५ मंसिर २०८३, शनिबार

काभ्रेमा अनेरास्ववियु बलियो, क्रान्तिकारीलाई नेविसंघले धोका दियो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे, १८ फागुन । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा काभ्रे जिल्लामा नेकपा एमाले निकट अनेरास्ववियु बलियो सावित भएको छ ।

आज निर्वाचन सम्पन्न सम्पन्न भएका १२ वटा क्याम्पसमध्ये पाँच वटा क्याम्पस अनेरास्ववियुले जित हासिल गरेको छ भने यस अघि नै कानपुर क्याम्पसमा अनेरास्ववियुको नेतृत्वमा निर्विरोध स्ववियु गठन भइसकेको छ । निर्वाचनमा नेपाल विद्यार्थी संघले ४ वटा र अखिल क्रान्तिकारीले ३ वटा क्याम्पसमा जित हासिल गरेका छन् । अनेरास्ववियुले नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारी (प्रचण्ड) को संयुक्त प्यानललाई पराजित गर्दै ६ वटा क्याम्पसमा विजयी हासिल गरेको हो ।

जिल्लामा रहेका १६ वटा पब्लिक क्याम्पस मध्ये नेविसंघ र अखिल क्रान्तिकारीले आठ–आठवटा क्याम्पस भाग लगाएर संयुक्त प्यानल खडा गरी अनेरास्ववियुसँग प्रतिस्पर्धामा होमिएका थिए । नेपाल विद्यार्थी संघले काभ्रे बहुमुखी क्याम्पस, चैतन्य बहुमुखी क्याम्पस, इन्द्रेश्वर बहुमुखी क्याम्पस, सञ्जीवनी बहुमुखी क्याम्पस, प्रकाश बहुमुखी क्याम्पस, पार्वती बहुमुखी क्याम्पस, मंगल जनविजय बहुमुखी क्याम्पस र डेडिथुम्का बहुमुखी क्याम्पस लिएको थियो भने क्रान्तिकारीले प्रभा बहुमुखी क्याम्पस, दाप्चा कृष्ण बहुमुखी क्याम्पस, कानपुर बहुमुखी क्याम्पस, जनक बहुमुखी क्याम्पस, कुशादवी बहुमुखी क्याम्पस, तेजगंगा बहुमुखी क्याम्पस, धुलिखेल बहुमुखी क्याम्पस र सर्वमंला बहुमुखी क्याम्पस लिएका थिए ।

क्रान्तिकारीलाई नेविसंघको अन्तरघात

यससैगरी संयुक्त प्यानलमा स्ववियु निर्वाचनमा होमिएको अखिल क्रान्तिकारीलाई नेविसंघले घोका दिएको एक नेताले बताए । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका उनले भने– ‘नेविसंघले घोका दिएका कारण धेरै ठाउँमा हामी पराजित भएका छौं ।’ भकुण्डेको जनक क्याम्पसमा रहेका २४ जना विद्यार्थी मध्ये १० जना अनेरास्ववियुका उम्मेदवार र बाँकी १४ जना संयुक्त प्यानलका भएपनि एक मतले अनेरास्ववियुले जितेको छ । यसैगरी विद्यार्थी संख्याको हिसावले काभ्रेको दोस्रो क्याम्पस रहेको तेजगंगामा पनि नेविसंघको अन्र्तघातका कारण ११ मतले प्यानलै पराजित भएको छ । यसैगरी ढुंखर्कमा रहेको पार्वती क्याम्पसमा पनि प्यानलका सचिव पदका उम्मेदवारका विरुद्ध नेविसंघकै स्थानीय नेतालाई बाघी उम्मेदवार बनाई अखिल क्रान्तिकारीको भागको सचिव पदको उम्मेदवारलाई पराजित गरेको छ । यसका विषमा पार्टीस्तरमा छलफल हुनु जरुरी छ ।

प्यानलले हारेका दुई क्याम्पसमा तनाव

भकुण्डेको जनक क्याम्पस र पनौतीको तेजगंगा क्याम्पसमा नेविसंघ र क्रान्तिकारीको संयुक्त प्यानल पराजित भएपछि तनाव सिर्जना भएको छ । तेजगंगा क्याम्पसमा अनेरास्ववियुले प्यानलै जितेपछि घोषणा गर्न लाग्दा नेविसंघ र क्रान्तिकारीले नारा जुलुस सहित ढुंगामुडा गरेपछि प्रहरी परिचालन गरी स्थती नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । पनौती प्रहरी चौकीमा रहेको प्रहरी फोर्सले भिड नियन्त्रण गर्न नसकेपछि जिल्ला प्रहरी कार्यालय काभ्रेको थप फोर्सले स्थती नियन्त्रणमा लिएको हो । यसैगरी जनक क्याम्पसमा पराजय भोगेको संयुक्त प्यानलले मत परिणामलाई स्विकार नगर्ने भन्दै नेकपा एमालेका स्थानीय नेतालाई हारगुहार गर्दै घर–घरसम्म पुगेको र प्रहरीको गाडी समेत लिएर घरैमा लिन पुगेको स्थानीयले जानकारी दिए ।

काभ्रेका कुन क्याम्पसमा कसले मा-यो बाजी ?

अनेरास्ववियु (एमाले) एक्लै

कानपुर क्याम्पस—सभापति (निर्विरोध) सुनिता लामा
कुशादेवी क्याम्पस—प्यानलै मन्दिरा घिमीरे
डेडिथुम्का क्याम्पस—प्यानलै शालिकराम पराजुली
सञ्जिवनी क्याम्पस—सभापति रमिक जंग ठकुरी
जनक क्याम्पस—सभापति सरला दाहाल
तेजगंगा क्याम्पस—प्यानलै–राजेश थापा

नेविसंघ (कांग्रेस र माओवादी मिल्दा)

पार्वती क्याम्पस प्यानलै—(गठबन्धन) पुरुषोतम तिमल्सिना
चैतन्य क्याम्पस—प्यानलै (गठबन्धन) माधव शर्मा
मंगल जनविजय—प्यानलै (गठबन्धन) भिमकुमार श्रेष्ठ
काभ्रे बहुमुखी—प्यानलै (गठबन्धन) युगेश्वर कायश्थ
अखिल क्रान्तिकारी (कांग्रेस र माओवादी मिल्दा)
प्रभा क्याम्पस—प्यानलै (गठबन्धन) विनोद चौलागाई
दाप्चा बहुमुखी क्याम्पस—प्यानलै (गठबन्धन) अमृत अधिकारी
संर्वमंगला क्याम्पस—सभापति (गठबन्धन) तेजबहादुर मिजार

निर्वाचन हुन नसकेका क्याम्पस

प्रकाश क्याम्पस तालाबन्दी छ ।
इन्द्रेश्वर क्याम्पस तालाबन्दी छ ।
धुलिखेल क्याम्पसमा तालाबन्दी छ ।