इलाम, ३ असोज । इलाम माईपोखरीका एक युवकले आफ्नै श्रीमतीलाई गएराति कुटपिट गरी हत्या गरेका छन् ।
माईपोखरी–३ निवासी ३० वर्षीय बिरेन राईले श्रीमती २६ वर्षीया जानुका राई कार्कीलाई कुटपिट गरेर हत्या गरेका हुन् ।
बिहीबार राति ९ बजे मादकपदार्थ सेवन गरेर एकआपसमा भनाभन हुँदा राईले जानुकालाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।
कुटपिटबाट गम्भीर घाइते जानुकाको उपचारका लागि राति नै जिल्ला अस्पतालमा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थपलियाले जानकारी दिनुभयो ।
प्रहरीले राति नै बिरेनलाई नियन्त्रणमा लिइसकेको छ । जानुकाका छ वर्षीय छोरा र नौ महिनाकी छोरी रहेको प्रहरीले जनाएको छ ।
शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । रासस
















प्रतिक्रिया