३० आश्विन २०८३, शुक्रबार

विद्यार्थी संगठनले स्ववियुको गरिमा बचाउन सक्छन् ?

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति नजिकिँदै छ । यो निर्वाचनलाई विद्यार्थीको महाकुम्भ पनि मानिन्छ । यो विद्यार्थी राजनीतिको एउटा महत्वपूर्ण परीक्षा हो । निर्वाचन फागुन १८ गते देशभरका क्याम्पसमा हुँदैछ । आठ वर्षपछि हुन लागेको चुनावका लागि विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरु आफ्नो उम्मेदवारलाई जिताउन सामदाम र दण्डभेदका साथ लागिरहेका छन् । यसअघि स्ववियु निर्वाचन २०६५ सालमा भएको थियो ।

व्यवस्थापिका संसद्को सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, दोस्रो पार्टी नेकपा एमालेको अनेरास्ववियु, माओवादी केन्द्रको अखिल क्रान्तिकारी र राप्रपाको राप्रविसंघ निर्वाचनको मैदानमा लड्ने तयारी गरिरहेका छन् ।

त्यस्तै, साना दलका विद्यार्थी संगठनहरु पनि स्ववियु निर्वाचनमा सहभागी हुँदैछन् । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनपछि शैक्षिक क्षेत्रको वैज्ञानिक परिवर्तन र शैक्षिक मुद्दालाई समयानुकुल बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ । आफ्नो पार्टीको झण्डा फहराएर विद्यार्थी आन्दोलनमा जुटेका विद्यार्थी संगठनको महत्व र स्ववियुको गरिमा फरक छ ।

स्ववियु निर्वाचनको तयारी भइरहँदा हरेक विद्यार्थी संगठनले स्ववियुको गरिमा बचाउन सक्छन् या सक्दैनन् भन्ने प्रश्न उठेको छ । यसअघि भएका निर्वाचन अत्यन्तै हिसांत्मक ढंगले सम्पन्न भए । जुन निर्वाचनमा परिवर्तनकारी विद्यार्थी संगठन भन्नेहरु पनि सहभागी थिए ।

नेपाली विद्यार्थी आन्दोलन अस्ताएको घाम जस्तै बनेको छ । यही बेला हुन लागेको विद्यार्थीको निर्वाचन कति ओजपूर्ण छ भन्ने आत्मसमिक्षा गर्नुपर्छ । विद्यार्थी संगठनहरु यतिबेला स्ववियु निर्वाचनको नतिजा हात पार्न जस्तो सुकै जोखिम मोल्न पनि तयार भएको देख्न सकिन्छ । क्याम्पस परिसर रंगिएका छन् । क्याम्पसका भित्ताहरुमा आ–आफ्ना नाराहरु लेखिएका छन् । क्याम्पस बाहिरका क्षेत्रहरु तुल, व्यानरले सजाइएका छन् । अर्थात विद्यार्थीको महोत्सवको तयारी भइरहेको छ ।

विद्यार्थी जीवनकालका लागि एउटा महत्वपूर्ण निर्णय गर्ने बेला पनि हो । जसका लागि त्रिभुवन विश्व विद्यालयले तयारी गरिसकेको छ । संविधान जारी भइसकेको छ । जारी भइसकेपछिको केही वर्ष व्यर्थमै बितेको छ । यही बीचमा स्ववियुको निर्वाचन हुँदैछ । वास्तवमा विद्यार्थी संगठनहरु स्ववियु निर्वाचनमा सहभागी हुने हैसियतमा छैनन् । यसो भनिरहँदा स्ववियु निर्वाचन हुनुहुँदैन भन्ने होइन, यो आवश्यकता हो । मुलुकको राष्ट्रिय राजनीतिमा विद्यार्थी संगठनको भूमिका महत्वपूर्ण हुन्छ । राष्ट्रिय राजनीतिलाई आफ्नै इशारामा गुमाउन सक्ने शक्ति विद्यार्थी संगठनसँग छ । तर, राष्ट्रियताको पक्षमा भन्दा पनि पार्टीको झण्डाभन्दा माथि उठ्न नसक्नु विद्यार्थी संगठनको कमजोरी हो ।

