काठमाडौं, २ फागुन । स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनको सम्बन्धमा प्राप्त गुनासा अध्ययन गरी सरकारलाई सुझाव पेस गर्न गठित समितिले आज सिरहाबाट प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गरेको छ ।
सिंहरबारस्थित संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा भएको उक्त छलफलमा स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनमाथि जिल्लामा देखिएको गुनासो हल गर्ने बारेमा कुराकानी भएको थियो । छलफलमा सहभागीले सिरहामा केही मात्रामा स्थानीय तहको सङ्ख्या थप गरेर भए पनि गुनासो समाधान गर्नुपर्ने बताएका थिए ।
छलफलमा सहभागी नेकपा (माओवादी केन्द्र)का सांसद् एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले स्थानीय तहको सङ्ख्या केही बढाएर जाँदा नै गुनासा सम्बोधन हुने बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तह पुनःसंरचना आयोगले अधिकतम् ७४४ स्थानीय तह हुन सक्ने भनेको छ । हाल ७१९ स्थानीय तह सिफारिस गरिएको छ । २ नं प्रदेशका जिल्लामा केही सङ्ख्या थप गरौँ, सङ्ख्या थपेर जानुनै उपयुक्त हुन्छ ।”
नेपाली काँग्रेसका सांसद एवम् शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादवले स्थानीय तह र वडामा जनसंख्या एकरुपता नदेखिएको बताउँदै जनसंख्यालाई मुख्य आधार बनाइनुपर्छ भन्नुभयो । नेपाली काँग्रेसका सांसद पद्मनारायण चौधरीले स्थानीय तह पुनःसंरचना बारे स्थानीयस्तरमा छलफल गर्न नसक्नु कमजोरी भएको बताउनुभयो । पुनःसंरचना जस्तो प्राविधिक विषयलाई राजनीतिक रुपमा टुङ्ग्याउन खोज्दा समस्या सिर्जना भएको उहाँको भनाइ थियो ।
छलफलपछि समितिका संयोजक एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले स्थानीय तह पुनःसंरचनाबारे जिल्लाबाट प्रतिनिधित्व गर्ने सबै दलका सांसदसँग छलफल गरेर सुझाव दिन आग्रह गरिएको बताउनुभयो ।












प्रतिक्रिया