३० आश्विन २०८३, शुक्रबार

‘दुई लाइन’ संघर्ष चर्कियो, वैद्यकै कार्यक्रममा चन्द पक्षधरबाट बहिस्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mohan-baidya-ra-netra-bikram-chandकाठमाडौं, २ असोज । संविधानसभा बाहिर रहेको प्रमुख शक्ति नेकपा-माओवादीको आन्तरिक विवाद चुलिदै गएको छ । दुई लाइन संघर्षको प्रभाव पार्टीको आन्तरिक संगठनमा मात्र नभई बाह्य राजनीतिमा समेत देखिएको छ ।

विवादकै कारण आफ्नै माग अनुसार प्रमुख दलहरुले तय गरेको राजनीतिक सम्मेलन बहिस्कार भएको दावी पार्टी नेताहरुले गरेका छन् । आन्तरिक विवादको परिणाम स्वरुप बुधवार पार्टी अध्यक्ष मोहन वैद्यले सम्बोधन गरेको एक कार्यक्रममा समेत नेताहरुको अर्को समूह सहभागी भएन ।

‘पार्टी पदाधिकारीबीच विवाद पहिले विचार समूहमा मात्र केन्द्रित थियो । अहिले चाहिं छर्लङ्गै देखिन थालेको छ,’ राजनीतिक सम्मेलनमा समेत त्यसको प्रभाव देखिएको दावी गर्दै एक केन्द्रीय नेताले कान्तिपुरलाई बताए ।

पदाधिकारीबीच मूलतः महासचिव रामबहादुर थापा र सचिव नेत्रविक्रम चन्दले दुई धारको नेतृत्व गरेका छन् । एक वर्षदेखि नै दुई समूहबीच विचारसमूहकै विवाद चलिरहेकोमा पछिल्लो समय चन्द पक्षीय एक केन्द्रीय सदस्यमाथि कारवाही भएपछि अर्को पक्ष रुष्ट बनेको हो ।

पार्टीको केन्द्रीय स्कुल विभागले कुपण्डोलमा आयोजना गरेको प्रशिक्षणमा अध्यक्ष वैद्य नै प्रमुख वक्ता थिए । नेवा र ताम्सालिङ्ग राज्यका नेता(कार्यकर्तालाई दिइएको उक्त प्रशिक्षणमा चन्द समूहका नेता सहभागी भएनन् । उनीहरुले चन्द पक्षीय केन्द्रीय सदस्य अनिल शर्मालाई महासचिव थापाले पूर्वाग्रही ढंगले निलम्बन गरेको भन्दै विरोधमा बहिस्कार गरेका थिए ।

‘अनिलजीमाथि पूर्वाग्रह राखि कारवाही भयो भन्ने हाम्रो निष्कर्ष हो । त्यसैले साथीहरु प्रशिक्षणमा सहभागी भएनन्’, चन्द पक्षकै पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्माले जानकारी दिए । पार्टीभित्र नेपाली क्रान्तिलाई हेर्ने सन्दर्भमा २ लाइन संघर्ष र बहस भइरहेको उल्लेख गर्दै त्यसैका आधारमा नेतृत्वले कसैलाई काखा कसैलाई पाखा गर्न नहुने उनको धारणा थियो भन्ने समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

‘कारवाहीको विषय पार्टी पदाधिकारीले पुनरावलोन गर्नुपर्छ भनेर हामीले अध्यक्ष ज्यूलाई पनि भनेका छौु’, नेता विश्वकर्माले भने, ‘अरु पार्टीका नेतासँग मिलेर घर जग्गा बेच्न खोज्ने, त्यसलाई रोक्न खोज्दा उल्टै पार्टी सदस्यता खोसिदिने जस्ता अन्यायपूर्ण काम भएको छ ।’

केन्द्रीय सदस्य शर्माले चितवनको पार्टी कार्यलय र जग्गा एमाओवादीका स्थानीय नेतासँग मिलेर महासचिव थापासहितका नेताहरुले बेच्न खोजेको भन्दै लिखित रुपमै नेतृत्वको कडा आलोचना गरेका थिए । त्यसको जवाफ स्वरुप थापाले भदौ २२ गते अनुशासन उल्लंघन गरेको भन्दै उनलाई निलम्बन गरेका थिए ।

पार्टी प्रवक्ता पम्फा भुसालले भने पदाधिकारीको सहमतीमै कारवाहीको निर्णय भएकाले त्यसमा असहमती जनाउनुको तुक नहुने प्रतिक्रिया दिइन । ‘अध्यक्षसहितका पदाधिकारी बसेर छलफल भएरै कारवाहीको निर्णय भएको हो । अब त्यसमाथि केही गर्नुपरे पदाधिकारी फेरी बस्नुहोला’, भुसालले विवादबारे बताइन ।

वैद्यले जनयुद्धको जगमा जनविद्रोहको वर्तमान कार्यनीतिलाई परिमार्जनसहित कायमै राख्नुपर्ने भनी गत असारको केन्द्रीय समितिमा दस्तावेज राखेका थिए ।

त्यसमा चन्दले असहमती जनाउदै कार्यनीतिलाई सुधार गरी नयाँ ढंगको जनयुद्ध आवश्यक भएको भन्दै पुरक दस्तावेज पेस गरेका थिए । पार्टी लाइनमै विवाद भएपछि त्यतिबेला आयोजना गर्न लागिएको राष्ट्रिय सम्मेलन स्थगित भएको थियो ।

संविधान लेखन प्रक्रियामा सहभागी गराउन प्रमुख दलले गरेको प्रयासमा समेत सुरुमा अध्यक्ष वैद्यसहितका केही नेताहरु सकरात्मक देखिएका थिए । सरकारले आयोजना गर्ने सम्मेलनमा मूलत संविधानको अन्तर्वस्तुमा सहमती खोजिने र शान्ति प्रक्रियाका बाँकी विषयमा धारणा राख्न सकिने सहमती भएको थियो ।

शान्ति प्रक्रिया र समसामयिक अन्य विषय कार्यान्वयनका लागि सरकारलाई शीर्ष नेताहरुले दवाव दिने गरी छलफल भइरहदा पछिल्ला दिन वैद्य पक्षले पहिले नै सबै विषयमा लिखित सहमती हुनुपर्ने अडान राखेको थियो ।

सम्मेलन हुने भन्दा दुई दिन अघि चन्द पक्षधर नेताहरुले वैद्यलाई दवाव दिई पहिलेनै प्रमुख दलका नेताहरुबीच लिखित सहमती नभएसम्म सम्मेलनमा जान नहुने सुझाव दिएकाको पार्टी स्रोतले बतायो । त्यसमा अर्का सचिव देव गुरुङ्गको पनि समर्थन थियो ।

‘सम्मेलन रोकिनुको एउटा अर्थ प्रक्रियामा गएर भएपनि संविधान जारी गर्ने भन्ने कांग्रेस एमालेको तयारीको विरोध पनि हो’, अर्का एक नेताले नाम नबताउने सर्तमा भने, ‘त्यसमा हाम्रो पार्टी मात्र नभएर एमाओवादीको पनि साथ छ ।’