विद्यार्थी संगठनको मूल्याङ्कन त्यहाँबाट हुन्छ । जतिबेला नेपाली जनता विद्यार्थी संगठनले उठाएका हरेक मुद्दामा सहमत हुन सक्छन् र विद्यार्थीका आन्दोलनमा सहभागी हुन निस्कन्छन् । स्वतन्त्र विद्यार्थी आफैंमा गौरवपूर्ण इतिहास बोकेको संस्था हो । यहाँ विद्यार्थीको भावना बुझ्नसक्ने संगठनको आवश्यकता हुन्छ ।

आफ्नो मातृ पार्टीको गलत मुद्दाको विरुद्ध लडेर राष्ट्रियताको पक्षमा उभिने विद्यार्थी संगठनको आवश्यकता छ । स्थापित विद्यार्थी संगठनहरु खास समयमा दुलाभित्रबाट बाहिर निस्कने र बाँकी समय दुलाभित्रै बसिरहने प्रवृत्ति छ । यो प्रवृत्तिको मूल्याङ्कन स्ववियु निर्वाचनले गर्नेछ ।

हरेक क्याम्पसमा स्ववियु निर्वाचनका लागि विद्यार्थी संगठन तडकभडका साथ लागेका छन् । विद्यार्थीलाई खाजा खुवाउनेदेखि इन्धनको व्यवस्था गरिदिने समेत सुविधा दिइरहेका छन् । विद्यार्थी संगठनले यसो किन गरिरहेका छन् भन्ने प्रश्न उब्जिएको छ । विद्यार्थी संगठनको महत्व घट्दै गएकाले भोट माग्नको लागि खाजा खुवाउनु परेको छ । तेलको व्यवस्था गरिदिनु परेको छ । यदि विद्यार्थी संगठन राष्ट्रियताको पक्षमा दमदार ढंगले प्रस्तुत भएका थिए भने कसैले भोट माग्नु पर्ने थिएन ।

त्यसकै बाबजुद संगठनका नेता खाजा बोक्न तयार छन् । आवश्यकता थियो, स्ववियु निर्वाचनको यसलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्नु विद्यार्थी संगठनको दायित्व पनि हो । यसलाई उपलब्धीमूलक बनाउन विद्यार्थी संगठनकै भूमिका जरुरी हुन्छ । विगतमा भएका निर्वाचनबाट पाठ सिक्दै आउँदो निर्वाचनलाई सम्पन्न गर्नुपर्छ ।

स्ववियु निर्वाचनमा विद्यार्थीबीच हुने झै–झगडा, हत्याहिंसालाई रोक्नुपर्छ । फागुन १२ गते विरगञ्जमा मधेसी दलका विद्यार्थी संगठनले क्याम्पसमा आगजनी गरे । यो उनीहरुको हुतिहारापन, कमजोरीपन हो । जसले आगजनी गर्छ, उनीहरु स्ववियु निर्वाचनको लायक विद्यार्थी संगठन होइनन् । उनीहरुसँग विद्यार्थीको चरित्र छैन । स्ववियु निर्वाचनको महत्व बुझेका छैनन् । उनीहरु स्ववियु निर्वाचनको विपक्षमा छन् भन्ने प्रष्ट हुन्छ ।

कतिपय क्याम्पसहरुमा निर्वाचन गर्नै नदिने योजनाहरु बन्दैछन् । स्ववियु निर्वाचनबाट आफ्नो संगठनको पत्तासाफ हुने डरले भड्किलो काम गरिरहेका छन् । क्याम्पस प्रमुखको कुर्सी जलाउने, आगजनी गर्नेहरुलाई विद्यार्थी संगठन भन्न सकिँदैन । उनीहरु विद्यार्थीको भेषमा, विद्यार्थी संगठनको नाममा अराजकता फैलाइरहेका छन् । सामाजिक चेतनाको नाममा उत्तेजनाले भरिएका छन् । उनीहरुको मूल्याङ्कन पनि स्ववियु निर्वाचनले गर्नेछ ।

