३० आश्विन २०८३, शुक्रबार

बालविवाहले बढायो सम्बन्धविच्‍छेद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bibaha-Balमुगु, १ असोज । उमेर नपुगी विवाह गर्ने प्रचलनका कारण जिल्लामा सम्बन्धविच्छेदका घटना बढेका छन्। कर्णालीका पाँचमध्ये सबैभन्दा बढी बालविवाह हुने जिल्ला मुगु हो।

जिल्ला अदालत मुगुका रजिस्ट्रार हेमराज तिमिल्सिनाले बालविवाहकै कारण सम्बन्धविच्छेद र मानाचामलका मुद्दा बढी आउन थालेको बताए। जिल्लामा किशोरकिशोरीले स्कुल पढ्दापढ्दै विवाह गर्ने र १६-१७ वर्षमै आमा बन्‍ने गरेको पाइन्छ।

तीन वर्षअघि विवाह भएकी १७ वर्षीया उषा भाम (नाम परिवर्तन) अहिले मानाचामल र सम्बन्धविच्छेदको मुद्दा लिएर जिल्ला अदालत गमगढी धाइरहेकी छिन्। उनकी एक छोरी पनि छन्। पति र परिवारका सदस्यले हेला गरेर घरबाट निकालेपछि उनको बिचल्ली भएको छ। अहिले छोरी बोकेर अदालत धाउनु नै उनको दिनचर्या भएको छ।

उनी मात्र होइन बालविवाहका कारण मुगुका थुप्रै किशोरीले यस्तो पीडा भोगिरहेका छन्। एक वर्षमा जिल्ला अदालतमा बालविवाहकै कारण सम्बन्धविच्छेदका १०, नाताकायमका तीन, मानाचामलका ६ र बहुविवाहका एउटा मुद्दा दर्ता भएका छन्।

बालविवाह निरुत्साहित गर्न विभिन्न गैरसरकारी संघसंस्थाले लाखौं रुपैयाँ खर्च गर्दै आए पनि त्यसको सकारात्मक प्रभाव देखिएको छैन। जिल्लाका २४ गाविसमध्ये सदरमुकामनजिकैका कार्कीबाडा, पिना, रोवा र रुगा गाविसमा बालविवाहको प्रचलन बढी छ।

बालविवाह गर्ने तर पछि उमेर पुग्दै गएपछि पति तथा परिवारका सदस्यले बेवास्ता गर्ने गरेका कारण अलपत्र पर्ने किशोरीको संख्या बढ्दो छ। त्यसमध्ये थोरै मुद्दामात्रै अदालतमा आइपुग्ने गरेको तिमिल्सिनाले बताए।

ग्रामीण भेगमा बालविवाहको चलन कायमै छ। अदालतमा आइपुग्नेभन्दा धेरै मुद्दा गाउँमै मिलाउने गरिन्छ। महिला विकास कार्यालय मुगुका निमित्त प्रमुख कृष्ण चन्दले गाउँमा हुने बालविवाहका सबै मुद्दा अदालतसम्म नआउने बताए। उनले मुद्दा लिएर आउनेलाई भने कार्यालयले सहयोग गरिरहेको जानकारी दिएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

एक वर्षयता जिल्लामा ५० भन्दा बढी बहुविवाहका घटना भएका छन्। गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष सुरेश शाहीले केही सीमित सामाजिक संस्थाहरूले जागरणमूलक कार्यक्रम सञ्चालन गरे पनि बालविवाह नरोकिएको स्वीकार गरे।

एक वर्षमा जिल्ला अदालतमा बालविवाहकै कारण सम्बन्धविच्छेदका १०, नाताकायमका तीन, मानाचामलका ६ र बहुविवाहका एउटा मुद्दा दर्ता भएका छन्