काठमाडौं, २० माघ । सरकारले स्थानीय तहको निर्वाचनको तयारी गर्न निर्वाचन आयोगलाई लिखित निर्देशन दिने निर्णय गरेको छ ।
विहिबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले २०७४ वैशाख मसान्तदेखि जेठको १० गतेभित्र स्थानीय तहको निर्वाचन गर्नेगरी निर्वाचन आयोगलाई लिखित निर्देशन दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।
सरकारले आयोगलाई निर्वाचनको तयारी गर्न निर्देशन दिएसँगै अब स्थानीय तह निर्वाचनबारे अन्यौलता हटेको प्रवक्ता कार्कीको भनाई छ ।
पूनर्संरचना प्रतिवेदनमा सुझाव दिन कार्यदल गठन
बैठकले स्थानीय तह पूनर्संरचना आयोगले पेश गरेको प्रतिवेदनबारे सुझाव दिन एक कार्यदल पनि बनाएको छ । संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेको संयोजकत्वमा गठित कार्यदलमा आपूर्तीमन्त्री दीपक बोहरा र उद्योगमन्त्री नविन्द्रराज जोशी सदस्य रहेका छन् । कार्यदललाई मुख्यतः २ नम्बर प्रदेशको स्थानीय तह निर्धारणबारे सुझाव दिन कार्यदेश दिइएको छ ।
बैठकले चीनको गोञ्जाओको महावाणिज्य दूतमा सहसचिव रबि भट्टराईलाई पठाउने निर्णय गरेको छ । शिशिर ढुङ्गानालाई सचिवमा बढुवा गरेको छ भने यमकुमारी खतिवडालाई कामु सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ ।












प्रतिक्रिया