काठमाडौं, १९ फागुन । प्रमुख विपक्षी दल नेकपा (एमाले) सरकारले निर्वाचन आचार संहिता उल्लंघन गरेको गम्भीर आरोप लगाएको छ ।
एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई आज टेलिफोन गरेर सरकारले निर्वाचन आचार संहिता विपरितका क्रियाकलाप गरेको भन्दै आपत्ति जनाएका हुन् ।
‘सरकारले आचार संहिताको ठाडो उल्लंघन गरेको छ’, नेम्वाङले आफ्नो कार्यकक्ष सिंहदरबारमा पत्रकारसँग कुरागर्दै भने, ‘प्रहरी तथा जिल्ला प्रशासन कार्यालयहरुका कर्मचारीहरुको व्यापक सरुवा भएको छ । यसलाई रोक्नका लागि हामीले प्रमुख निर्वाचन आयुक्तको ध्यानाकर्षण गराएका छौँ ।’
एमाले नेता नेम्वाङले सरकारले पुरानो मिति राखेर धमाधम कर्मचारी र प्रहरी अधिकृतहरुको सुरुवा गरिरहेको पनि आरोप लगाए । उनले प्रश्न गर्दै भने, ‘यस्तै अवस्था हो भने स्थानीय निर्वाचन निष्पक्ष र स्वतन्त्र हुन्छ भन्ने के आधार भयो ?’
दलका उपनेता नेम्वाङले भने, ‘प्रमुख निर्वाचन आयुक्तसँग जो कर्मचारी जहाँ छन् उनीहरुलाई त्यहीँ रहने अन्तरिम आदेश दिन आग्रह गरेका छौँ । हामी निर्वाचन आचार संहिता लागू भएको हेर्न चाहन्छौँ ।’ आफ्नो आग्रहपछि प्रमुख निर्वाचन आयुक्त यादवले आफू यस विषयमा सरकारसँग परामर्श गर्ने आश्वासन दिएको नेम्वाङले बताए ।
यसैबीच, निर्वाचन आचार संहिता कार्यान्वयनका विषयमा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग कुरा गर्ने भएका छन् ।
एमालेका मुख्य सचेतक भानुभक्त ढकालका अनुसार आचार संहिता उल्लंघन भएका विषयमा अध्यक्ष ओलीलाई जानकारी गराइसकिएको छ । ओली पनि यस विषयमा प्रधानमन्त्रीसँग गम्भीर रुपमा परामर्श गर्ने जनाएको ढकालले बताए ।
वैशाख ३१ गते हुन लागेको स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले फागुन १८ गतेदेखि निर्वाचन आचार संहिता लागू लगेको छ । आचार संहिता पूर्ण पालना गर्नुपर्ने एमालेको माग छ ।















प्रतिक्रिया