१ कार्तिक २०८३, शनिबार

पूर्वमा पुगेर ऊर्जामन्त्रीले भने- अलैंचीसँग बिजुली साटौं

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ, २१ माघ । ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले अलैंचीसँग बिजुली साट्न सुदुर पूर्वका जनतासँग प्रस्ताव गर्नुभएको छ ।

ताप्लेजुङमा पार्टी कार्यकर्ताहरुसँगको भेटघाटमा उहाँले अलैंचीबाट प्राप्त आम्दानीबाट जलविद्युतमा शेयर लगानी गर्न आग्रह गर्नुभएको हो ।

“तपाईहरुसँग मेरो एउटा प्रस्ताव छ, अलैंचीसँग बिजुली साटौं, तपाईको जीवनस्तरमा नसोचेको सुधार आउनेछ ।” मन्त्री शर्माले भन्नुभयो “यस क्षेत्रमा उत्पादन हुने अलैंचीले तपाईलाई जलविद्युतको मालिक बनाउनेछ ।”

उहाँले नेपालको पानी जनताको लगानी कार्यक्रममार्फत आफुले समाजवादी कार्यदिशा लागु गरेको तर्क प्रस्तुत गर्नुभयो । नयाँ संविधानले समाजवादको बाटोमा अघि बढ्न स्पष्ट मार्गदर्शन गरेको भन्दै मन्त्री शर्माले आफुले सोही अनुसार काम गरेको बताउनुभयो ।

नेपालमा रहेको अपार जलभण्डारको उपयोगमा जनतालाई प्रत्येक्ष सहभागी गराउने कार्यक्रम ऊर्जा मन्त्रालयले अघि सारेको भन्दै उहाँले जलविद्युतमा शेयर लगानी गरेर धनी हुन आव्हान गर्नुभयो ।

नेपालमा ८५ हजार मेगावाट विद्युत उत्पादनको संभाव्यता पहिचान भइसकेको अवस्थामा यसैलाई पकडेर मात्र सर्वसाधारण जनतालाई धनी बनाउन सकिने र देशलाई समृद्ध पार्न सकिने उहाँको भनाइ छ । कार्यकर्ताहरुको व्यवस्थापन र जनताको जीवनस्तर सुधार गर्ने क्रमको शुरुवात हाइड्रो पावरबाट गर्न सकिने मन्त्री शर्माको विश्वास छ ।

देशलाई विद्युतीकरणको उत्कर्षमा पुर्याएर विकास गर्न सके मात्र राष्ट्रिय स्वाभिमान जोगाउन सकिनै तर्क गर्दै मन्त्री शर्माले समृद्धि विनाको स्वाभिमानको नारा हवाई कल्पना मात्र भएको टिप्पणी गर्नुभयो ।