५ मंसिर २०८३, शनिबार

१२ जना राजदूतको मात्र सुनुवाई हुने, लामाको नाम फिर्ता, स्पेनका लागि स्थगित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० फागुन । संसदीय सुनुवाइ विशेष समितिले विभिन्न १२ मुलुकमा राजदूतका लागि सिफारिस भई संसदीय सुनुवाइका लागि आएका व्यक्तिको नाममा १० दिने सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गरेको छ ।

उक्त मितिभित्र उहाँहरुविरुद्ध उजुरी गर्न चाहने व्यक्तिले उचित कारण र व्यहोराको सूचना व्यवस्थापिका–संसद् संसदीय सुनुवाइ समितिमा लिखितरुपमा पठाउनुपर्नेछ ।

सरकारले यही फागुन ९ गते विभिन्न १२ मुलुकका लागि राजदूत पदमा नियुक्तिका लागि नाम सिफारिस गरी उहाँहरुको नाम संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो ।

समितिको आजको बैठकले प्रस्तावित राजदूतको नाममा १० दिने संसदीय सुनुवाइका लागि सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको समितिका सचिव ध्रुव घिमिरेले बताउनुभयो ।

सरकारले लक्की शेर्पालाई अस्ट्रेलिया, निरञ्जनकुमार थापालाई इजरायल, शर्मिला पराजुली ढकाललाई ओमान, रमेशप्रसाद कोइरालालाई कतार, अर्जुनजङ्गबहादुर सिंहलाई गणतन्त्र कोरिया, प्रतिभा राणालाई जापान, युवनाथ लम्साललाई डेनमार्क, चोपलाल भूसाललाई बङ्गलादेश, पदम सुन्दासलाई बहराइन, भीमकृष्ण उदासलाई म्यान्मार, विश्वम्भर प्याकुरेललाई श्रीलङ्का र महेन्द्रप्रसाद सिंह राजपुतलाई साउदी अरेबियाका लागि राजदूतमा सिफारिस गरी संसदीय सुनुवाइका लागि समितिमा पठाइएको थियो ।

नेपालको संविधानअनुसार संवैधानिक निकाय तथा राजदूतहरुको नियुक्तिका लागि संसदीय सुनुवाइको संवैधानिक व्यवस्था गरिएको छ । उहाँहरु राजनीतिक दलको कोटामा राजदूतका लागि सिफारिस हुनुभएको हो ।

सरकारले अबउप्रान्त राजदूत नियुक्तिको प्रक्रियालाई व्यवस्थित एवम् मर्यादित बनाउनका लागि उपयुक्त उम्मेदवारको छनौट गर्न योग्यता एवम् कार्यअनुभव समेतलाई समेटेर परराष्ट्र मन्त्रालयले राजदूत सिफारिस एवम् नियुक्तिका लागि मापदण्ड तयार गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय पनि गरेको छ । रासस