३ कार्तिक २०८३, मंगलबार

संविधान बन्न दिन्न भन्नु सूर्यलाई हत्केलाले छेक्न खोजे जस्तै होः प्रधानमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Susil-koiralaकाठमाडौँ, १ असोज । प्रधानमन्त्री सुशील कोइरालाले समयमा नै नयाँ संविधान दिने गरी तयारी भएको बताउनु भएको छ ।

राष्ट्रिय विज्ञान दिवसका अवसरमा कीर्तिपुरमा नवनिर्मित बीपी कोइराला राष्ट्रिय विज्ञान संग्रहालय तथा विज्ञान प्रदर्शनीको उद्घाटनमा बुधबार उहाँले ६० वर्षभन्दा बढीको सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न देश संविधान निर्माणको महत्वपूर्ण चरणमा बढिरहेको उल्लेख गर्नुभयो।

संविधान आउने कुरालाई अब कसैले छेक्न नसक्ने र देश विकासको मार्गमा बढिसकेकामा जोड दिँदै उहाँले भन्नुभयो, ‘सूर्यलाई हत्केलाले छेक्न नसक्ने भनेझैं देश प्रगतिको बाटोमा अघि बढिसकेको छ ।’

विज्ञान तथा प्रविधिको वर्तमान समयमा नेपाल अझै पछि परिरहेको औँल्याउँदै उहाँले विज्ञानका नवीनतम् प्रविधिको उपयोग गरी प्रकृतिको देनलाई उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल आधुनिक युगमा प्रवेश गरिसकेको चर्चा गर्दै प्रधानमन्त्रीले संविधान निर्माणसँगै विज्ञान तथा प्रविधिको उपयोगका माध्यमबाट देशमा ८/१० वर्षभित्रमा नै धेरै प्रगति हुने उहाँले दाबी गर्नुभयो ।

नवनिर्मित विज्ञान सङ्ग्रहालय विज्ञान तथा प्रविधिको विकासका लागि निकै उपयोगी हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।
सभासद् राजनकुमार केसीले विज्ञान आज दिनचर्या भइसकेको उल्लेख गर्दै विज्ञानबिना वर्तमानका कुनै पनि भौतिक उन्नति सम्भव नहुने बताउनुभयो  ।

कीर्तिपुरमा निर्मित सङ्ग्रहालय देशको विज्ञान तथा प्रविधिको विकासका लागि निकै उपयोगी हुनेमा उहाँले जोड दिनुभयो ।

त्रिभुवन विश्वविद्यालय स्थापनाका क्रममा जग्गा प्रदान गरेर महत्वपूर्ण योगदान पु¥याएका कीर्तिपुरवासीलाई रोजगारलगायतका क्षेत्रमा प्राथमिकता दिइनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

मुख्यसचिव लीलामणि पौडेलले विज्ञान तथा प्रविधिको विकासका लागि वैज्ञानिकहरूको पलायनवादी सोचमा परिवर्तन आउनुपर्ने बताउनुभयो ।

विज्ञान तथा प्रविधिको विकासका लागि ज्ञानका साथै त्यसको प्रयोगात्मक अध्ययन अपरिहार्य हुनेमा उहाँको जोड थियो ।

सङ्ग्रहालय विकास समितिका निर्देशक डा शोभाकान्त लामिछानेले वैज्ञानिक ज्ञानमा आधारित समृद्ध समाज निर्माणका लागि नतिजामुखी सिर्जनशील अनुसन्धान आवश्यक हुने बताउनुभयो ।

विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेलले विज्ञान प्रविधिको वर्तमान युगमा ज्ञान र विज्ञानको प्रयोगबाट देशलाई समुन्नत बनाउनुपर्ने बताउनुभयो ।

६२ करोड रुपियाँको लागतमा निर्मित उक्त संग्रहालय १५० रोपनी क्षेत्रफलमा रहेको छ । रासस