
काठमाडौं, १७ फागुन । नेपाली पत्रकारिता जगतमा सबैभन्दा बढी पारिश्रमिक लिने पत्रकार रवीन्द्र मिश्रले जागिर छाडेका छन् ।
हाल बीबीसी नेपाली सेवाका प्रमुख रहेका मिश्रले पूर्णकालिन राजनीति गर्न पदबाट राजीनामा दिएका हुन् । उनले आजै नयाँ पार्टी खोल्ने तयारी गरेका छन् ।
बीबीसीमा ६ लाख पारिश्रमिक लिँदै आएका मिश्रको राजीनामा आजदेखि स्वीकृत भएको छ । मिश्रले विभिन्न राजनीतिक दलका युवा नेताहरुसँग नयाँ राजनीतिक पार्टी स्थापनाका लागि प्रयास र छलफल गर्दै आएका थिए । मिश्र लामो समयदेखि बीबीसी नेपाली सेवाको प्रमुखका रुपमा कार्यरत थिए । पत्रकार मिश्र ‘खान पुगोस् दिन पुगोस’ भन्ने परोपकारी भावनाले समाजसेवामा पनि संलग्न रहँदै आएका छन् ।
राजनीतिमा होमिने घोषणा गर्दै उनले जारी गरेको विज्ञप्तिमा विद्यमान पार्टीहरूमार्फत अगाडि बढ्ने हो भने आफू बदलिने तर समग्र देश नबन्ने निष्कर्षमा पुगेका कारण आफै पार्टी बनाएर अघि निष्कर्षमा पुगेको बताएका छन् । नयाँ पार्टीको उद्देश्य सबै क्षेत्रका इमान्दार र क्षमतावान नेपाली मिलेर स्वच्छ राजनीतिको बलमा देशलाई रूपान्तरण गर्ने साझा मञ्च निर्माण गर्नु भएको विज्ञप्तिमा उल्लेख छ ।
नेपालमा संवैधानिक र समावेशी लोकतन्त्रभित्र पद्धति, पारदर्शिता, इमान्दारी र उत्कृष्टता अर्थात् ‘स्टिम’को चार खम्बामा सुसंस्कृत राजनीतिको जग निर्माण नगर्ने हो भने यो देशको रूपान्तरण हाम्रो जीवनकालमा सम्भव नभएको उनले बताएका छन्।











प्रतिक्रिया