३ कार्तिक २०८३, मंगलबार

संसदीय सुनुवाइ: के-के वाचा गरे प्रस्तावित राजदूतले ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

singhadurbar

काठमाडौँ, ३ असोज । व्यवस्थापिका–संसद्, सार्वजनिक सुनुवाइ विशेष समितिले सरकारले छ मुलुकमा सिफारिस गरेका राजदूतको सुनुवाइ प्रक्रिया सुरु गरेको छ ।

समितिले शुक्रबार प्रस्तावित क्यानडाका लागि राजदूत कालीप्रसाद पोखरेल, जेनेभाका लागि स्थायी प्रतिनिधि दीपक धिताल र फ्रान्सका लागि राजदूत अम्बिकादेवी लुइँटेलको सुनुवाइ गरेको हो ।

सुनुवाइका क्रममा प्रस्तावित राजदूतहरुले राष्ट्रिय हित र आवश्यकतालाई केन्द्रबिन्दुमा राखेर अनुशासित र मर्यादित भएर काम गर्ने प्रतिबद्धता जनाएका थिए ।

क्यानडाका लागि प्रस्तावित राजदूत तथा क्युबाका लागि गैरआवासीय राजदूत पोखरेलले आफू राजदूत भएमा मुलुकको व्यापार घाटा कम गर्न निर्यात बढाउने गरी बजारको खोजी गर्ने बताए । यसअघि आफू संयुक्त राज्य अमेरिकामा समेत कावा राजदूत भएर काम गरेको अनुभव प्रयोग गर्ने उहाँको भनाइ थियो ।

पोखरेलले क्यानडाबाट वार्षिक १६ करोडको आयात र नेपालबाट मात्रै नौ करोड बराबरको निर्यात हुने गरेको तथ्याङ्क पेस गर्दै मुलुक भित्रने पर्यटकको सङ्ख्या दोब्बर बनाउने प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले आफू राजदूत भएमा त्यहाँका परराष्ट्रमन्त्रीसँग भेटघाट गरी सम्बन्ध सुधार्ने, नेपालको हित प्रबद्र्धन गर्ने, त्यहाँका नेपालीको तथ्याङ्क सङ्कलन गर्ने र राजनीतिक सम्बन्ध सुधार्न सक्दो पहल गर्ने बताउनुभयो ।

प्रस्तावित राजदूत पोखरेलले भन्नुभयो, ‘‘विगतमा नेपाल र क्यानडाबीच कूटनीतिक भ्रमण तय भएर पनि रद्द हुँदा सम्बन्ध बिगँ्रदो रहेछ,  त्यसैले राजनीतिकस्तरमा  सम्बन्ध सुधार्नु पर्छ, लगानीलाई केन्द्रित गर्नेभन्दा पनि व्यापारमा केन्द्रित गर्नुपर्छ ।’’

क्यानडाले नेपाललाई दिइरहेको सहयोग नरोक्न पनि पहल गर्ने उहाँले विश्वास दिलाउनुभयो । आगामी माघको पहिलो हप्ता नेपाल क्यानडा सम्बन्ध ५० औं वर्षमा प्रवेश गर्ने भएकाले त्यस अवसरमा केही नयाँ गर्नुपर्छ भन्नेमा आफ्नो  जोड हुने पोखरेलको भनाइ थियो ।

जेनेभाका लागि प्रस्तावित स्थायी प्रतिनिधि एवम् स्विट्जरल्यान्डका राजदूत तथा इटलीका गैरआवासीय राजदूत धितालले नेपालमा रहेका भुटानी शरणार्थीलाई स्वदेश फिर्ता गर्न सक्दो पहल गरिने बताउनुभयो ।

उहाँले भुटानसँग कुनै न कुनै गम्भीर छलफल गरेर भुटानी शरणार्थी स्वदेश फिर्ता वा तेस्रो देश पुनर्वासका लागि आप्mनो पहल हुने धितालको भनाइ थियो ।

देशमा स्थायित्व कायम भएमा विकास सम्भव हुने र अन्तर्राष्टिय समुदाय पनि सहयोगका लागि तत्पर रहेकाले हामीले आफ्नो समस्या तत्काल समाधान गर्नुपर्ने उहाँको कथन थियो । धितालले भन्नुभयो, ‘‘स्विट्जरल्यान्डमा स्रोत नखुलेको नेपाली पैसा छ भन्ने कुरा आएको छ, यदि त्यस्तो नेपाली रकम भए पत्ता लगाउन पनि पहल गर्छु, त्यसका सरकार र सदनको पनि सहयोग आवश्यक हुन्छ ।’’

आफूले मुलुकमा पर्यटनको विकासका लागि पहल गर्ने, त्यसका लागि हिमाली अवधारणा अगाडि सार्ने तथा प्रचारप्रसारलाई जोड दिनेसमेत आफ्नो योजना रहेको सुनाउनुभयो । निरन्तर भइरहने सरकार परिवर्तनले अन्तराष्ट्रिय सम्बन्धमा फरक पार्न नहुने धारणा उहााले राख्नुभयो ।

फ्रान्सका लागि प्रस्तावित राजदूत तथा स्पेन, पोर्चुगल र ग्रिसका लागि गैरआवासीय राजदूत लुइँटेलले नेपाल–फ्रान्सबीचको राजनीतिक र नीतिगत सम्बन्ध सुधार्न आफू प्रतिबद्ध रहने बताउनुभयो । फ्रान्समा भएको आर्थिक प्रगति र उन्नतिलाई नेपालको राष्ट्रिय हितमा प्रयोग गर्ने, लगानी भित्र्याउन पहल गर्ने तथा द्विपक्षीय हित र चासोलाई केन्द्रमा राखेर काम गर्ने विश्वास उहाँले दिलाउनुभयो ।

फ्रान्सले कृषि र पर्यटनमा राम्रो विकास गरेकाले त्यो अनुभव साटासाट गर्न आफूले पहल गर्ने लुइँटेलको भनाइ थियो ।

समितिका सभापति कुलबहादुर गुरुङले सुनुवाइ गर्न बाँकी तीन प्रस्तावित राजदूतको यही असोज ५ गते सुनुवाइ गरिने जानकारी दिनुभयो । सरकारले गत भदौ १९ गते परराष्ट्र मन्त्रालयमा कार्यरत वरिष्ठ अधिकृतबाट छ राजदूत सिफारिस गरेको थियो ।

समितिमा सिफारिस हुनुभएका थाइल्यान्डका लागि खगनाथ अधिकारी, दक्षिण अफ्रिकाका लागि अमृतबहादुर राई र कुवेतका लागि यज्ञबहादुर हमालको सुनुवाइ हुन बाँकी छ । समितिले सुनुवाइ गरेपछि राष्ट्रपतिले उहाँहरूलाई सम्बन्धित मुलुकको राजदूतका लागि नियुक्त गर्ने प्रावधान छ ।