३० आश्विन २०८३, शुक्रबार

अमेरिका बसेर नेपालको पत्रकारितालाई हेर्दा…

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

केही बर्ष यता अमेरिकामा छु । तर, हामी नेपालका गतिविधि हेर्दै उठ्छौँ अनि नेपालकै गतिविधि हेरेर सुत्छौँ । अझ आफैले गरेको संचारकर्मको बारेमा त झनै चासो र चिन्ता आइरहन्छ । यसैले नेपाल पत्रकार महासंघको जारी अधिवेशनका विषयमा केही लेख्न समय मिलाएँ ।

सर्वप्रथम त आफ्नै जिल्ला कपिलवस्तुको यही फागुन १५ मा सम्पन्न पत्रकार महासंघको अधिबेशनले जिल्लामै पहिलोपटक सर्वसम्मत नेतृत्व छनौट भएको खबरले खुशी बनायो । म खुशी यसकारण पनि भएँ कि आफ्नो चाहना र दुःखले यो संस्थाको कपिलवस्तुमा गठन भएको थियो । सस्थापक उपसभापति र ३ पटक महासंघको केन्द्रीय पार्सद बन्ने मौका पाएँ । बिगत ७ बर्षदेखि देश बाहिर रहँदा पनि मेरो सदस्यता बहाल राखिदिने र हरेक बर्ष संस्थाको कार्य समितिले सदस्यता शुल्क रकम समेत तिरिदिनुले पनि कपिलबस्तुको पत्रकारजगतले आफ्नो न्यानो माया र इतिहासलाई नबिर्सिएको आभास भएको छ । मलाइ नबिर्सने त्यो न्यायी पत्रकारहरुले एउटा जिउँदोजाग्दो इतिहास भुलेको देख्दा भने मन अमिलो भएको छ ।

कपिलवस्तु जस्तो सामन्ती जमिन्दारहरुको दबदबा भएको, देशमै सबैभन्दा बढी मानबाधिकार हनन हुने, टेबुलमाथिबाटै घुस खाने र प्रशासननै संरक्षक बनिदिने, तस्कर र दलालहरु बलवान भएको, जिल्लाका जनसरोकारका कार्यालयहरुले सूचना लुकाउने जिल्लामा यी सबै बदमासीहरु माथि धाबा बोल्ने एक्लो बृहस्पति बनेर २०४५–४६ सालमै चेतनाको हुंकार दिने, लुम्बिनीको बिकाससंगै कपिलवस्तुलाई पनि बिकास गर्नुपर्छ भनेर बिकासवादी पत्रकारिता गर्ने र कपिलवस्तुको संस्थापक पत्रकार मात्र होइन्, काठमाडौमा बसेको भए बरिष्ठ पत्रकार गनिन सक्ने नारायण पौडेलजीलार्इ पत्रकारिता के हो भनेर सामान्य जानकारी राख्ने मानिस समेत समेट्न सफल भएको अहिलेको केन्द्रीय पार्सदमा नसमटिएको देख्दा आफूलाइ असजिलो भएको महसुस गरेँ। अग्रजहरुलाई नै नसमेटेर हामी कस्तो महासंघ बनाउँदैछौँ ?

४५–४६ सालमा कपिलवस्तु बिकास परिषद् नामक संस्था खोलेर पन्चायती ब्यबस्थाको बिरोध र जनचेतनाको पत्रकारिता त्यस समयको चानचुने बिषय होइन् । सबै प्रकारका अप्ठ्यारासंग जुध्दै कपिलवस्तुमा पत्रकारिता गर्नु र टिक्नु सामान्य कुरा थिएन । ती योगदानको कदर गर्दै पनि उनी संस्थापक सभापति र पहिलो अधिबेशनबाट पुनः सभापति भएका नारायणजीलाई पत्रकारिताको मुल्य मान्यता बोकेको कुनै सदस्यले भुल्नुपर्ने नाम होइन । जबकी उनी आफै पनि सँधै सर्वसहमतिको पक्षपाती हुन् ।

