३ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्री कोइराला न्यूयोर्कमा, यस्तो छ व्यस्तता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Koirala2

नारायण न्यौपाने

न्यूयोर्क, ५ असोज । प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा भाग लिने क्रममा २२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार न्युयोर्क पुग्नुभएको छ ।

न्यूयोर्कस्थित जोन अफ केनेडी विमानस्थलमा प्रधानमन्त्री कोइरालालाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई, नियोगका कर्मचारी तथा अमेरिकी विदेश विभागका अधिकारीले स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्री कोइरालाले राष्ट्र सङ्घको महासभालाई यही असोज १० गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ । महासभाका क्रममा प्रधानमन्त्री कोइरालाले जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलनलाई समेत सम्बोधन गर्नुहुनेछ । महासभाको उच्चस्तरीय छलफल असोज ८ गतेबाट सुरु भई असोज २१ गतेसम्म जारी रहने छ ।

महासभामा नेपालका तर्फबाट जलवायु परिवर्तन, जनसङ्ख्या व्यवस्थापन र विकास, सुरक्षा परिषद्मा सदस्य सङ्ख्या विस्तार, गरिबी निवारणलगायत अल्पविकसित तथा भूपरिवेष्ठित मुलुकसँग जोडिएका जल्दाबल्दा विषयमा कुरा उठाउने तयारी भइरहेको छ । प्रधानमन्त्री न्यूयोर्कमा रहनुहुँदा यहाँ बसोवास गर्ने नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

महासभाका दौरानमा सोमबार आयोजना हुने आदिवासी जनजातिसम्बन्धी विश्वसम्मेलन र जनसङ्ख्या तथा विकाससम्बन्धी अन्तरर्राष्ट्रिय सम्मेलनमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भाग लिनुहुने छ ।

नेपालले संयुक्त राष्ट्रसङ्घको सन् १९५५ मा सदस्यता लिएपछि महासभामा निरन्तर सहभागिता जनाउँदै आएको छ ।

नेपालबाट प्रधानमन्त्रीको हैसियतले सबैभन्दा पहिले सन् १९६० को महासभालाई तत्कालिन प्रधानमन्त्री बिपी कोइरालाले सम्बोधन गर्नुभएको थियो । नेपालले राष्ट्रसङ्घको ११औँ महासभाबाट सहभागिता जनाउने अवसर प्राप्त गरेको थियो । प्रधानमन्त्रीका हैसियतमा महासभालाई सम्बोधन गर्ने प्रधानमन्त्री कोइराला नवौँ व्यक्तित्व हुनुहुने छ ।

तत्कालीन राजा महेन्द्रले २२औँ महासभालाई सन् १९६७ सम्बोधन गर्नुभएको थियो भने अन्य महासभामा परराष्ट्रमन्त्री एवम् राष्ट्रसङ्घमा खटिएका स्थायी प्रतिनिधिले सहभागिता जनाउँदै आउनुभएको थियो ।

प्रधानमन्त्रीका साथ परराष्ट्रमन्त्री पाण्डे, प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार डा दीनेश भट्टराई, सल्लाहकार मृदुला कोइराला, प्रधानमन्त्रीका प्रमुख निजी सचिव वसन्तकुमार गौतम र प्रेस संयोजक प्रकाश अधिकारीलगायत सहभागी हुनुहुन्छ । रासस