३० आश्विन २०८३, शुक्रबार

गलत उपचारले बिरामी जोखिममा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

musquito-da-dengueधनगढी, ४ असोज । सुडा–३ की २६ वर्षीया गीता भट्ट हातखुट्टा दुख्ने र ज्वरो आउने लक्षण देखिएपछि स्वास्थ्यचौकी गइन्। स्वास्थ्यकर्मीले टाइफाइड भएको भन्दै औषधि दिए। निको भएन। स्थानीय क्लिनिक गइन्।

त्यहाँका स्वास्थ्यकर्मीले इन्जेक्सनले मात्र टाइफाइड निको हुने भन्दै आठ दिनसम्म इन्जेक्सन दिइरहे। उनी थप थला परिन्। सेती अञ्चल अस्पताल पुर्‍याएपछि मात्र थाहा भो, उनलाई डेंगी भएको रहेछ।

‘यहाँ ल्याउँदा डेंगी भएको रहेछ,’ उनका पति नवराजले भने, ‘हेल्थपोस्ट र क्लिनिकले रोग नै चिनेनन्। दस दिनसम्म गलत उपचार गराए, पैसा सकिदिए।’ एक सातादेखि अञ्चल अस्पतालमा रहेकी गीतालाई अहिले ज्वरो र हातखुट्टा दुख्न निको भए पनि टाइफाइडको इन्जेक्सनले कमजोर बनाएकाले बेडबाट उठ्न सकेकी छैनन्।

सेतीमै उपचार गराइरहेकी कञ्चनपुर, रैकवार–९ की २५ वर्षीया शारदा भाट पनि टाउको दुख्ने र ज्वरो आएपछि स्थानीय मेडिकल गइन्। जहाँ भाइरल भएको भन्दै उनलाई एक सातासम्म झुलाइयो। ‘मेडिकलले भाइरलको औषधि दियो। एक साता खाँदा निको भएन। यहाँ आउँदा डेंगी भएको रहेछ,’ शारदाले भनिन्, ‘गलत औषधीले दुःख पाइयो।’

स्वास्थ्यचौकी र मेडिकलले रोग खुट्याउन नसकी गलत उपचारमा झुलाइरहँदा डेंगीका बिरामी ढिलो गरी अस्पताल पुग्ने गरेका छन्। डेंगीलाई कतिपय स्वास्थ्यकर्मीले मलेरिया, जन्डिस र भाइरल ठानेर बिरामीको अवस्था थप जोखिममा पार्ने गरेको समाचार आजको नागरिक दैनिकले छापेको छ।

यसै कारण डेंगीका बिरामी ढिलो गरी अस्पताल आउने गरेको सेतीका चिकित्सक शुभेशराज कायस्थ बताउँछन्। ‘बिरामी सुरुमै अस्पताल आउँदैनन्, हिँड्नै नसक्ने भएपछि आउँछन्,’ उनले भने, ‘ढिलो गरेर आउँदा उपचार गर्नै कठिन हुन्छ।’ स्वास्थ्यकर्मीलाई नै डेंगीको जानकारी नहुँदा विभिन्न ठाउँमा बिरामीलाई गलत उपचार गरिने उनले बताए।

‘बाहिरका क्लिनिकले टाइफाइड, मलेरिया, भाइरल ज्वरो र जन्डिस भनेर उपचार गराएको पाइन्छ,’ उनले भने, ‘डेंगीबारे स्वास्थ्यकर्मीलाई प्रशिक्षण र जानकारीमूलक कार्यक्रम आयोजना गर्न जरुरी देखिएको छ।’

डा. कायस्थका अनुसार डेंगीमा सुरुमा टाउको दुख्ने, ज्वरो आउने र हातखुट्टा दुख्ने लक्षण देखापर्छ। दोस्रो चरणमा शरीरमा बिमिरा देखिनुका साथै नाक वा दिसापिसाबबाट रक्तस्राव हुन्छ। बढी च्यापेपछि नाडी शिथिल, रक्तचाप कम हुँदै कलेजो र किड्नीले काम गर्न छाडी बिरामीको मृत्यु हुन्छ।

सङ्लो पानीमा बस्ने र दिउँसो टोक्ने लामखुट्टेबाट यो सर्ने भएकाले नगरपालिका, जिविसलगायत सबै सरोकारवाला निकाय यसको रोकथामा लाग्नुपर्ने उनी देख्छन्। धेरै घरवरिपरि धेरै दिनदेखि जमेको पानी नष्ट गरिहाल्नुपर्छ। असोज–कात्तिक महिनामा यसको प्रकोप बढी देखिन्छ।