कपिलवस्तुमा मेरो बसाइँसराइपछि पत्रकारिता र मानव अधिकारप्रतिको मेरो रुचिमा नारायण पौडेलजीको सहयोग छ । २०४७ मा प्राध्यापक माधब पन्थी संयोजकजक, नारायण पौडेल सचिब र ९ जनाको कमिटीमा म समेत सदस्य भएर मानब अधिकार संरक्षण मन्च भन्ने सस्था गठन गरेर काम गरिएको थियो । नारायणजी र मनोज पौडेलजी २०५४ तिरबाटै पत्रकार महासंघ रुपन्देहीबाट सदस्य लिएर संगठित भैसक्नु भएको रहेछ । मैले पनि २०४७–४८ बाटै फाट्टफुट्ट समाचारहरु लेख्ने गर्थेँ । तर, महासंघको सदस्यता बारे त्यतिबेला खासै रुचि थिएन । २०५५ तिर सायद रुपन्देहीको सभापति हरि लम्साल हुनुहुन्थ्यो । महासंघको कार्यलयमा पुगेर मेरा बर्षभरिका समाचार, लेख र मैले धेरै लेख्ने संस्थाको सिफारिससहित महासंघको सदस्यताको लागि निबेदन दिएको थिएँ । मेरो निबेदनलार्इ रद्दीको टोकरीमा फालिएछ । २ बर्षपछि फेरि निबेदन दिन गएँ, त्यो बेला बिनोद पहाडी सभापति र माधब निर्दोसी कार्यालयमा सचिब हुनुहुन्थ्यो । उहाँहरुले पनि मेरो निवेदनमा सिधै दिन नमिल्ने भन्नु भयो । मैले कपिलवस्तुका २ जनाले पाउने, मैले किन नपाउने ? भनेर झगडा गरेँ । उहाले तपाईं पत्रकार हुँदाहुदै पनि केही कारण छ दिन मिल्दैन भन्नुभयो ।

म महासंघको केन्द्रमा बर्ष भरिका समाचार लेख र सिफारिस लगेर गएँ । केन्द्रीय सभापतिले रुपन्देहीले दिनुपर्ने किन दिएनछ, म बुझ्छु भन्नुभयो। मलाई अल्मलाएर राख्ने बिचार गरेको देखेँ अनि म निराश भएँ । केन्द्र हुँदै रुपन्देहीको नेतृत्व सबै राजनीतिक कब्जामा रहेको र त्यो कब्जालाई तोडन नसकी हामीले सदस्यता पाउन फलामको च्यूरा चपाउनु सरह भएको आभास भयो।

कपिलवस्तुमा पहिलो नारायण पौडेल, मनोज पौडेल, म र सरोज अर्याल अग्रपंक्तिमा नै थियौँ । मसालबाट कहिलेकाहीँ इन्द्रमणि पौडेल, अर्जुन ज्ञवाली, नारायण खनालजीहरुले जनआह्वान लगायत पत्रिकामा समाचारहरु निस्केको देख्थेँ । करिब १५ जना जति साथीहरू बनाउन पाउने हो भने केन्द्रलाई दबाब दिनहुन्थ्यो भनेर भेषराज पाण्डे, नन्दराम पौडेल, पवन अर्याल, पार्वती पाण्डे, चक्र अर्याल, बाबुराम खनाल, भोजराज खनाल लगायत साथीहरुसंग पत्रकारिताको बिषयमा गहन छलफल गरियो । उहाँ हामीहरु राजनैतिक पार्टीमा समेत भएकोले कपिलवस्तुमा हामी जस्तो प्रगतिशील राजनीतिको सफलताको लागि मिसन पत्रकारिताको महत्त्वलाई बुझ्न, बुझाउनु सकियो भने मात्र जनतालाई बढी अधिकार सम्पन्न गराउन सकिने बारेमा मतैक्यता भयो । कतिपयले बुटवलबाट, कतिपयले काठमाडौँबाट निस्कने पत्रपत्रिकामा लेख्न थाल्नुभयो । हामीलाई शाखा गठन गर्न पुग्ने गरी १७ जना साथीहरु नारायण पौडेल, मनोज पौडेल, टेकराज पौडेल, इन्द्रमणि पौडेल, नन्दराम पौडेल, सरोज अर्याल, पवन अर्याल, भेषराज पाण्डे, बाबुराम खनाल, भोजराज खनाल, चक्र अर्याल, पार्वती पाण्डे, नारायण खनाल आदि साथीहरुको कागज बोकेर म महासंघको केन्द्रीय कार्यालयमा जान काठमाडौँ हिडेँ ।

जिल्लामा म एमालेको जिल्ला प्रचार बिभागको प्रमुख पनि भएकोले नवयुग पत्रिकाको हिसाब र अन्य कामको लागि बल्खुस्थित नवयुग कार्यालयमा तत्कालिन प्रचार प्रमुख प्रदिप नेपालसंग पत्रकार महासंघको सदस्यता पाउन पाउनु परेको दुःखबारे सुनाएँ । उहाँले पत्रकार महासंघमा स्थापनाकालदेखि कांग्रेसको कब्जामा रहेकोले अरुलार्इ सदस्यता पाउन नसकिने भएकोले यसबाट मुक्ति पाउन कसरी सकिन्छ, मलाइ योजना बताउनुस भन्नुभयो । मैले एमाले समर्थक साथीहरु यस क्षेत्रमा जान कस्सिनुपर्ने बताएँ ।

