काठमाडौं, १ असोज । व्यापारीले सामान बिक्री गर्दा उपभोक्ताबाट कति प्रतिशतसम्म मुनाफा असुल गर्छन्रु सामान्य अनुमान होला २५ वा ५० प्रतिशत १ तर न्युरोडका व्यापारीले परेको मूल्यभन्दा दुई सय प्रतिशत बढी रकम उपभोक्ताबाट असुले पनि सरकारले उन्मुक्ति दिएको छ।
वाणिज्य विभागले दुई सय प्रतिशतभन्दा बढी नाफा असुल्ने विशालबजारस्थित बीओम स्टोरलाई उन्मुक्ति दिएको हो। उक्त स्टोरले शुभसाइत इन्टरनेसनलबाट एउटा लेडिज ब्याग एक सय ९१ रुपैयाँमा खरिद गरेर एक हजार नौ सय ५० रुपैयाँमा बेच्दै आएको थियो।
त्यस्तै एक जोर जुत्ता चार सय ६५ रुपैयाँमा खरिद गरेर दुई हजार पाँच सय रुपैयाँमा उपभोक्तालाई बेच्दै आएको थियो। अनुगमनका क्रममा खरिदबिक्रीका दुवै बिल फेला परेपछि यो ठगी पत्ता लागेको हो।
लागत मूल्यमा अधिकतम २० प्रतिशतसम्म मुनाफा राखेर बिक्री गर्न पाउने व्यवस्था भए पनि उपभोक्ता ठग्ने उक्त स्टोरलाई विभागले कुनै कारबाही गर्न सकेन। विभागबाट मंगलबार अनुगमनमा खटिएका अधिकारी पसलको अविलम्ब नवीकरण गर्नू भनेर त्यत्तिकै फर्किएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
एक जोर जुत्ता चार सय ६५ मा खरिद गरेर दुई हजार पाँच सय रुपैयाँमा विक्री गरिएको छ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले उच्च मुनाफा असुल्ने व्यापारीमाथि तत्काल कारबाही गर्नसक्ने ऐन भए पनि विभागले मिलेमतोमा घटना ढाकछोप गरेको बताए। उनका अनुसार कालोबजारी तथा केही सामाजिक अपराध नियन्त्रण ऐन २०३२ ले आयात र परल मूल्यमा २० प्रतिशतभन्दा बढी मुनाफा लिने व्यापारीलाई पक्राउ गर्ने र पसल बन्द गराउने व्यवस्था गरेको छ।
‘यो ऐनलाई आकर्षित गराएर जिल्ला प्रशासन कार्यालय तथा प्रहरीको सहयोगमा तत्काल त्यस्ता व्यापारीमाथि कारबाही गर्न सकिन्थ्यो’, महर्जनले भने, ‘तर विभागले मिलेमतो गरेर कारबाही नगरी उन्मुक्ति दियो।’
अनुगमनमा खटिएका विभागका शाखा अधिकृत राजेन्द्र कार्कीले सरकारले त्यस्ता व्यापारीमाथि तत्काल कारबाही गर्नसक्ने अधिकार नदिएकाले कारबाही गर्न नसकिएको जबाफ दिए। उनले उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गर्न पनि कठिन भएकाले त्यसै फर्किएको बताए।
विशालबजारकै अंकित स्टोरमा अनुगमन गर्दा व्यापारीले विभागको टोलीमाथि हातपात प्रयास पनि गरेका थिए। विभागका निर्देशक लक्ष्मण श्रेष्ठका अनुसार अनुगमनमा गएका निरीक्षकद्वय टीकाबहादुर थापा र राजेन्द्र कार्कीमाथि विशालबजार व्यापार संघका अध्यक्ष कुमार राजभण्डारीको नेतृत्वमा आएका व्यापारीले हातपात गर्ने प्रयास गरेको बताए।
निर्देशक श्रेष्ठले भने, ‘अनुगमन टोलीका पदाधिकारी पसलमा छिरेर खरिद बिल र बिक्री बिल हेर्न सुरु मात्रै गरेका थिए, राजभण्डारीको नेतृत्वमा आएका सयौं व्यापारीले अनुगमन गर्न पाइँदैन, हामीले विभागका महानिर्देशकलाई भनिसकेका छौं, खरिदबिक्री बिल पनि हेर्न पाइँदैन भन्दै अवरोध गरे।’ टोलीमाथि आक्रमण प्रयास हुन थालेपछि निरीक्षक त्यसै फर्किएको पनि उनले बताए।
उनका अनुसार अत्यधिक मुनाफा लिने बीओम स्टोरमा अनुगमन गर्ने क्रममै व्यापारीहरू जम्मा भइसकेका थिए। अंकित स्टोरमा अनुगमन गर्ने क्रममा सबै व्यापारी मिलेर अवरोध पुर्याएका थिए। विभागको अनुगमन टोलीले निर्देशन पालना नगरेको भन्दै कमलादीस्थित हरि स्टोर भने अनिश्चितकालका लागि बन्द गराएको छ।















प्रतिक्रिया