१ कार्तिक २०८३, आइतबार

राजनीतिमा होमिएका रवीन्द्र मिश्रलाई शान्ता चौधरीका सात सुझाव

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन । बीबीसीको जागिर छाडेर राजनीतिमा होमिएका पत्रकार रवीन्द्र मिश्रलाई एमाले नेतृ एवं पूर्व सांसद शान्ता चौधरीले ७ वटा सुझाव दिएकी छन् ।

भ्रष्टाचारीविरुद्धको अभियानमा मिश्रसँगै साथसाथै रहँदै आएकी शान्ताले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत एमालेसँग प्रतिस्पर्धा गर्न लायक पार्टी बनाउन शुभकामना दिएकी छन् । त्यसका लागि ७ वटा सुझावलाई मनन गर्न आग्रह समेत गरेकी छन् । उनले अन्तिममा भनेकी छन्- ‘ठूलो पार्टी बन्न, असल पार्टी बन्न शुभकामना !’

यस्ता छन् शान्ताका सुझावः

– तपाईंहरुले नयाँ पार्टी खोल्नुभन्दा भएका पार्टीहरुलाई सुधार्नुस् । कुनै पार्टीमा प्रवेश गर्नुस् । तपाईंहरुका लागि सबैभन्दा उपयुक्त पार्टी नेकपा एमाले हो । एमालेमा तपाईंहरुलाई स्वागत छ ।

– पार्टी चम्काउने नाममा उत्तेजक र असम्भव नारा नदिनुस् । उत्तेजक नाराले देश बर्बाद बनाइरहेको छ, जनता भ्रममा परिरहेका छन् । उत्तेजक नाराले केही समय फाइदै गर्ला तर पछि चकनाचुर बनिन्छ । उदाहरण– माओवादी ।

– जातीय क्षेत्रीय नारा नदिनुस्, समावेशी बन्नुस् तर समावेशीताको आडमा जातीय दुर्भाव नफैलाउनुस् । हिमाल पहाड तराई बोक्नुस् ।

– पार्टीको फाइदाका लागि जसो पनि गर्ने प्रवृत्तिबाट बच्नुस् । पार्टी मुख्य होइन देश मुख्य हो । देशको अहित गरेर भए पनि पार्टी र आफ्नो हित गर्ने कार्यले यो देश बरबाद हुँदैछ । यस्तो अपराध तपाईंहरुबाट नहोस् ।

– विश्वका सबै देशसँग सुसम्बन्ध राख्नुस् तर कुनै पनि देशको खेताला नबन्नुस् । विदेशीले नेपालमा खडा गरेको विरादरीमा तपाईंहरुको पार्टी प्रवेश नगरोस् ।

– लोकप्रिय बन्ने नाममा विदेशीले नेपालमा स्थापित गर्न खोजेका एजेण्डा नबोक्नुस् । सम्पूर्ण रुपमा स्वदेशी बन्नुस् ।

– सानो पार्टीले पनि देशलाई दुःख दिन सक्छ भन्ने उदाहरण यहाँ दिन नपर्ला । सानो पार्टीले पनि देशलाई बाटो देखाउँछ भन्ने उदाहरण बनिदिनुस् । यसको मतलब सानो पार्टी बनेर बस्नुस् भनेको होइन ।