
काठमाडौँ, २९ माघ । नेकपा एमालेलाई मधेशी विरोधी पार्टीका रुपमा आरोप लगाइरहेका बेला मधेशी नेताहरु एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमालेको मुख्यालय धुम्बाराहीमा शनिबार आयोजित विशेष कार्यक्रममा सङ्घीय समाजवादी फोरमका केन्द्रीय सदस्य एवं मुस्लिम विभाग प्रमुख गुलाव सरोवर शेख (रौतहट), सोही पार्टीका केन्द्रीय सदस्य दिलीपकुमार झा (रौतहट), केन्द्रीय पार्षद एवं सल्लाहकारहरु जोगेन्द्रप्रसाद यादव (पर्सा), जितेन्द्र तिवारी (बारा) तथा साहित्यकार शान्ति चौधरी (बारा) लगायत एमालेमा प्रवेश गरेका हुन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेल लगायतका नेताहरुले शनिबार उनीहरुलाई एमालेमा स्वागत गरेका छन् । एमाले अध्यक्ष ओलीले आफ्नो दल मधेसी, दलित, जनजाति, विपन्न वर्गको पक्षमा रहेको उल्लेख गर्दै केही राजनीतिक दल तथा समूहले एमालेलाई मधेसी, दलित, जनजाति विरोधी रहेको भनी भ्रम फैलाउन खोजिएकाले त्यसमा कुनै सत्यता नरहेको बताए ।
एमालेका महासचिव ईश्वर पोखरेलले संविधान संशोधनको विषय जनताको हितमा नरहेको उल्लेख गर्दै प्रदेशको सीमाङ्कन प्रदेश सभाले मात्र गर्नसक्ने हुँदा त्यो संशोधनमार्फत गरिएमा संविधान विपरीत हुने विचार व्यक्त गरे ।
सचिव प्रदीप ज्ञवालीले तराई–मधेसमा भइरहेको वर्गीय विभेद तथा सामाजिक असमानतालाई न्यूनीकरण गर्न आफ्नो दलले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको प्रष्ट्याए ।











प्रतिक्रिया