नेपालगन्ज, ५ असोज । नेपालगन्जस्थित बाँकेगाउँमा बस्दै आएकी ६ महिनाको गर्भ रहेकी एक महिलालाई आगो लगाएर विभत्स रूपमा जलाइएको छ। प्रहरीले ३० वर्षीया साजाहाँ राई कबडियालाई जलाएको आशंकामा उनका पति मोहमद समीरलाई पक्राउ गरेको छ।
शरीर पूरै जलेकी गर्भवती साजाहाँलाई शुक्रबार राति उपचारका लागि भेरी अञ्चल अस्पतालमा भर्ना गरिएको छ। अस्पतालकी नर्स सुभद्रा रोकायले उनको अवस्था अत्यन्तै नाजुक रहेको बताइन्।
‘छटपाइरहेकी छन्, स्लाइन दिने ठाउँसमेत छैन, नसाहरू सबै जलेका छन्’, रोकायले भनिन्। अस्पतालमा साजाहाँका कुरुवासमेत कोही छैनन्। ‘यताउताबाट हामीले नै औषधिउपचार गरिरहेका छौ’, रोकायले भनिन्।
अस्पतालमा खटिएका प्रहरी जवान नरेन्द्र केसीले एकजना आफन्त हुँ भन्दै आएको तर खाना लिन जान्छ’ भनेर हिँडेपछि फर्केर नआएको बताए। ‘कोही आफन्त पनि आएका छैनन्, पानी र खाना दिने मान्छे पनि कोही छैन’, केसीले भने।
साजाहाँले भने पतिलाई प्रहरीले पक्राउ गरेकाले आफूले केही नबोल्ने बताइन्। ‘मेरो श्रीमान्लाई प्रहरीले प्रक्राउ गरेको छ, म केही भन्दिनँ’, उनले भनिन्। प्रहरीले साजाहाँलाई परिवारकै सदस्यले जलाएको आशंका गरेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।
केही समययता नेपालगन्ज बस्दै आएकी साजाहाँको घर भने भारतको बहराइचमा रहेको प्रहरीले जनाएको छ। बाँकेका प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले उनका पति समीरलाई पक्राउ गरी घटनाबारे अनुसन्धान अगाडि बढाइएको जानकारी दिए।
यसअघि पनि बाँकेमा तीनजना महिलालाई दाइजो नल्याएको भन्दै जलाइएका घटना सार्वजनिक भइसकेका छन्।















प्रतिक्रिया