३० आश्विन २०८३, शुक्रबार

बहसमा स्ववियुः उत्पादनमुलक शिक्षा आजको आवश्यकता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फलानोले २० लाखको घडेरी किनेछ नि ! ओहो ! प्रगति गरेछ, घर बनाएछ, गाडी पनि किनेछ भन्दा ओहो ! आहा ! जस्ता आश्र्चय वाचक शव्द प्रयोग सजिलै हुन्छ । हाम्रो समाजमा तिनै दुई/चार आना घर घडेरीका कुरा चलेकै बेला फलानाका छोराले व्याचलर पास गरेछ डिग्री पास गरेछ भन्ने वाक्य प्रायः शुन्य जस्तो छ । घर घडेरी जस्तो ओहो, आहाँ ! जस्ता आश्चर्य वाचक शव्द हैन छुट्टै प्रकारको सामाजिक इग्नोर एमोशन हुन्छ ।
२० लाखको घडेरीको अगाडि त्यो विस वर्ष लगाएर प्राप्त गरेको सर्टिफिकेटको कुनै मूल्य हुँदैन । त्यो यथार्थ वास्तविक नेपाली समाज हो । मैले भोगेको छु, सुनेको छु र म जस्ता सयौं युवाले प्रत्येक दिन सुन्ने कुरा पनि यहि हो ।

‘त्यसले विस लाखको घडेरी किने छ । त्यो तँ सँगै पढेको हो । तेरै उमेरको हो कति छिटो प्रगति गर्यो । आफु एसएलसी फेल भएपनि आज राम्रो प्रगति गर्यो तर तँ अझै पढ्दै छस् ।’ प्रत्येक अभिभावकको साँझ विहानको गनगन हो । प्रत्येक नेपाली घरको टोकाई हो । प्रत्येक नेपाली विद्यार्थी मनको कुरा हो ।

के विस लाखको घडेरी नै प्रगति हो ? अनि के मास्टर डिग्रीको सर्टिफिकेट फजुल कागज मात्रै हो ? जुन टियु नामको विश्वविद्यालय र यस्का आङ्गीक कलेजको गेटबाट फुत छिरेपछि निस्कँदा भिरायर पठाइदिने चटपटे बेरेर खाने कागज हो र ?

आखिर किन यत्रो असमानता ? को हो त जिम्मेवार ? आफ्नो जीवनको आदीम काल बिताएर प्राप्त गरेको सर्टिफिकेट मूल्यहिन किन बन्दै छ ? अनि एमएससी पास गर्यो, बजेटले भ्याएसम्म युरोप, अमेरिका, अष्ट्रेलिया गायतका देशमा एप्लाई गर्यो । यदि प्रवेशाज्ञा प्राप्त भयो भने उतै सेटल हुने सपना सजायो । त्यो पनि भएन भने शिक्षक, सर्वसुलभ जागीर जिन्दावाद । मास्टरको जागीर खायो । यस्तै अन्य विषयहरुमा पनि विषय दक्षता लियो तर विडम्वना विषयगत पेशाको त परिकल्पना गर्न मुस्किल छ ।

जुन विषय पढेपनि आखिर जिवीकोपार्जन गर्न शिक्षकनै बन्नु पर्ने ? फस्टबेन्च स्टुडेन्टहरु बिदेश सेटल हुन हजारौं पटक राजदुताबास धाउँछन्, उतै सेटल हुन्छन् । नसके सर्वसुलभ जागीर मास्टरको जागीर शिक्षक वन्छन् । यत्रो जनशक्ति फजुल देख्दै छु । त्यही देखाई हो विस लाखको घडेरी । त्यसैलाई देखेर मास्टर डिग्रीको सर्टिफिकेटको कागजलाई किन फजुल नदेखोेस् मेरो समाज ।

दुवई कतार गयो भने महिनामै ६०,७० हजार कमाउँछ अनि किन देखोस् त डिग्रीको सर्टिफिकेटलाई ओहो । आखिर अन्तत्वग्वात्वा जोडिने जिवीकोपार्जन सँगै हो । सुन्दर भविष्य सँगै हो । सहज जीवनयापन सँगै हो । आखिर बीस वर्ष बिताएर जुनसुकै विषयमा डिग्री गरेपनि आफ्नै सुन्दर भविष्यकै लागि हो ।

