३ कार्तिक २०८३, मंगलबार

सार्क राष्ट्रमा संगठित अपराध र मानव तस्करी बढ्योः प्रधानमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

susil-koirala

काठमाडौं, ३ असोज । प्रधानमन्त्री सुशील कोइरालाले शान्ति, स्थायित्व र समृद्धिको साझा यात्रामा आतंकवाद, अतिवाद र असहिष्णुताले सहनशीलताको संस्कृति एवम् शान्तिपूर्ण अस्तित्वलाई जोखिममा पारेको बताउँदै त्यसविरुद्ध सार्क मुलुक एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको आठ वर्षपछि शुक्रबार राजधानीमा आयोजित छैटौँ आन्तरिक मामिला/गृहमन्त्रीस्तरीय बैठकको उद्घाटनमा उहाँले सार्कको स्थापनासँगै दक्षिण एसिया अझ प्रजातान्त्रिक बन्दै गए पनि यस क्षेत्रको मानवअधिकार र वैयक्तिक अधिकार अतिवादीको निशाना बनेको बताउनुभयो

सार्क राष्ट्रमा संगठित अपराध, सीमापार अपराध, मानव तस्करी, लागुऔषध व्यापार एवम् महिला र किशोरीविरुद्धका हिंसा बढेकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीले त्यस्ता आपराधिक गतिविधि र चुनौतीको सामनाका लागि सामूहिक प्रयास हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । ‘दक्षिण एसिया विपत्तिको जोखिममा छ ।

बाढी, भूकम्प र पहिरोजस्ता विपत्तिबाट यस क्षेत्रका जनता नराम्ररी प्रभावित भएका छन् । एकआपसमा आश्रित विश्व त्यसबाट पनि प्रभावित छ,’– दैवी विपत्तिको सामना गर्न एकीकृत साझेदारी प्रवद्र्धन तथा सदस्य देशको क्षमता सबलीकरणमा जोड दिँदै प्रधानमन्त्रीले भन्नुभयो ।

मुलुकको पछिल्लो राजनीतिक विकासक्रमबारे जानकारी दिँदै उहाँले संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी गर्न नेपालका राजनीतिक दल लागिपरेको बताउनुभयो । ‘नयाँ संविधान जारी भएपछि त्यसले जारी शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु–याउन जनताका प्रजातान्त्रिक अपेक्षा संस्थागत गर्न सघाउ पुग्नाका साथै प्रजातान्त्रिक संस्थाहरूलाई सुदृढ बनाउन बल मिल्नेछ’, नयाँ संविधानबाटै शान्ति, स्थायित्व, लोकतन्त्र र विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो ।

आगामी मङ्सिर १० र ११ गते यहाँ हुने सार्कको १८ शिखर सम्मेलनको तयारी भइरहेको जानकारी दिँदै प्रधानमन्त्रीले त्यस निम्ति सदस्य मुलुकबाट प्राप्त सहयोग र समझदारीप्रति आभार प्रकट गर्नुभयो । साथै उहाँले भारतको नयाँ सरकारद्वारा सार्कलाई पुनर्ताजगी प्रदान गर्ने तथा त्यसलाई क्षेत्रीय सहयोगको प्रभावकारी एवम् विश्व मामिलामा एकीकृत आवाज मुखरित गर्ने माध्यमका रुपमा विकसित गर्न दक्षिण एसियाली नेताहरूसँग सहकार्य गर्ने प्रतिबद्धताको स्वागत गर्नुभयो ।

साझा संस्कृति, सिद्धान्त, मान्यता र परम्परामात्र नभई दक्षिण एसिया प्राकृतिक एवम् मानव संसाधनका दृष्टिले सम्पन्न रहेकाले यस क्षेत्रलाई शान्त र समृद्ध तुल्याउन तिनको उपयोग हुनुपर्नेमा पनि प्रधानमन्त्री कोइरालाले जोड दिनुभयो । उहाँले भन्नुभयो ‘हाम्रो सामूहिक प्रयासबाट दक्षिण एसियालाई अझ उपयुक्त र बस्न लायक क्षेत्र बनाउन सकिन्छ । त्यस निम्ति सदस्य देशसँग घनिभूत सहकार्य गर्न नेपाल प्रतिबद्ध छ ।’

शान्ति र समृद्धि स्वस्थ समाजका आधार स्तम्भ हुन् भन्दै उहाँले शान्तिपूर्ण र सुरक्षित वातावरणमा आर्थिक वृद्धि र सामाजिक प्रगति गर्न सकिने र प्रकारान्तरमा त्यसले लोकतान्त्रिक मूल्य मान्यता, वैयक्तिक स्वतन्त्रता र मानवअधिकारमा योगदान गर्ने बताउनुभयो ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले दक्षिण एसियामा शान्ति, सुरक्षा कायम गर्नेसम्बन्धी साझा स्वार्थका विषयमा सबै सदस्य राष्ट्रबीच सहयोग विस्तार गर्न नेपाल तत्पर रहेको बताउनुभयो ।
पारस्परिक मैत्री, विश्वास र समझदारीबाट लक्ष्य हासिल गर्न कठिन नहुने उनको भनाइ थियो । उहाँले भन्नुभयो, ‘प्रजातान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध रहँदै आतङ्कवादी गतिविधि, सङ्गठित अपराध, लागुऔषध कारोबार, महिला तथा किशोरीको बेचबिखन एवम् अन्य अपराध नियन्त्रण गर्न साझा प्रतिबद्धता आवश्यक छ ।’

सार्कका महासचिव अर्जुनबहादुर थापाले दक्षिण एसियामा शान्ति, स्थायित्व र विकास सुनिश्चित गर्न सार्कका दीर्घकालीन लक्ष्य आन्तरिक मामिला÷गृहमन्त्रीस्तरीय बैठक महत्वपूर्ण भएको चर्चा गर्दै क्षेत्रीय शान्ति र सुरक्षा व्यवस्थालाई अझ मजबुत तुल्याउन भविष्यमा तर्जुमा गरिने नीतिमा त्यसले योगदान गर्ने विश्वास व्यक्त गर्नुृभयो ।

पाकिस्तानबाहेक सार्कका सबै सदस्य देशका आन्तरिक मामिला÷गृहमन्त्रीको सहभागिता रहेको उक्त बैठकमा सदस्य मुलुकका गृह र परराष्ट्र मन्त्रालयका साथै सार्क सचिवालयका गरी एकसय जना उच्च अधिकारीबीच दक्षिण एसियाको सुरक्षाका विषयमा विचारविमर्श भइरहेको छ । रासस