३ कार्तिक २०८३, मंगलबार

ढुङ्गाको ढक प्रयोग गरी ठगी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– ललित सिंह

बझाङ, ७ फागुन । यहाँका व्यापारीले ढुङ्गाको ढक प्रयोग गरी सबैले देख्ने गरी उपभोक्तालाई ठगी गर्दै आएका छन् ।

स्थानीय व्यापारीले दाल, चामल, चिनी, तथा माछा मासु र तरकारी बिक्री गर्दा नाप तौल विभागले प्रदान गरेको फलामे ढक प्रयोग नगरी कम तौल भएका ढुङ्गाका ढक प्रयोग गरी ठगी गरेका पाइएको छ । उपभोक्ता तौलमा ठगिँदासमेत स्थानीय प्रशासन भने मौन छ ।

अझै पनि सदरमुकाम चैनुपरदेखि यहाँका मुख्य बजार तमैल, झौता, देउरा, बागथाला, सुनकुडा, देउलेकलगायत क्षेत्रमा ढुङ्गाकै ढक प्रयोग हुने गरको छ । “न त कमाइ खाने जमिन छ, नत रोजगार नै । दैनिक ज्यालादारी गरेर चैनपुरको पसलबाट खाद्यान्न लिने गरेको छु, साहुले दैनिक ढुङ्गाको ढकमा तौलेर दिने गरेको छ”–स्थानीयासी करन विकले भन्नुभयो ।

उहाँले भन्नुभयो, “विरोध गरे उधारो नपाइला भन्ने डर, शङ्का लागेर फलामको प्रमाणित ढक भएको तराजुमा जोख्दा दुई किलो चामलमा एक पाउ कम भयो ।” आफू यसरी दुई वर्षदेखि तौलमा ठगिदै आएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “स्थानीय प्रशासनले ढक तराजुको परीक्षण गरेको भए ठगिने थिएनौँ ।”

व्यापारीले खाद्यान्न, तरकारी माछामासु ढुङ्गाको ढकमा तौलेर बेच्दा आफूहरु ठगिँदै आएको जयपृथ्वी नगरपालिका–४ का ५५ वर्षीय मदन स्नेहीको गुनासो थियो । “ढुङ्गाको ढक किन राखेको, फलामे ढक खोइ” भन्दा “एक ढक हरायो, बराबर तौलको ढुङ्गाा हो” भनेर जवाफ दिने गरेको उनीहरुको भनाइ छ ।

“व्यापारीले चर्को मूल्यमा कम तौल भएको सामान बेच्दा गरिब नै बढी ठगिएका छन्”,चैनपुरका नागरिक अगुवा धर्मसिंहले भन्नुभयो । चैनपुरमा प्रतिकिलो मोटो चामलको रु ४५, चिनी र दाल रु एक एक सय र माछा प्रतिकिलो ३५० मा खरिदबिक्री हुने गरेको छ ।

यसैबीच उद्योग वाणिज्य सङ्घले सदरमुकामदेखि ग्रामीण भेगका सबै व्यापारीमा मूल्यमा एकरुपता ल्याउन दरभाउ कायम गरेको छ । प्रजिअ सुनिल खनालले सहायक प्रजिअको संयोजकत्वमा अनुगमन समिति गठन भएको र उक्त समितिले बजार अनुगमनलाई तीव्र बनाउने र ठगी गर्नेलाई कडा कारबाही हुने बताउनुभयो । रासस