काठमाडौ, ६ असोज । संविधानसभाभन्दा बाहिरको सभासदहरुको समूह ‘ककस’लाई ब्युंत्याउन केही गैरसैरकारी संस्था जुटेका छन् ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को सहयोगमा आइडिया इन्टरनेशनल नामक गैरसरकारी संस्थाले आदिवासीरजनजाति सभासदहरुलाई भेला गराई बेग्लै समूह गठन गर्न दवाव दिएको हो ।
उक्त संस्थाले शुक्रवार राजधानीको एक होटलमा सभासदहरुलाई भेलालाई गराई जातीय पहिचान स्थापित गर्नका लागि संविधानसभाभन्दा बाहिर पनि समूह बनाई छलफल गर्न जरुरी भएको बताएको थियो ।
साना पार्टीको पहलमा जुटेको उक्त भेलामा सहभागी कांग्रेस र एमाले सभासदहरुले भने ककसको विगतको अनुभव अप्रिय हुदा फेरि गठन गर्न नहुने सुझाव दिंदै बाहिरिएका थिए । कतिपय सभासदहरु भने उक्त प्रयासको विरोधमा बैठकमा सहभागी समेत भएनन् ।
‘पहिले पनि जनजाति सभासद समूह ककसको भूमिका संविधान लेखनमा राम्रो भएन’, भेलामा सहभागी हुन निम्ताइएका एमाले सभासद शेरबहादुर तामाङ्गले आइतवार भने, ‘जातिय पहिचानको मुद्धालाई बढी उठाउने र संविधान नै लेख्न नदिने खालको अनुभव पहिले भएकाले म सहभागी भइन .’
जातिय आधारमा संघीयता हुनुपर्ने माग राख्दै आएका संघीय समाजवादी, खम्बुवान राष्ट्रिय मोर्चासहितका दलका नेताहरुले भेलाको अगुवाई गरेका थिए । मोर्चाबाट प्रतिनिधित्व गर्ने सभासद रामकुमार राईले अन्य पार्टीका सभासदहरुलाई संयोजन गरेका थिए ।
‘प्राय सबै दलका आदिवासीरजनजाति सभासद भेलामा थिए’, कांग्रेसका सभासद बहादुर सिंह लामाले भने, ‘तर, मैले यसबारे पार्टीको आधिकारिक धारणा नबुझी केही भन्न नसक्ने बताए ।’ उनका अनुसार भेला अर्को दिन पनि बस्ने जानकारी गराइएको छ ।
एमाले सचिव योगेश भट्टराइले संविधानसभा स्वयंले सबै जात/जाति, भाषाभाषीको प्रतिनिधित्व गर्ने भएकाले बाहिरको संयन्त्र आवश्यक नभएको जानकारी दिए । ‘संविधानसभा आफैमा ककस हो । त्यसैले हामीले सभासदहरुलाई त्यस्तो संयन्त्र नबनाउन भनेका छौु’, विगतमा संविधानसभा बाहिर बनेका त्यस्ता समूहले राम्रो भूमिका नखेलेको सन्दर्भ उल्लेख गर्दै नेता भट्टराइले भने ।















प्रतिक्रिया