने र जनतामा अधिकार नदिने कुरा स्वीकार्य छैन ।’
‘अवरोध गर्न खोज्नेलाई एमालेले पराजित गर्छ’
अध्यक्ष ओलीले संविधान संशोधन प्रस्ताव जनताको आवश्यकता र राष्ट्रियताको हित प्रतिकूल रहेकाले पारित हुन नदिने भन्दै आफ्नो अभियानमा कसैले अवरोध सिर्जना गरे वा हिंसा भड्काउन खोजे एमालेले त्यसलाई पराजित गर्ने जनाए ।
पार्टीका महासचिव ईश्वर पोखरेलले सार्वभौमसत्ता र राष्ट्रियताका पक्षमा अभियान थलिएको भन्दै यो कुनै जाति र दलको विरोधमा नभएको उल्लेख गरे ।




















प्रतिक्रिया