
काठमाडौं, १९ फागुन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले होलीपछि आन्दोलन चर्काउने भएको छ ।
सरकारले संविधान संशोधन नगरीकनै स्थानीय निर्वाचनको घोषणा गरेपछि पुनः आन्दोलन थालेको मोर्चाले होलीपछि दोस्रो चरणको भीषण आन्दोलन गर्ने नेताहरुले बताएका छन् ।
सरकारले आगामी बैशाख ३१ गते गर्ने भनेको स्थानीय तहको निर्वाचन जसरी भए पनि तराई मधेसमा हुन नदिने उद्देश्यले मोर्चाले अहिलेदेखि नै आन्दोलनको तयारी थालेको हो । त्यसका लागि मधेसी मोर्चामा आबद्ध दलले आन्तरिक छलफल सुरु गरिसकेका छन् ।
होलीपछि तराई मधेस बन्द, हड्ताल र आवश्यक परेमा नाकाबन्दी लगायतका कार्यक्रम गर्ने मोर्चाको तयारी छ ।
आन्तरिक छलफलपछि एकदुई दिनमा बस्ने मधेसी मोर्चाको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र त्यसपछि नाकाबन्दीसम्मका आन्दोलन गर्ने तयारी भइरहेको संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बताए ।
त्यस्तै सद्भावना पार्टीका महामन्त्री मनिषकुमार सुमनले स्थानीय तहको चुनाव र आन्दोलनबारे आगामी रणनीति बनाउने काम भइरहेको जानकारी दिए ।











प्रतिक्रिया