३० आश्विन २०८३, शुक्रबार

चोरेर बेचिएका बालक आठ महिनापछि भेटिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aama Babuजनकपुरधाम, ६ असोज । आठ महिनाअघि चोरेर एक लाख रुपैयाँमा बेचिएका सातमहिने बालक सकुशल परिवारमा फिर्ता आएका छन्। जनकपुर नगरपालिका ७ स्थित मिथिला आश्रममा कुष्ठरोगीलाई हेरचाह गर्दै आएका सबैला गाविस १ का प्रकाश मण्डल र गीता मण्डलका सातमहिने छोरा मंगल गत माघमा घरबाटै चोरिएका थिए।

मण्डल दम्पतीले छोरा चोरी भएको भन्दै त्यसै बेला जिरोमाइल प्रहरीचौकीमा उजुरी गरेका थिए। तर प्रहरीले तिमीहरू आफैंले बच्चा बेचेका हौला भन्दै आफूलाई गाली गरेर फिर्ता पठाएको मण्डलले बताए। त्यसपछि छोरो खोजी गरिदिन भन्दै उनीहरूले जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दिएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

घटना भएको आठ महिनापछि पूर्वी धनुषाको सोनापारा गाउँस्थित एक घरमा चोरी भएर पक्राउ परेका व्यक्तिबाट मंगल चोरेर बेचिएको तथ्य पत्ता लागेको हो। चोरी आरोपमा पक्राउ परेका चारजनाले प्रहरी अनुसन्धानका क्रममा आफूहरूले एउटा बालक चोरेर बेचेको बयान दिएपछि मंगललाई फेला पार्न सकिएको प्रहरी उपरीक्षक गणेश थापाले बताए।

चोरी आरोपमा पक्राउ परेका महोत्तरी ८ का ३५ वर्षीय शत्रुघन यादव, धनुषा औरही ९ का ३३ वर्षीय राजेश मण्डल, २९ वर्षीय गुलिया पासवान र झौझीकटैया ६ का ५० वर्षीय किशोरी मण्डलले जनकपुरबाट बालक चोरेर महोत्तरी हरिनमरिन १ की सुनिता महरालाई एक लाख रुपैयाँमा बेचेको स्वीकारेका थिए।

बालक किन्ने सुनितालाई चिकित्सकले आमा बन्न नसक्ने बताएपछि उनले कतै त्यस्तो बालक पाए राम्रो रकम तिरेर किन्ने छिमेकीसँग बताएकी थिइन्। त्यस्तो जानकारी पाएपछि यी चारैजनाले मिलेर मंगललाई चोरेको पत्ता लागेको प्रहरी उपरीक्षक थापाले बताए। सुनिताका पति भने वैदेशिक रोजगारीमा छन्।

बालक किन्ने सुनितालाई समेत पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। आठ महिनापछि आफ्ना अभिभावकका काखमा आइपुगेका १५ महिने मंगलले आफूलाई चिने पनि यत्रो समय सँगै रहेकी सुनितालाई समेत माया गर्न थालेको गीताले बताइन्।

ुचारवटी छोरीपछि पाएको छोरालाई भगवान्ले छिन्दैनन् कतै न कतै फेला पर्ला भनेर भरोसा त थियो, आज छोरो काखमा आइपुग्योु, गीताले आँसु पुछ्दै भनिन्। प्रहरीले बालक चोर्ने चारैजनालाई मानव बेचबिखन तथा ओसारपोसार अपराधमा मुद्दा चलाउन आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।