३ कार्तिक २०८३, मंगलबार

प्रचण्डलाई उच्चस्तरीय समितिको अध्यक्ष मान्न सकिन्न: गोकर्ण विष्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gokarna-bista

अनिल खत्री

गुल्मी, ३ असोज । नेकपा एमालेका सचिव एवं पूर्व उर्जा मन्त्री गोकर्ण विष्टले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मात्रै उच्चस्तरीय राजनीतिक संयन्त्रको अध्यक्ष बनाउनुपर्ने एमाओवादीको प्रस्ताव एमालेले स्वीकार गर्न नसक्ने बताउनुभएको छ ।

गृह जिल्ला गुल्मीको सदरमुकाम तम्घासमा प्रेस चौतारीले शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै विष्टले संयन्त्रको अध्यक्ष आलोपालो गर्नुपर्ने बताउनुभयो ।

उच्चस्तरीय राजनैतिक संयन्त्र निर्माण गर्नुपर्ने र त्यसको अध्यक्ष प्रचण्ड नै हुनुपर्ने भन्दै एकीकृत नेकपा माओवादी लगायतका केही दलहरुले व्यवस्थापिका संसदको कार्वाहीलाई अवरोध पुराएको भन्दै उहाँले भन्नुभयो, “संयन्त्रको अध्यक्ष पालैपालो वनाउनु पर्छ भन्ने हाम्रो भनाइ हो । तर, संयन्त्रको नाममा संविधान सभाको क्षेत्राधिकारलाई कुनै पनि संयन्त्रले हस्तक्षेप गर्न पाइदैंन ।”

सचिव विष्टले माघ आठ भित्रमा संविधान जारी हुने कुरामा पनि आशंका वढ्दै गएको बताउनुभयो । ‘संविधान ल्याउने सन्दर्भमा संविधान सभा भित्रका गतिविधि, छलफल, प्रयत्न र विधिहरु जुन ठंगले देखा परेका छन्, ती गतिविधिहरुका कारण तोकिएको समयमा संविधान आउनेमा खतरा वढेको छ ।’- उहाँले भन्नुभयो ।

संविधानसभालाई ओझेलमा पारेर वा वाइपास गरेर संविधान सभा वाहिरवाट कुनै पनि सर्तमा संविधान जारी हुन नसक्ने उहाँले बताउनुभयो । सभासद् समेत रहेका विष्टले संविधानसभामार्फत नै संविधान जारी हुनुपर्ने बताउनुभयो । “संविधान सभा वाहिरवाट निष्कर्ष निकाल्ने र संविधान जारी गर्ने कुराको हामीले कल्पनानै गर्न सक्दैनौ”-उहाँले भन्नुभयो ।

ससाना मतभेदका कारण संविधान आउन सकेन भने त्यो अवस्थामा मुलुकलाई संविधान विहिनताको अवस्थामा राख्न नहुने उहाँले बताउनुभयो । आफूहरुले सकेसम्म सहमतिकै आधारमा संविधान ल्याउन चाहेको वताउँदै उहाँले त्यसो नभए दुईतिहाई वहुमतका आधारमा भए पनि मुलुकमा संविधान आउने ठोकुवा गर्नुभयो ।

प्रेस चौतारीले आयोजना गरेको सम्मेलनमा चौतारीका निवर्तमान अध्यक्ष गगन विष्टको पनि उपस्थिति थियो ।