एउटा बंश वा कुलको मान इज्जत बढ्ने नामाकरण भएको कुलमान अब साँच्चै लोकमान हुने भए तर लोकमान नाम गरेको एउटा अर्को पात्र कुलमान पनि हुन नसकेर कुनाममा परिणत भए । यी दुई पात्रको चर्चा यति बेला नेपालमा मात्र नभई बिदेशमा समेत छ ।
हो, कुलमान घिसिंगको लोकप्रिय कार्यले नेपालीहरुले यति बेला उनको प्रशंसामा शब्दहरु खर्च गरिरहेका छन्, स्यावास कुलमान ! तिमि घिसिङ कुलका मात्र होइनौ, लोकका प्यारा कर्मचारी हौ, तिमी बास्तविक लोकमान हौ ।
नक्कली लोकमानहरुको मुहारमा छोपिएको बर्को उत्रिसकेको छ । अब तिमीले बर्षौसम्म राष्ट्रको बिद्युतलार्इ आफ्नो व्यक्तिगत सम्पत्ति बनाउनेहरुको निद हराम गराउनुपर्छ। तिमीले विद्युत प्राधिकरणका कर्मचारीहरु एकैपटक ठूलो संख्यामा सरुवा गरेपछि विभिन्न संगठनका नाममा राजनीति गर्ने गरेका संगठनका नेताहरुले काम ठप्प पार्ने चेतावनी दिए अरे भन्ने सुनियो, जनताहरु अध्याँरो होइन उज्यालो चाहन्छन् । ब्यापारी, उद्योगीलाई बिजुली बेचेर खान पाईने आशमा जनतालाई अध्यारोमा राख्ने हर्कत अझै जारी राख्ने भन्ने उनीहरुको ईच्छा होला, अब जनताले बुझिसकेका छन् । अब उनीहरु यस्तो माग लिएर सडकमा आए भने बाँदर लखेटे झैँ लखटिने छन् ।
कतिपय मान्छेलाई लाग्न सक्छ बिद्युत कार्यालयका कर्मचारीको के दोष ? देशमा बिद्युत उत्पादन नै कम छ । हो, नेपाललाई आवश्यक पर्ने बिजुली उत्पादन हुन सकेको छैन, अहिले नेपालमा करिब ७०० मेगावाट बिद्युत उत्पादन हुन्छ, १५० मेगावाट भारतबाट आयात गरिएको छ भने करिब २० मेगावाट बैकल्पिक उर्जाबाट लिएको छ । नेपालमा अहिले करिब ६५ प्रतिशत जनताले बिजुलीको उज्यालोको उपभोग गरिरहे पनि पर्याप्त मात्रामा बिजुली प्राप्त गर्न करिब २००० मेगावाट बिजुलीको आवश्यकता पर्छ । उद्योग धन्दा कलकारखाना र प्रतिष्ठानहरुलाई बिजुली पर्याप्त मात्रामा पुर्याउने र वातावरणीय प्रभावलाई कम गर्न यातायातको साधनमा समेत बिजुली दिन सक्ने हो भने नेपालमा तत्काल खपत हुन सक्ने करिब ४००० मेगावाट आबश्यकता पर्छ ।
विभिन्न संगठनका नाममा राजनीति गर्ने गरेका विद्युत प्राधिकरणका कर्मचारीहरुले काम ठप्प पार्ने चेतावनी दिए अरे! जनताहरु अध्याँरो होइन उज्यालो चाहन्छन्, ब्यापारी, उद्योगीलाई बिजुली बेचेर खान पाईने आशमा जनतालाई अध्यारोमा राख्ने हर्कत अझै जारी राख्ने भन्ने उनीहरुको ईच्छा होला, तर अब जनताले बुझिसकेका छन् । अब उनीहरु यस्तो माग लिएर सडकमा आए भने बाँदर लखेटे झैँ लखटिने छन् ।