तर, सुन्दर भविष्य बनाउने तरिका अरु पनि रहेछन् । सर्टिफिकेटहरु आखिर जुन विषय पढेपनि विद्यार्थीको पहिलो चाहाना विदेशीनेनै देखेको छु । सबैतिरका ढोका बन्द भएपछि हुने फेरी पनि शिक्षकनै हो । यदी फेरी पनि शिक्षकनै बनाउनु पर्ने हो भने किन विज्ञान, मानवीकी, व्यवस्थापन जस्ता विषय पढाउनु पर्यो ।

सवै शिक्षाशास्त्र पढे हुन्थ्यो, पढाए हुन्थ्यौ । लेख्दै जाँदा कुरा अलि वटारिए जस्तो लाग्दै छ । खास हाम्रो शिक्षा नीतिनै अलि धेरै बटारिएको छ । लहरो तान्दा पहरो आउँछ । समस्या, चुनौति उपलव्धी शून्य जस्तै हुँदै गएको छ । यसको बारेमा छुटै वहस गरौला । तर, म यहाँ मृत प्रायः जस्तै बनेको स्वतन्त्र विद्यार्थी युनियनको निवार्चनको कुरालाई जोड्न चाहन्छु ।

करिव आठ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियनको चुनावी सरगर्मी सुरु भएको छ । वहसहरु सुरु भएका छन् । स्ववियुको औचित्य, उमेर हदलगायत केही कुराका विषयमा वहस सुरु भएको देख्छु । सुनेको छु हिजो पञ्चायती कालरात्रीमा जुनकिरीको उज्यालो बनेर लोकतन्त्रको बाटो देखाउन सिकाउने यही स्वतन्त्र विद्यार्थी युनियन हो ।

निरंकुश पञ्चायती व्यवस्थामा पनि लोकतान्त्रिक अभ्यासको थालनी गराउने स्वतन्त्र विद्यार्थी युनियन गणतन्त्रको स्थापना पश्चात चार पुस्तालाई जन्मनै नदिइकन पिण्ड पानी चलायौ । शहिद बनायो र आठ वर्षपछि त्रिभुवन विश्वविद्यालयले फागुन १४ गतेलाई स्वतन्त्र विद्यार्थी युनियनको चुनावको मिति ताकेर कार्यतालिका सार्वजनिक गरेको छ ।

यो सराहनीय र स्वागत योग्य छ । राष्ट्रियता जनजिविका सामाजिक सरोकार, विद्यार्थी समस्या, शैक्षिक माफियाका विरुद समाधानको मुभमेन्टलाई अगाडि लैजान जरुरी छ । यस्को अगुवा विद्यार्थी युनियन, संघ संगठनहरुकै हो ।

खास आम विद्यार्थीको पढाईप्रतिको वितृष्णा बढेको छ । यसलाई सुधार गर्न अबको स्ववियुको वहसको विषय बन्न जरुरी छ । अध्यन पुरा भएकाहरुका हातमा सर्टिफिकेट भएका जिविकोपार्जनका लागी जागीरको खोजीमा रहेका युवाहरुलाई उचित व्यवस्थापन गर्न स्पष्ट खाकाहरु के हुन सक्छन् भन्ने बारेमा सोच्नुपर्ने बेला आएको छ ।

दिनहु १ हजार ५०० भन्दा बढी युवाहरु विदेश पलायन हुँदैछन् । देशकै उत्पादनसगँ जोड्ने उपायका विषयमा स्पष्ट विचार र उत्पादनसगँ जोड्ने उपायहरु आउनु पर्यो । पछिल्लो समय देशको शिक्षामा दुई थरी उपलब्धी तथा उत्पादन हुँदै गइरहेको छ । धनी वर्गका छोराछोरी पढ्ने निजी विद्यालय र गरीब श्रमजिविका छोराछोरी पढ्ने सरकारी विद्यालय बन्दै गहिरेका छन् । यींबीचको शैक्षिक दुरी र समानताको विषयमा व्यवसायिक शिक्षा भन्दा व्यवहारिक शिक्षाको विकास गर्ने उपायलाई जोड् दिनुपर्यो ।

उद्यमसँग जोड्ने शिक्षा नीतिको पहलका निम्ती अबका विद्यार्थी संगठनहरुको उद्देश्य हुनुपर्छ । कतिपय विद्यार्थीहरु टियुको बोर्ड एक्जाम छाडेर इपियसको परीक्षा दिन लालायित छन् । यस्ता कुराहरुले शिक्षाप्रतिको विद्यार्थीको वितृष्णालाई स्पष्ट बुझाउँछ ।

