काठमाडौं, ४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन नजिकिदै गर्दा भावी नेतृत्वका लागि समर्थन गर्ने कार्य चलिरहेको छ ।
यसैक्रममा बुधबार राप्रपा उच्चस्तरीय कार्यसम्पादन समितिका सदस्य सुनील थापाले राप्रपाको भावी नेतृत्वका लागि अध्यक्ष कमल थापालाई समर्थन गर्ने घोषणा गरेका छन् ।
सर्बसम्मत नेतृत्व चयन नहुने भएपछि आफूले आफू र आफ्नो समूहको समर्थन थापालाई गर्ने घोषणा गरेको सुनीलले बताए । उनी पूर्वअध्यक्ष तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् ।
‘दुई पार्टी एकीकरणको पृष्ठभूमिमा सहमतिबाटै पार्टी अध्यक्ष चयन गर्न सके आम कार्यकर्ताको मनोबल उच्च रहन्छ, तर सहमति हुन नसकेको खण्डमा अध्यक्षका लागि कमल थापालाई समर्थन गर्नु यथार्थ र वस्तुपरक रहन्छ’ पूर्वमन्त्रीसमेत रहेका सुनिलले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो अवस्थामा हामीसँग रहेका सबै साथीहरुको सहयोग कमल थापालाई रहन्छ ।’
भावी नेतृत्वका लागि कमल थापासहित पशुपति राणा र प्रकाशचन्द्र लोहनी मैदानमा छन् ।











प्रतिक्रिया