प्रदिप नेपालले भन्नुभयो– ‘यो जिल्लामा एक्लाएक्लै लडाइँ लड्दालड्दै थाक्नु हुन्छ, म सँग यस्तो योजना छ, जो ३ बर्ष भित्र ४५ बर्ष कांग्रेसले कब्जा गरेको संस्था स्वतन्त्रले नेतृत्व गर्न सक्ने बनाउन सकिन्छ’ भन्नुभयो ।

मैले भनेँ– कसरी ?

उहाँले ‘देशभरका एमाले समर्थक पत्रकारको भेला गर्ने, एमालेको पत्रकारभित्र एउटा शसक्त संगठन बनाएर काम गर्ने हो भने सकिन्छ’ भन्नुभयो ।

मैले समर्थन जनाउँदै ‘हो’ भनेँ ।

प्रदिपजीले नवयुग कार्यालयबाट कतै फोन गर्दै ‘कपिलवस्तुबाट एक जना साथी सदस्यता नपाएर हैरान पर्नुभएको रहेछ, जिल्लाभरिका पत्रकारहरुको विवरण पनि ल्याउनु भएको छ, जिल्लामा शाखा बनाउन के गर्न सकिन्छ, उहाँसँग आफै सल्लाह गर्नुस, उहा जिम्मेवार साथी हो’ भन्नुभयो ।

मेरो उसै दिन तत्कालिन महासचिव महेन्द्र बिष्टसँग भेटघाट भयो । बिस्तृतमा छलफल गरियो । उहाँ आगामी महधिवेशनमा सभापतिमा उठ्ने भएकोले पनि हाम्रो लगायत धेरै जिल्लामा पत्रकारिता गरेका साथीहरुलाई सदस्यता दिलाउन लाग्ने बताउनुभयो ।

यति दुःख गरेपछि सस्थापक सभापति तपार्इं त होला भन्नुभयो ।

मैले भनेँ– यसो नगर्नुहोला !

‘मेरो उद्देश्य कपिलवस्तुमा पत्रकार महासंघको शाखा बनाउने र आफू सद्स्य हुने हो म भएँ भने मान्छेले राजनैतिक आँखा बाट हेर्छन, सभापति नारायण पौडेल र मनोज पौडेललाई जिम्मेवार पद दिलाइदिनुभयो भने जिल्लामा यसको महत्व हुन्छ’- मैले त्यही सुझाब दिएँ ।

महेन्द्र बिष्टजीलार्इ हाम्रो शाखा दिलाउन पापड बेल्न पर्यो।

‘कागज पत्र एकप्रति फोटोकपी गरेर म राख्छु, बाँकी जिल्लामा गएर एकप्रति नारायणजीलार्इ जम्मा गर्नुस्, उहाँ र मनोजजी सहित कपिलवस्तुमा शाखा बन्न सक्छ भन्ने निष्कर्ष कांग्रेस समर्थकहरुबाटै ल्याउन सकियो भने मलाइ सजिलो पर्छ’ भन्नुभयो ।

‘धेरै कुरा नगरी आफ्ना लेख रचना बिष्णु निष्ठूरी केन्द्रीय सभापति हुनुहुन्थ्यो, उहाँलाई देखाउनुस् र चिन्जान गरेर मात्र जानुस्’ भन्नुभयो ।

बिष्णुजीसँग मैले मेरो जिल्ला भन्न नपाउँदै ‘तपाईँ राजनैतिक मान्छे, त्यै पनि शाखा नहुन सक्छ, तपार्इंको सद्सयता हुन्छ’ भन्नुभयो ।

मैले परिस्थितिलाई बुझेर ‘हुन्छ’ भनेँ । तर कपिलवस्तुमा २० जना भन्दा बढी पत्रकार छन् मैले मात्र पाउँदा राजनीति भयो भन्छन् सबैलाई मिलाएर दिनुहोला भनेर हिडेँ।