नेपालका नदीहरुबाट करिब ८२ हजार मेगावाट बिजुली निकाल्न सकिने मोटामोटी डाटा छ, तर ती सम्भावित नदीहरुबाट बिद्युत निकाल्ने अधिकार नेपालसहित चीन र भारतका उद्यमीहरुले प्रमाणपत्र झोलामा बोकेर हिडेका छन् । करिब १३ प्रतिशत हिस्सा बोकेका ४ वटा ठूलो परिमाणको बिद्युत योजनाको लाइसेन्स लिएका चीनियाँ कम्पनीले ३ वटाको कार्य ५० प्रतिशतको हाराहारीमा र एउटा अन्तिम चरणमा पुगेको बताएको छ भने ७५ प्रतिशतले लाइसेन्स झोलामा हालेर हिडेको भारतीय कम्पनी केही परियोजना मात्र अगाडि बढाउन खोजे झैँ गरे पनि खासमा ती नदीहरु भारतको लागि पानी वा बिद्युत के गर्ने भन्ने अलमल र ठूला ड्याममा आधारित कसरी बनाउन सकिन्छ, जसले गर्दा हिउँद र बर्षामा एकनाशको पानी र बिजुलीको उत्पादन गर्न सकियोस भन्ने जोड घटाउमै व्यस्त देखिएकोले होल्ड गरेर राखेको छ ।
पूर्व जलस्रोतमन्त्री गोकर्ण बिष्टले ५ महिनाको छोटो कार्यकालमा नेपालका झोलामा खोला बोकेर उद्यमी खोजेर हिड्ने जिन्दगीमा कहिल्यै बनाउन नसक्ने त्यस्ता लाइसेन्सधारीहरुको लाइसेन्स त प्रकृया पुर्याएर खारेज गरे, तर लामो प्रकृया पूरा गरेर मात्र बिदेशीहरुले लिएका ती लाइसेन्स खारेज हुन सक्थे त्यसको लागि पर्याप्त समय पाएनन्, उनले बक्यौता नतिर्नेहरुको लाइन त काटे तर कर्मचारीहरुले गर्ने बदमाशीको कारण २७ प्रतिशतको बिद्युत चुहावट भैरहेको तथ्य देख्न सकेनन् वा समय पाएनन्, उनले बिद्युत बिकास सम्बन्धि नेतृत्व गर्ने अध्यक्षमा उर्जामन्त्री हुने प्रणालीलाई बदलेर क्षमतावान मान्छेलाई प्रतिस्पर्धाबाट ल्याउने नीति त बनाए तर पछिल्लो मन्त्रीले त्यो नीतिलाई उल्त्ट्याइ दिए ।

गतबर्ष उर्जामन्त्री टोपबहादुर रायमाझीले नेपाललाई केहि बर्षभित्रै पर्याप्त बिजुली निकाली अन्धकारबाट बाहिर निकाल्न बिद्युत संकटकालको घोषणा गरि पर्याप्त रकम बिनियोजनको लागि प्रधानमन्त्री ओली र अर्थमन्त्री बिष्णु पौडेललाई सहमत गराए जसका कारण अबको २ वर्ष भित्र थप १२०० मेगावाट बिजुली उत्पादन भै मुलुकबाट अन्धकार उन्मूलन गर्ने कार्यमा इट्टा थपेका थिए ।
गोकर्ण बिष्ट र टोपबहादुर रायमाझीले नाम कमाएको यो उर्जामा केही गरौ भन्ने सोचाईमा अहिलेका उर्जामन्त्री जनार्दन शर्मा छन् । अहिलेको सरकारका राम्रो मन्त्री र देखिने काम भनेकै यही हुने भएकोले पनि कुलमानलाई बिद्युतमा सुधार्नु पर्ने के के छ सबैमा हात हाल्नुस भनेर निर्देशन दिएका थिए । उर्जामन्त्रीलाई तत्कालीन उर्जामन्त्री गोकर्ण बिष्टभन्दा अब्बल देखिनु र यो सरकारको मूख्य क्रेडिट देखाउन सक्ने काम यही भएकोले प्रधानमन्त्रीले पनि यो राम्रो काममा उर्जामन्त्रीलाई हस्तक्षेप गर्ने अवस्था छैन ।
