३० आश्विन २०८३, शुक्रबार

मलेसियाबाट ३ सय ७७ नेपाली फर्काइए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Malesiyaकाठमाडौं, ३ असोज । दुई वर्षका लागि मलेसिया गएका रुकुमका रमेश थापा चार महिना नपुग्दै बिहीबार राति नेपाल आइपुगे। डेढ लाख तिरेर मलेसिया पुगेका उनी भनेअनुसार काम र तलब नपाएपछि कम्पनी छाडेर भागे। त्यसपछि लुकिछिपी बस्दै आएका थिए।

मलेसियामा कम्पनी छोडेर गैरकानुनी हैसियतमा रहेका ३ सय ७७ नेपाली कामदारलाई बिहीबार श्रम तथा रोजगार मन्त्रालयको पहलमा विमान चार्टर गरेर नेपाल ल्याइएको छ। थापा तिनैमध्येका हुन्।

‘९ सय रिंगेट तलब हुन्छ भनेर गएको, ६ सय पनि दिइएन, त्यही पनि दुई महिनासम्म पाइएन,’ थापाले भने, ‘प्याकिङको काम भनिएको थियो, फलाम उचाल्ने काममा लगाइयो।’

बरु नेपालमै दुःख गरेर दसैं मनाउने सोचले आएको उनले बताए। भने, ‘दलालले फसायो।’

सुर्खेतका गोबर्द्धन गुरुङको परिवार दसैंमा छोराले पैसा पठाउला भन्ने आसमा थियो तर गोबर्द्धन भने रित्तोहात काठमाडौं उत्रिएका छन्। ‘दसैं त एक छाकमै मनाउँला तर मलेसियाको दुःखले बस्नै सकिएन,’ उनले भने। उनी पनि कम्पनीको फरक काम र तलबकै पीडित हुन्।

मलेसियामा रहेका गैरकानुनी नेपाली कामदारलाई स्वदेश फिर्ता गर्ने अभियानअन्तर्गत बिहीबार एयर एसियाको विमान चार्टर गरेर एकैचोटि ३ सय ७७ जनालाई ल्याइएको हो।

नेपाली राजदूतावासले एक महिनाअघि कोपेरासी इमिग्रेसन मलेसिया बरहाड र नेपाली व्यवसायीको समन्वयमा गैरकानुनी नेपाली कामदारलाई स्वदेश फिर्ता पठाउन अभियान थालेको थियो।

गत महिना मलेसियाका मानव संशाधनमन्त्री डाटुक रिचर्ड जाइम नेपाल भ्रमणमा आएका बेला श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले मलेसियामा रहेका गैरकानुनी कामदारलाई सहज रुपमा नेपाल फिर्ता गराउन आग्रह गरेका थिए।

गुरुङको आग्रहपछि जाइमले मलेसियाली अध्यागमनका पूर्वकर्मचारीको संस्था कोपेरासी इमिग्रेसन मलेसिया बरहाडको समन्वयमा गैरकानुनी कामदारलाई नेपाल पठाउन सहयोग गरेका हुन्।

कामदारलाई लिन राज्यमन्त्री गुरुङ विमानस्थल पुगेका थिए। कामदारसँगै मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यात, स्वदेश फिर्ता अभियानमा सहयोग गरेका नेपाल–मलेसिया वैदेशिक रोजगार समन्वय समितिका अध्यक्ष हरि भट्टराई र कोपरासीका प्रतिनिधिसमेत आएको समाचार आजको नागरिक दैनिकले छापेको छ।

नेपाल आएका कामदारलाई खादा लगाएर स्वागत गरेका राज्यमन्त्री गुरुङले मलेसियामा विभिन्न कारणले गैरकानुनी हैसियतमा रहेका कामदारलाई चरणबद्ध रुपमा नेपाल फर्काउन र कामदारको सुरक्षा गर्न पहल गर्ने बताए।