एक महिनापछि १७ जना साथीहरूसहित नारायण पौडेल सभापति, म उपसभापति, मनोजजी सचिब, नन्दराम पौडेल, सरोज अर्याल, इन्द्रमणि पौडेल, भेषराज पाण्डे सदस्यसहितको शाखा स्वीकृत भएर आयो । र, यो बनाउनु र मान्यता दिलाउन हाम्रो कपिलवस्तु जिल्लाको पत्रकारिताको लागि डा. महेन्द्र बिस्टको ठूलो योगदान छ । पहिलो अधिबेसन हुँदा नहुँदै महासंघले संस्थाको भवनका लागि घडेरी आफ्नो नाममा रजिस्ट्रेसन गरिसकेको थियो । दोस्रो अधिबेशनबाट चाहेको भए म सभापतिमा आउन सक्थेँ तर हामी केही साथीहरुले पत्रकारको नेता हुन जाने साथी बिशुद्ध पेशागत हुँदा राम्रो हुन्छ भनेर भेषराज पान्डेजीलाइ अघि सारियो । म खास गरेर प्रेस चौतारीको संस्थापक सभापति बनेर कपिलवस्तुमा जनतालाई कसरी आफ्नो अधिकार र कर्तब्यप्रति जागरुक बनाउन सकिन्छ भनेर लागिरहेँ।

अमेरिका बसेर मैले देखेका केही सुझाव

हिजो हामी राज्नैतिक संस्थामा हुँदाहुँदै एउटा मिसनको लागि पत्रकारिता गरियो । म ,चक्र अर्याल, बाबुराम खनाल, इन्द्रमणि पौडेल र नारायण खनाल जस्ता साथीहरु अब राजनीतिको अग्र भागमा देखिन्जेल पत्रकारको संस्थामा देखिन त्यति सुहाउँदैन, हिजो नेता पत्रकार भनेर आलोचना खेपिएको छ त्योबाट त मुक्त हौँला तर अब अरु खालका आलोचनाबाट पनि नेतृत्वमा आउन चाहने साथीहरूबच्न सक्नुपर्छ ।

पत्रकारले आफूलाइ खाली औपचारिक कार्यक्रमको सभापति को भयो, को प्रमुख अतिथि थियो र अतिथिले के भन्यो ? बनगार्इमा गार्इले धान खायो र गाउँलेले लखेटेर लौगाइ छोडे भनेर पुग्दैन । खोजमुलक अनुसन्धान मुलक विषयक कुराहरु पस्किनु पर्छ । यसको लागि अध्ययनको दायरा बढाउनुपर्छ ।

आधुनिक प्रबृत्तिसंग जति बेला पनि साक्षात्कार भैरहनु पर्छ । औपचारिक पत्रकारिताका लागि विश्वविद्यालयमा तुरुन्त भर्ना भई कम्तीमा डिप्लोमा कोर्स पूरा गर्नु पर्छ ।

पढ्न नसक्ने अल्छीले अंगाल्ने पेशा हो भन्ने आमधारणाबाट मुक्त गराउन आफैबाट सुरु गर्न जरुरी छ ।

पत्रकार कुनै तेस्रो ग्रहबाट आएको प्राणी होइन, समाजको आम मान्छे सरह हो । र, त्यस्तो फरक केही होइन । केबल कानुनका, न्यायका ,समानताका, मानबीयताका बढी कुरा जानेको नाताले समाजका आम मान्छेहरु पत्रकारसंग नजिक पर्न डराउँछन् । उनीहरुसंग पत्रकारहरुले साझेदारी, हेल्मेल नगरी बास्तबिकता थाहा नपाइने हुँदा जनतांग नङ र मासुको जस्तै सम्बन्धमा हुनुपर्छ ।

जनताको अधिकार सँकुचित पार्ने सूचना लुकाउने भनेको सरकारका मान्छेहरु हुन्, उनीहरु संग कस्तो व्यबहार वा कार्य गर्दा त्यो प्राप्त हुन्छ यसमा सचेत हुन जरुरी छ ।

पत्रकारले जीवन गुजाराको लागि पत्रकारिता गरेको हो भने त्यो आजैदेखि छोड्नुपर्छ, त्यस्को लागि कुनै पसल वा अन्य जागिर खोज्दा पनि हुन्छ । जीवन गुजाराको लागि बिज्ञापन उठाउने, सूचना बेच्ने, सूचना माथि धनको लोभमा बार्गेनिङ गर्ने केही मान्छे यो क्षेत्रमा प्रबेश गरेकोले यो बदनाम भएको हो ।

बेमौसम र परिस्थितिको आंकलन नगरी जहाँ पायो, त्यहीँ मापसे गरेर हल्ला गर्ने कार्यले पत्रकारलाई हल्का बनाइदिन्छ र पिठ्युँ पछाडि नराम्रो काटिने कुराले उसको वजन घटाइ दिने हुन्छ । तसर्थ आफै आफ्नो पेशालाई मर्यादित बनाउँ । यो बर्षदेखि मेरो सदस्यता पनि नवीकरण नहुँदा मेरो कुनै दुखेसो हुनेछैन्