पछिल्लो समयमा काङ्ग्रेस र एमालेका कर्मचारी संगठनका मान्छे यो अध्याँरोका मतियार हुन र दोषी ठहरिए भने पनि अब उनीहरुलाई पार्टीले बचाउनु हुन्न । चाहे उनकै पार्टी माओवादीका कर्मचारीहरु होऊन्, चोर र भ्रष्टहरु कुनै पार्टीको खोल ओढेर जनतालाई अन्धकारमा राख्छन् भने आफ्नो मात्रै पोल्टा भर्ने भ्रष्ट कर्मचारीहरुले बदमाशीको सजायँ पाउनै पर्छ । तिनीहरुलाई कठोर कारवाही हुनुपर्छ । जनताले खोजेको सुशासन यही हो ।
कर्मचारी युनियनहरुले सरुवा गरेको ठाउँमा जान्न भनेर आन्दोलन गर्नुको कुनै तुक छैन । एउटै कार्यालयमा बर्षौँ सम्म काम गरेर चुहावटका सबै बिधि अपनाई भूँडी भर्ने खेललाई राजनैतिक दलहरुले प्रश्रय दिनु हुन्न ।
प्राधिकरणका कर्मचारी कसरी चोर्छन ?
प्राधिकरणमा प्रशासनिक र आर्थिक हेर्ने करिब १००० कर्मचारी छन् प्राधिकरणमा कर्मचारी भए बापत हरेकले मासिक १३० युनिट बिद्युत सित्तैमा प्रयोग गर्न पाउँछन् । अहिले पनि पहाडमा ७ प्रतिशत र तराईमा करिब २७ प्रतिशत बिद्युत चुहावट छ । तराईमा जनताले पनि हुक लगाएर बत्ती बाल्ने, पानी तान्ने र स–साना मिलहरू चलाउने गर्दछन भने बिद्युत कार्यालयकै सहायक प्रबन्धकसम्मका कर्मचारी ठूला उद्योग, मिल र प्रतिष्ठानमै मिटर मिलाउन रिडिंग गर्नु भन्दा अघिल्लो दिनमै पुगेर एक तिहाइ कर्मचारी, एक तिहाइ उद्योग मालिक र एक तिहाई बिद्युत महशुलको भागबण्डा गर्छन, यसरी भाग बण्डामा पल्केकाहरु सरुवा भएर नयाँ ठाउमा एकाध महिना कमाउने धन्दाबाट बिमुख हुने भएपछि यसको मेसो मिलाउन केहि समय त लाग्छ नै तसर्थ खान पल्केकाहरुको लागि सरुवा एकाध महिनालाई दुख पाउने मात्र हुन् । तपाईलाई थाहा छ अबका दिनमा बिजुली बेचेर मोज गर्नेलाई जनताले छोड्नेवाला छैनन् तपाईले बिद्युत कार्यालय भित्रको फोहोर सफा गर्नुस । हामी मन्त्री र सरकारलाई नीतिगत सुधारको दवाब बनाउँछौ ।
एउटा क्षेत्र मात्र सुध्रेर हुदैन, बिजुलीका साथै खानेपानी, यातायात, भन्सार, मालपोत, नापी र स्थानीय निकायमा हुने गलत हर्कत रोक्न सबैतिर धेरै कुलमानहरु चाहिएको छ र राम्रो काम गर्ने कुलमान घिसिंग जस्ता कर्मचारीहरुलाई जुन सरकार आए पनि नहटाई काम गर्न दिनुपर्छ । एउटा असल कर्मचारीको भूमिकाले मात्रै मुलुक प्रतिको दायित्व निर्वाह हुने छ । तपाईलार्इ पूरै नेपाली जनताको साथ छ अगाडि बढ्नुस, शुभकामना छ ।















प्रतिक्रिया