संसद्मा सहभागी भएका राजनीतिक दलको हैसियत एउटा छ । राष्ट्रियताको पक्षमा उभिने दलहरुको हैसियत अर्को छ । आजको दिनमा नेकपा एमालेले अंगिकार गरेको विचार हरेक राजनीतिक दलका लागि सन्देश भनिरहेको छ । एमालेले अन्य पार्टीको भावनालाई साझा रुपमा सम्बोधन गरिरहेको छ । मातृ पार्टीले गरेको गतिविधिको नतिजा पनि स्ववियु निर्वाचनमार्फत विद्यार्थी संगठनले प्राप्त गर्नेछन् ।

क्याम्पसमा बम पड्काउने, विद्यार्थीको भाग्य भविष्यका लागि आन्दोलनमा होमिएका उर्जाशील नेताको हत्या गर्नेहरु पलायन भएका छन् । त्यसका केही अवशेष केही विद्यार्थी संगठनमा अझै बाँकी छ । यस्ता कुप्रवृत्तिका व्यक्तिलाई कुनै पनि विद्यार्थी संगठनले संरक्षण गर्न मिल्दैन ।

मिनि संसद्को निर्वाचनको रुपमा लिइएको स्ववियु निर्वाचनले स्थानीय तहको निर्वाचनलाई मद्दत पुग्नेछ । विद्यार्थी संठनको हैसियतले मातृपार्टीलाई समेत सहयोग पुग्नेछ । त्यसका लागि आफ्नो विद्यार्थी संगठनलाई विजयी गराउन पार्टी संगठन रातदिन नभनी लागिरहेका छन् । विद्यार्थी संगठनको अभिभारा कलेजमा भाषण गर्ने मात्र होइन, विद्यार्थी संगठनको काँधमा धेरै जिम्मेवारीहरु छन् ।

राजनीतिक अस्थिरताले विदेशी हस्तक्षेप बढिरहेको छ । छिमेकी राष्ट्र भारतको हेपाहा प्रवृत्ति कमजोर हुन सकेको छैन । उनीहरुको हेपाहाले नेपालका राजनीतिक दलका नेता बरु कमजोर भइरहेका छन् । यस्ता महत्वपूर्ण विषयहरु छन् जसको विद्यार्थी संगठनले प्रतिवाद गर्नुपर्छ ।

संविधान जारी भइसकेपछि संविधानले मार्ग निर्देश गरेका अभिभारा पूरा गर्न विद्यार्थीको दवाव जरुरी थियो र छ । संविधान कार्यान्वयनको सट्टा छिमेकी राष्ट्रको दवावमा संशोधन प्रस्ताव अगाडि बढाइएको छ । यसकाविरुद्ध विद्यार्थी संगठनले दवाव सिर्जना गर्ने कि नगर्ने, विद्यार्थी संगठनको काम र कर्तव्य के हो ? राष्ट्रको स्वाधिनता रक्षा गर्ने जिम्मेवारी विद्यार्थी संगठनको हो कि होइन ? एक पटक आत्मसमीक्षा पनि गर । ढिला भइसकेको छ, मुलुक गम्भीर संकटमा फस्न सक्ने खतरा बढिरहेको छ । अब टुलुटुल हेरेर बस्ने समय छैन, राष्ट्रियताको पक्षमा राष्ट्रिय अभियान सञ्चालन गर । राष्ट्रको माटो छोएर कसम खाएर भन– ‘यो देश बचाउने जिम्मेवारी हाम्रो हो ।’

विद्यार्थीको निर्वाचनले संसदको समेत चेत खुलाउन सकोस् । राजनीतिको नाममा दलाली गर्नेहरुको विरुद्ध लडेर देखाउन जरुरी छ । जसले यी सारा कामहरुको नेतृत्व गर्न सक्छ, त्यसले स्ववियु निर्वाचन मात्र नभई हरेक निर्वाचनमा आफ्नो नेतृत्व विजयी गराउन सक्छ । क्याम्पसमा क्याम्पस प्रमुखको अपमान गर्ने संगठन होइनन्, सम्मान गर्ने विद्यार्थी संगठन स्ववियु भवनमा देख्न पाउँ । विद्यार्थीका मुद्दालाई प्राथमिकता दिने संगठनको विजयी हो ।