काठमाडौँ, ६ असोज । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले नयाँ संविधानमा बालअधिकारलाई सुनिश्चित गरिने बताउनुभएको छ ।
सिबिन नेपाललगायत विभिन्न गैरसरकारी संस्थाद्वारा सुरु गरिएको बालबालिकाको राष्ट्रिय चिठी अभियानको आज यहाँ शुभारम्भ गर्दै उहाँले निर्धारित समयमा संविधान जारी गर्न संविधानसभा लागिरहेको छ भन्नुभयो ।
अध्यक्ष नेम्बाङले संविधान निर्माणमा राजनीतिक दलहरुलाई थप गम्भीर बन्न आग्रह गर्दै निर्धारित मितिमा संविधान जारी गर्नुको अर्काे कुनै विकल्प छैन भन्नुभयो ।
सो अवसरमा अध्यक्ष नेम्बाङलाई हिमाल, पहाड, तराईका विभिन्न भाषाभाषीका सातजना विद्यार्थीले नयाँ बन्ने संविधानमा बालअधिकार सुनिश्चित हुनुपर्नेमाग प्रस्तुत गरेका थिए । संविधान निर्माणको प्रक्रियामा बालसहभागिता गराई बालअधिकार सुनिश्चित गर्न अभियान सञ्चालन गरिएको आयोजक संस्थाका अध्यक्ष माधव प्रधानले जानकारी दिनुभयो ।
उहाँका अनुसार ती सातजना बालबालिकाले संविधानसभामा प्रतिनिधित्व गरेका सबै दलका सांसदहरुलाई भेट गरी संविधान निर्माण प्रक्रियामा बालसहभागिता गराई बालअधिकार सुनिश्चित गर्न माग गर्ने छन् । रासस
















प्रतिक्रिया