काठमाडौं, २० माघ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पारदर्शिता र जवाफदेहितासहित पुनर्निर्माणका काम गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरुलाई निर्देशन दिएको छ ।
भूकम्प प्रभावित जिल्लाहरुमा साझेदार संस्थाहरुकातर्फबाट भइरहेका पुनर्निर्माणका कामप्रति विभिन्न क्षेत्रबाट गुनासो आएपछि प्राधिकरणले निजी आवास पुनर्निर्माणमा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुलाई प्राधिकरणको केन्द्रीय कार्यालयमा बोलाएर निर्देशन दिएको हो ।
प्राधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्राध्यापक डा. गोविन्दराज पोखरेलले पुनर्निर्माणको कामलाई गति दिन र सरकारी निकायसँग समन्वय गरेर मात्र काम गर्न साझेदार संस्थाका प्रतिनिधिहरुलाई निर्देशन दिनुभयो । उहाँले भूकम्प प्रभावित क्षेत्रमा साझेदार संस्थाहरुले आफूखुसी रकम खर्च गरेको गुनासो आएको बताउँदै सरकारको कार्यादेश अनुसार काम गर्न निर्देशन दिनुभयो ।
प्रमुख कार्यकारी अधिकृत डा.पोखरेलले नीतिगत समस्या भए तत्काल प्राधिकरणलाई जानकारी गराउन आग्रह गर्दै आ-आफ्नो जिम्मेवारी अनुसार निजी आवास पुनर्निर्माणको कामलाई गति दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा साझेदार संस्थाहरुबाट हालसम्म गरिएका कार्य प्रगतिको समीक्षा गर्नुका साथै प्रगति नभएका र कम प्राथमिकताका क्षेत्रमा छुट्टाइएको रकम समेत निर्माणकर्मी उत्पादन गर्ने तालिममा केन्द्रित गर्न र नयाँ स्रोत व्यवस्थापन गरी दक्ष जनशक्ति उत्पादनमा ध्यान केन्द्रित गर्न आग्रह गरिएको थियो ।
कार्यक्रममा प्राधिकरणका तर्फबाट कार्यकारी सदस्य डा. हरिराम पराजुली, सचिव डा. संजय शर्मा, सहसचिव यमलाल भूसाल, सहप्रवक्ता डा. भीष्मकुमार भूसाल लगायत सहभागी हुनुहुन्थ्यो ।












प्रतिक्रिया