
काठमाडौं, २१ माघ । काठमाडौंको नागार्जुन नगरपालिका– ८ मा जग्गा दलाल र नगरपालिका केही कर्मचारीहरू मिलेर सार्वजनिक जग्गा र स्थानीयले प्रयोग गर्दै आएको बाटो मिचेको खुलासा भएको छ । बाटो मिचेर जग्गा प्लटिङ भएपछि पूरै गाउँ उल्टिएर वडा कार्यालय घेराउ गर्न पुगेको छ ।
तर, दुई महिना भइसक्दा पनि गाउँलेको गुनासोको कुनै सुनुवाई भएको छैन । बरु विभिन्न बहाना गरेर वडा कार्यालय र नगरपालिकाले जग्गा दलालको पक्षमा अभिव्यक्ति दिने गरेको पीडितहरूले गुनासो गरेका छन् । मुख्य जग्गा दलाल बिबादमा पर्ने र स्थानीयको सांघातिक आक्रमणमा पर्ने डरले बाटो मिचिएको स्थानमा आउँदैनन् । उजुरीकर्ता पीडितहरूले भने, ‘जग्गा प्लटिङ गरेर कसैले बिक्री गर्छ भने हामीलाई भन्नु केही छैन । तर सार्वजनिक बाटो र सार्वजनिक जग्गा कसैले मिच्छ भने हामी गाउँले चुप लागेर बस्दैनौँ । प्रतिकार हुन्छ । अहिलेसम्म कानूनी प्रक्रियाअनुसार अगाडि बढेका छौँ । आवश्यक प¥यो भने सडक आन्दोलनमा पनि जाने छौँ ।’
पहिला रामकोट गाविस हालको नागार्जुन नगरपालिकाको वडा नम्बर ८ मा पर्ने बाटोलाई लालबहादुर कामी, भुवन श्रेष्ठसहितको जग्गा दलालको समूहले सार्वजनिक बाटो मिचेर जग्गा प्लटिङ गरेको खुलासा भएको छ । यो समूहले कित्ता नम्बर २७४ र ११९२ नम्बरको सरकारी जग्गा पनि कब्जा गरेर प्लटिङ गरिसकेको छ । जबकि जग्गा दलालहरूले २७७, २७३, १०३७, ९९६६, ९९९७ र ९९९८ नम्बरका कित्ता मात्रै खरिद गरेको कागजमा उल्लेख रहेको स्थानीयको भनाइ छ ।
जग्गा दलालको समूहले सिद्देश्वर मन्दिरदेखि हाकेको चौतार हुँदै मेन सडक निस्कने बाटोको घट्टेखोला क्षेत्रको जग्गा नगरपालिका र वडा कार्यालयका कर्मचारीसँग मिलेर कब्जा जमाएको आरोप स्थानीय पीडितहरूको छ । तत्कालीन गाविसको बजेटबाट १६ फिटको बाटो र ३ फिट कुलोसमेत गरेर १९ फिटको बाटो बनाइएको थियो । अहिले जग्गा दलाल र नगरपालिकाका कर्मचारीहरू मिलेर बाटो नै मिचेपछि स्थानीयहरू संगठित भइ आन्दोलित बनेका हुन् ।
नागार्जुन नगरपालिकाको वडा नम्बर ७, ८ र ९ का सयौँ सर्वसाधारणले साविक बाटो संरक्षणको माग गर्दै दुई वटा निवेदन दिइसकेका छन् । तर, नगरपालिका र ८ नम्बर वडाका सचिवले कुनै कानूनी प्रक्रिया अगाडि नबढाएको पीडितहरूले आरोप लगाएका छन् ।
सार्वजनिक बाटो जग्गा दलालहरूले मिचेको तथा दुई वटा कित्ता सरकारी जग्गा कब्जा गरेका विषयमा सोधिएको प्रश्चनमा वडा सचिव भुवनराज गिरीले भने, ‘उजुरी आएको सत्य हो । छानविन पनि चलिरहेको छ । अमिन पनि आएका छन् । बाटो कहाँ पर्छ ? कसको जग्गा कता पर्छ ? खोलाको जग्गा कति हो ? खोज्नु पर्छ ।’ उनले आफूले पनि स्थानीयलाई बोलाएर छलफल गरेको दाबी गर्दै भने, ‘तत्कालीन रामकोट गाविसको बजेटबाट बाटो निर्माण भएको सत्य हो । तर, कसको जग्गा कता पर्छ मैले भन्न सक्दिन । साविकको बाटोलाई जोगाउन वडा कार्यालयले गर्ने काम गर्छ ।’
जग्गा दलालको हातबाट साविकको बाटो मिच्न नदिने र सार्वजनिक जग्गा जोगाउने अभियानमा लागेका कृष्णभक्त गिरी, रामचन्द्र गिरी, हरिचन्द्र गिरी, कान्छाराम तामाङ, लक्ष्मी गिरी, साइती तामाङ, शर्मिला पुरीसहितका पूरै गाउँले हस्ताक्षर गरेर दुई पटक वडा कार्यालयमा उजुरी दर्ता गराएको छ । पहिलो उजुरीको दर्ता नम्बर १८५१ र दोस्रो उजुरीको दर्ता नम्बर १८५२ हो ।











प्रतिक्रिया