
काठमाडौं, २१ फागुन । तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारका बेला ‘विचौलिया’को आरोप लागेकी शर्मिला पराजुली ढकाललाई नियुक्ति गर्न अस्वीकार भए पनि प्रचण्ड सरकारले राजदूतमा सिफारिस गरेर बदनामी कमाएको छ । राजदूत नियुक्तिमा ओलीले अस्वीकार गरेपछि शर्मिला झोँक्रिएर बसेकी थिइन् ।
त्यसै बेला ओली सरकार ढल्यो । सरकार ढलेपछि शर्मिलाले राजदूत नियुक्तिका लागि फेरि कसरत गरिन् । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको कोटामा राजदूतका लागि सिफारिस भइन् । उनको सिफारिससँगै विरोधका स्वरहरू उठिरहेका छन् । तर, सरकारले फेरि पनि शर्मिलालाई संसदीय सुनुवाईका लागि पठाएर ठूलो भुल गरेको आरोप लागेको छ ।
संसदीय सुनुवाई विशेष समितिका एकजना सदस्य एवम् सांसदले वैदेशिक रोजगारीमा ठगी गरेर नेपाली दाजुभाईलाई दुःख दिने महिलालाई शर्मिलालाई राजदूतका लागि सिफारिस गरेर पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले गम्भीर भुल गरेको आरोप लगाए ।
उनले भने, ‘शर्मिला पराजुली र रमेश कोइराला जस्ता बदनाम बिचौलियारूलाई राजदूतमा नियुक्तिका लागि सिफारिस गरेर ठूलो भुल गरेको छ । यस्ता विचौलियाबाट राज्य र जनताले के कुराको अपेक्षा गर्ने ?’
कतारका लागि पूर्वराजदूत सूर्यनाथ मिश्रले संसदीय सुनुवाइ विशेष समितिमा जनताका प्रतिनिधि रहने गरेको भन्दै वैदेशिक रोजगारीका विचौलियालाई रोक्न ‘ब्रेक’ लगाउनुपर्ने बताए ।
निकै विवादास्पद तीन प्रस्तावित राजदूतमध्ये सरकारले आशा लामाको मात्रै नाम फिर्ता लिएको छ । कतार र ओमनका लागि प्रस्तावित रमेश कोइराला र शर्मिला पराजुली ढकाललाई भने नियुक्त गर्ने प्रक्रिया अगाडि बढाएको छ । लामालाई संयुक्त अरब इमिरेट्स (यूएई) का लागि प्रस्ताव गरिएको थियो ।
कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले बैंकिङ क्षेत्रमा लगानी गरेका व्यक्ति तथा सांसदलाई बैंकको सञ्चालक समितिमा बस्न नपाउने गरी संसद्ले पारित गरेको कानूनजस्तै वैदेशिक रोजगार क्षेत्रमा प्रत्यक्ष र परोक्ष रूपमा संलग्न व्यक्तिलाई नेपाली कामदार बढी रहेका मुलुकमा राजदूत बनाई कुनै पनि हालतमा पठाउन नहुने बताउँछन् ।
उनले यस्ता गलत कार्यको संसदीय सुनुवाइ समितिले कडाइका साथ हेर्नुपर्ने बताए ।
लामा र कोइराला कांग्रेस तथा पराजुली फोरम लोकतान्त्रिकको कोटामा राजदूत सिफारिसमा परेका हुन् । लामा ‘जब ट्रयाक रिक्रुटिङ’ म्यानपावरको सञ्चालिका हुन् । उनले चार जना साझेदार राखेर १३ वर्ष अगाडिदेखि (लाइसेन्स नम्बर ४५८/६०/६१) म्यानपावार व्यवसाय गर्दै आएकी छिन् ।
वैदेशिक रोजगार विभागका अनुसार लामाको म्यानपावरविरुद्ध २३ वटा ठगीको मुद्दा चलिरहेको छ । मुद्दा हाल्नेमा पीडित महिला कामदारसमेत छन् ।
कतारमा प्रस्तावित राजदूत कोइराला तत्कालीन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङको सहयोगीका रूपमा विवादमा परेका हुन् । हिमाल म्यानपावर इम्प्लोइमेन्ट सर्भिस (लाइसेन्स नम्बर १०७/०५४/०५५) का अध्यक्ष रहेका गुरुङले उनलाई सल्लाहकार बनाएर श्रम मन्त्रालयमा ल्याएका थिए । गुरुङ र कोइरालाका विभिन्न नातागोताको नाममा झन्डै एक दर्जन म्यानपावर छन् । कामदारको पैसाबाट उनी बढी विदेश घुमेको कारण पनि विवादमा छन् ।
कांग्रेसका नेता डा.कोइरालाले कतारको राजदूतमा रमेश कोइरालालाई सिफारिस हुनु दुर्भाग्यपूर्ण भएको बताए ।
ओमनमा प्रस्तावित राजदूत शर्मिला पराजुलीले दुबईमा बसेर कामदार छनोट आपूर्तिसँग सम्बन्धित दुई वटा कम्पनी चलाउँदै आएकी थिइन् ।
दुबईमा रहेको ‘बीएसडी ह्युमन रिसोर्स सोलुसन’, ‘रोयल डाइमन्ड रिक्रुटमेन्ट, एलएलसी’ र नेपालमा रहेको म्यानपावर फ्लोरिड हयुमन रिसोर्स सोलुसनका निर्देशक भएको बंगलादेशमा रहेको ग्रिन ल्यान्ड ओभरसिजरट्रेनिङ सेन्टरको वेबसाइटमा उल्लेख थियो । पराजुली त्यस ओभरसिजका ‘ओभरसिज डाइरेक्टर’ थिइन् ।
बीएसडीले खाडीका विभिन्न कम्पनीलाई स्रोत देशबाट कामदार आपूर्ति गरेर दिने काम गर्छ । ‘१० वर्षभन्दा बढी समयदेखि मानव संसाधन आउटसोर्सिङ (सप्लाई) गर्ने कार्यमा उच्च अनुभव छ,’ बीएसडीको वेबसाइटमा उल्लेख छ, ‘कामदारको सप्लाई लाइनको अन्त्यसम्म गएर काम गर्नुका साथै सही कामदारको आपूर्ति तथा छनोट गर्नेछौं ।’
रोयल डाइमन्ड कम्पनीले यूएई तथा खाडी क्षेत्रका कम्पनीको मागअनुसार कामदार आपूर्ति गर्ने गर्छ । यसले कम्पनीमा गएर मागपत्र खोज्ने र नेपालसहित स्रोत देशमा पुगेर कामदार खोजेर दिने काम गर्ने रोयलको वेबसाइटमा उल्लेख छ ।
केपी ओली सरकारले राजदूतमा सिफारिस गरेर विवादमा तानिएपछि शर्मिलाले गएको मेबाट यी व्यवसायबाट हात झिकेकी हुन् । उनले यी कम्पनीले म्यानपावरभन्दा कम्पनीका लागि परामर्श दिने काम गर्ने बताइन् ।











प्रतिक्रिया