रुकुम, १७ फागुन । पछिल्लो समय रुकुममा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेको लहर बढ्दो क्रममा छ ।
नेकपा एमाले नै अब देशको आमुल परिवर्तन र विकास गर्ने पार्टी भएकाले नेकपा एमालेमा प्रवेश गर्नेहरुको संख्या बढिरहेको एमाले रुकुमका अध्यक्ष बिमल कुमार पुनले बताउनुभयो । उहाँका अनुसार अहिले पनि अन्य पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेहरुको संख्या धेरै भएको र पटक–पटक सम्पर्कमा आउने गरेकाले अब केही समयपछि मात्रै पार्टीले जिल्लामा एक औपचारिक कार्यक्रमको आयोजना गरी नेकपा एमालेमा प्रवेश गर्नेहरुलाई स्वागत गर्ने कार्यक्रम रहेको बताउनुभयो ।
आज मात्रै नेकपा माओवादी निकट अखिल क्रान्तिकारी रुकुमका सह–सचिव भिम प्रकाश शर्मा ओली नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । नेकपा एमाले रुकुमको पार्टी कार्यालय बागबजारमा एक कार्यक्रमको आयोजना गरी नेकपा एमाले रुकुमले ओलीलाई स्वागत गरेको छ ।
नेकपा माओवादी केन्द्रभित्र राजनैतिक अस्थिरता, उदण्ड, हेपुवा प्रवृति र विद्यार्थी संगठनमा पनि प्रत्यक्ष राजनीतिक हस्तक्षेप पार्टीका माथिल्लो नेताबाट हुने गरेकाले आफुले माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको उहाँले बताउनुभयो ।
पार्टी प्रवेश संगै नेकपा एमाले रुकुमले उहाँको क्षमताको आधारमा तत्काल पार्टीको विद्यार्थी संगठन भित्र रहेर तत्काल काम गर्ने गरी ओलीलाई एक जिम्मेवारी समेत दिने बताएको छ ।
यसैबिच नेकपा एमाले रुकुमले सोमबार रुकुमको सिम्ली गाविसमा आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रममा समेत ११ जनाले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेको जानकारी प्राप्त भएको छ ।
जिल्लाको सिम्ली, अर्मा, पूर्तिमकाँडा र दुली गाविसका पार्टी कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रमको शिलशिलामा उक्त व्यक्तिहरुले एमालेमा प्रवेश गरेको नेकपा एमाले रुकुमका प्रचार विभाग प्रमुख धनराज खड्काले जानकारी दिनुभयो ।












प्रतिक्रिया