धनगढी, १९ माघ । युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले संघका नेता कार्यकर्तामाथि भइरहेको आक्रमणविरुद्ध कानुन साथमा लिएर प्रतिकारमा उत्रिन आह्वान गरेका छन् ।
युवा संघ नेपाल धनगढी महानगरपालिकाको ९ औ अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष पहारीले आफ्ना कार्यकर्तामाथि आक्रमण हुँदा प्रहरी प्रशासन मुकदर्शक बनेको भन्दै देशब्यापी रुपमा तत्काल कानून साथमा लिंदै प्रतिकारमा उत्रन कार्यकर्तालाई आह्वान गरेका हुन् ।
उनले नजिकिदो स्थानीय निकायमा नेकपा एमालेले ९० प्रतिशत स्थानमा जित्ने निश्चित रहेको अवस्थामा एमालेलाई कमजोर बनाउन एकपछि अर्को गर्दै भातृ संगठन युवा संघका नेता कार्यकर्तामाथि आक्रमण भइरहेको बताए ।
रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्याराहरु अझै पक्राउ नपरेको र भर्खरै धरान नगर अध्यक्ष दिवस राईमाथि भएको आक्रमणले संघ सोच्न बाध्य भएको पहारीको भनाई छ ।
फरक प्रसंगमा अध्यक्ष पहारीले हिन्दीलाई राष्ट्र भाषा बनाउन, बिदेशीलाई प्रमुख पदमा पुर्याउन र देश टुक्राउन संविधान संशोधन हुननसक्ने भन्दै विदेशीको ईसारामा चल्ने कथित मधेसी मोर्चाको षडयन्त्र सफल हुननसक्ने स्पष्ट पारे ।
कार्यक्रममा युवा संघका सचिव बचनबहादुर सिंहले राष्ट्रिता बचाउन देशभक्त युवाहरु एक हुनुको विकल्प नरहेको बताए ।












प्रतिक्रिया