३० आश्विन २०८३, शुक्रबार

जीवनसाथी खोज्न १० लाख डलर खर्च ! चीनमा युवती पाउनै मुश्किल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । जीवन साथी खोज्नका लागि १० लाख डलर खर्च गरेरपनि युवती पाइँदैनन् भन्दा अचम्म लाग्न सक्छ । तर, यो कुरा सत्य हो । हाम्रै छिमेकी देश चीनमै यस्तो समस्या सृजना भएको छ । जनसंख्यामा लैंगिक असमानताको प्रत्यक्ष प्रभावकै कारण अहिले यो अवस्था आएको हो ।

लामो समय ‘एक सन्तान’ नीति अपनाएको चीनमा पुरुषको संख्या महिलाको भन्दा निकै बढी भएका कारण विवाहका लागि दुलही पाउन मुस्किल हुने गरेको छ ।

समाचार एजेन्सीहरुका अनुसार चीनमा ३० वर्ष उमेर पार गरिसकेका अविवाहित पुरुषलाई ‘शेङ्गनान’ अर्थात् ‘बाँकी बसेका पुरुष’ भनिन्छ ।

विश्वकै सबैभन्दा बढी जनसंख्या भएको मुलुक चीनमा यस्ता पुरुषको संख्या निकै छ । लैंगिक असन्तुलनका कारण चीनमा कयौं पुरुषले विवाहका लागि बेहुली पाउन मुस्किल छ ।

युवतीहरु पनि यसको फाइदा उठाउँदै विवाहका लागि विभिन्न शर्तहरु राख्न थालेका छन् । चीनको यसअघिको त्यो नीतिले सन् २०२० सम्ममा चीनमा तीन करोडभन्दा बढी पुरुष अविवाहित हुने अनुमान गरिएको छ ।

चीन सरकारले सन् २०१५ मा ‘एक सन्तान’ नीतिलाई खारेज गरेको भए पनि लामो समय सो नीति अपनाएको चीनमा त्यसको प्रभाव आगामी कयौं वर्षसम्म पर्ने देखिन्छ ।

अमेरिकी राजनीतिक अर्थशास्त्री निकोलस एबरस्टाडले आफ्नो पुस्तक ‘दि डेमोग्राफिक फ्युचर’ मा उल्लेख गरेअनुसार सन् २०३० सम्ममा ३० वर्ष उमेर पार गरेका एक चौथाई चिनियाँ युवा अविवाहित रहनेछन् ।

सन् २०१५ मा ४० वर्ष उमेर कटेका एक चिनियाँ व्यवसायीले विवाहका लागि जोडा मिलाउने सांघाइस्थित एउटा एजेन्सीविरुद्ध मुद्दा नै हालेका थिए । तर, उनले त्यहाँ १० लाख डलर दिए पनि विवाहयोग्य युवती पाउन सकेनन् ।

त्यसैगरी दक्षिणी चीनको ग्वाङ्गजाउमा एक कम्प्यूटर प्रोगामरले आफ्नी प्रेमिकालाई ९९ वटा आइफोन दिएर विवाहको प्रस्ताव गरेका थिए । तर उनकी प्रेमिकाले विवाहका लागि अस्वीकार गरिन् । जुन विषय सामाजिक सञ्जालमा निकै चर्चाको विषय बन्यो ।

युवतीहरुलाई आफूतर्फ आकर्षित गर्न केटाहरु नयाँ नयाँ तरिका अपनाउन थालेका छन् । प्रविधिको विकाससँगै अहिले ‘अनलाइन डेटिङ’ पनि खुब प्रचलनमा आएको छ । युवतीलाई आकर्षित गर्न युवाहरु ‘स्टाइलिस्ट’ बन्ने होडमा देखिन्छन् ।

अर्कोतर्फ विवाहका लागि आमा–बुवाको दबाब झेल्न नसक्दा कयौंले नक्कली गर्लफ्रेन्ड राख्ने गरेका छन् । यसका लागि पनि निकै खर्च हुने गरेको बताइन्छ ।

चीनमा नक्कली गर्लफ्रेन्डका लागि एउटा एप नै प्रयोगमा ल्याइएको छ । ‘हायर मी प्लीज’ नामको सो एपमा निश्चित अवधिका लागि गर्लफ्रेन्ड फेला पार्न सकिन्छ । समाचार एजेन्सीहरुका अनुसार यसका लागि दिनको १० हजार युआनसम्म पनि खर्च हुने गर्दछ ।