शैक्षिक उपलव्धी शून्य बन्दै गहिरहेको छ । देशमा शिक्षकको भन्दा अरुको रोजगारको अवसर छैननै भन्दा हुन्छ । सीपमुलक शिक्षा रोजगारमुलक उपलव्धी शिक्षा भन्दा पनि सर्टिफकेटमुलक शिक्षा बन्दै गरिएको छ । आज फेरी त्यही सर्टिफिकेटको पनि कागजीपत्रको मात्र अवस्थामा पुगेको कुरा जगजाहेरनै छ । देशमा रोजगारको अवसर नभएकै कारण युवाहरु विदेशीनु परेको छ ।

देशमा जिवीकोपार्जनको अवस्था कमजोर भएकै कारण रोजगारीको निम्ती विदेशीनु पर्ने स्थिति छ । जसले देशको राजश्व त बढेको छ होला तर, यो दिर्घकालीन उपाय भने पक्कै हैन । देश सम्बृद्धिको सपना पूरा गर्न लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलगायत नयाँ नेपाल निमार्णमा आम विद्यार्थी, शिक्षित वर्ग देशकै सृजनशिलतामा लाग्न जरुरी छ । यदी देश विकास गर्ने नै हो भने शिक्षा नीति विकास हुन जरुरी छ ।
रोजगारीको अवस्था सृजनागर्न शिक्षाको खाँचो छ । पछिल्लो समय हाम्रो समाज घर घडेरी गाडी जस्ता विलासीताका कुराहरुलाई प्रगति मान्ने गरेको छ । आखिर यो शिक्षा सीपमुलक र उत्पादनमुलक नभएकै कारण यो अवस्था सृजना भएको हो । हाम्रो शिक्षा नीति कुनै बेला शिक्षाको विकास र कर्मचारीहरुको उत्पादन गराउन निमार्ण गरिएको शिक्षा नीति थियो ।

अनि आज एक शताब्दी पछाडि आइपुग्दा पनि सोही शिक्षानीति छ । जसले शैक्षिक बेरोजगार बाहेक अरु उत्पादन गर्न सकेको छैन । देश भित्र शिक्षित बेरोजगार समस्या मौलाउँदै गएको छ । आखिर जीवनको ठूलो समय पढाइ भनेर खर्चिने अनि सामान्य जिविकोपार्जनका लागि सीपहरु नहुँदा र रोजगारको ग्यारेन्टी नहुँदा युवाहरुको मनोबल गिरेको पक्कै हो ।

यदी हाम्रो शिक्षाले हामीलाई जीवन जिउने कला सिकाउँथ्यौ भने यस्तो अवस्था आउने थिएन होला । यीं त समग्र राष्ट्रको समस्याहरु भए । समग्र शिक्षा नीतिको समस्या भए कलेज भित्र–बाहिर विद्यार्थीसँग पनि थुप्रै समस्या र समाधानको विषयहरुमा अबको स्वतन्त्र विद्यार्थीको वहस हुन जरुरी छ ।

अबको स्ववियुको नेतृत्व र गहन जिम्मेवारका साथ आउन जरुरी छ । माथि उल्लेखित हाम्रो सामाजिक परिबेसबीचको स्ववियुको नेता बन्नु कुनै औचित्यपूर्ण हुँदैन । अबको स्वतन्त्र विद्यार्थी युनियनको राष्ट्रियता, सामाजिक सरोकारका विषयलाई निराकरणको स्पष्ट उपायका साथ बहस र कार्यन्वयन हुन जरुरी छ ।

अन्त्यमा सुरुमा मैले एउटा २० लाखको घडेरीको कुरा जोडेको छुँ । २० लाखको घडेरीलाई हामी प्रगति मान्ने तर, २० वर्ष लगाएर प्राप्त गरेको ज्ञान सर्टिफिकेटलाई तुलनागर्दा पुरै इग्नोर गरे जस्तो गर्ने हाम्रो सामाजिक अवस्था बढेको छ ।

यसले स्पष्ट शैक्षिक वितृष्णा देखाउँछ । त्यो २० लाखको घडेरी आहा ! भए जस्तो २० वर्षको सटिफिकेट आहा हुनुप¥यो । यो कहिले हुन्छ ? कसरी हुन्छ ? यो विषयमा अबको विद्यार्थी आन्दोलन केन्द्रीत हुनुपर्यो । अनि बल्ल शिक्षित विद्यार्थी नेता उत्पादन गर्नुपर्यो । साविक जस्तै क्याम्पस प्रशासन हप्ता असुल्ने स्ववियु भन्दा पृथक बहस चलाउने विद्यार्थीको उज्वल शैक्षिक भविष्य निमार्ण गर्न अहम भूमिका खेल्ने स्ववियु वनुन् भन्ने शुभकामना ।