४ मंसिर २०८३, शुक्रबार

संकटमा प्रधानमन्त्रीः काँग्रेसको अल्टिमेटम, मोर्चाको धम्की

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अंकुश कुँवर

काठमाडौं, १८ माघ । काँग्रेस र मधेशी मोर्चाको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले उनले भनेजस्तै खुकुरीको धारमा छन् । तीन दिन अघि टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई थोरै दायाँ रड्किँदा पनि खुकुरीको धार, बाँया पनि खुकुरीको धार रहेको भनेका थिए ।

यो बयानजस्तै प्रधानमन्त्री प्रचण्ड निकै दबाबमा छन्, दोधारमा छन् । सत्ता साझेदार र समर्थक दलका दुई थरी कुराले उनको दुबैतिर खुकुरीकै धार पलाएको सत्य हो ।

एकथरीले संविधान संशोधन प्रस्ताव थन्क्याएर चुनावको मिति घोषणा गर्नुपर्छ भनिरहेका छन् भने अर्काथरीले संविधान संशोधन नगरी कुनैपनि हालतमा चुनावको मिति घोषणा गर्न पाइँदैन भनिरहेका छन् ।

प्रधानमन्त्री प्रचण्डसंगै अहिले अप्ठ्याराका थुप्रै पोकाहरु छन् । एक्लै सुल्झाउन सजिलो भने केही छ्रैन । उनले राम्रो गर्न खोजुन वा नराम्रो, विरोध नभएको कुनै काम नै छैन ।

उनले त्यो बेला खुकुरीका धारहरुसंग पनि सामना गरिने भनेका थिए । तर, त्यो गर्न उनलाई त्यति सजिलो भने छैन । संविधान कार्यान्वयनमा थुप्रै जटिलताहरु छन् । सरकारको नेतृत्व गरेको नाताले बढी जिम्मेवारी उनी माथि नै छ । मधेस पहाड, हिमाललाई मिलाएर लैजानपर्ने परिस्थिति उनीमाथि छ ।

उनले गर्नुपर्ने काम धेरै छन् । पहिलो पटक प्रधानमन्त्री हुँदा पनि उनीमाथि ठूलै जिम्मेवारी आइपरेको थियो । त्यो बेला पनि उनलाई यो बेला भन्दा कम्ती कठिन थिएन । फलामको चिउरा चपाउनभन्दा पनि अप्ठेरो परेको सबैलाई थाहा छ ।

अहिले पनि उनी महत्वपूर्ण जिम्मेवारीका साथ सरकारमा रहेपनि साथ पाइरहेका छैनन् । सत्तारुढ दलले नै उनको साथ छोड्ने संकेत दिइसकेको छ । र, मधेसीको मार्चाको पनि आफ्नै अडान छ ।

मंगलबार मात्रै सत्तारुढ र समर्थक मोर्चाका नेताहरुले दुईथरी कुरा गरेर प्रचण्डलाई झन तनावमा तानेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाली काँग्रेसका प्रभावशाली नेता डा. नारायण खड्काले माघभित्रै निर्वाचनको मिति घोषणा नगरे प्रधानमन्त्रीले सरकारमा बसिरहनुको औचित्य नभएको बताएका छन् ।

उनले माघ महिनाभित्रै मिति घोषणा गर्न नसके प्रधानमन्त्रीले राजीनामा दिएर बाटो खुला गर्नुपर्ने माग गरे । राजीनामा भन्ने शब्दले नै प्रचण्डलाई झस्काउन सक्छ । समर्थक भन्दा पनि सत्ता साझेदार दलका नेताले नै यस्तो भन्नु प्रधानमन्त्री प्रचण्डको लागि निकै अप्ठ्यारो विषय हो ।

नेता खड्को मिति घोषणा गर्न नसेपछि कुर्सीमा बसिरहनुको कुनै अर्थ नहुने समेत बताए । बैशाखमा स्थानीय तहको निर्वाचन हुने गरी यहि महिनामा निर्वाचनको मिति घोषणा हुनुपर्छ’ उनले भनेका छन्, ‘जेठमा पनि चुनाव हुन सक्दैन, त्यसैले यो सरकार बैशाखसम्ममात्रै हो, काँग्रेससँग सम्झौता भएको पनि यहि हो ।’

नेता खड्काको भनाईलाई मान्ने हो भनेपनि प्रधानमन्त्री प्रचण्डले बैशाखसम्म मात्रै सरकारको नेतृत्व गर्ने सम्झौता गरेका छन् । बैशाखमा चुनाव गर्न र नेतृत्वमा रहन प्रचण्डले माघमै निर्वाचनको मिति घोषणा गर्नुपर्ने ठूलो जिम्मेवारी छ ।

काँग्रेसकै सभापति शेरबहादुर देउवाले पनि विभिन्न ठाउँमा गएर संविधान संशोधन थाँती राखेर भएपनि निर्वाचनको मिति घोषणा गरिने बताउँदै आएका छन् ।

उनले यहि स्थितिमा माघभित्र निर्वाचनको मिति घोषणा निकै कठिन छ । काँग्रेसले यसो भनिरहँदा अर्कोपट्टीबाट मधेशी मोर्चाले छुट्टै माग तेस्र्याएको छ । संयोग नै हो मोर्चाका नेताले पनि मंगलबारै आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीलाई आफ्ना माग पूरा नभए समर्थन फिर्ता लिएर आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

मोर्चाले परिमार्जनसहित संविधान संशोधन गरेर मात्रै निर्वाचनको मिति घोषणा गरिनुपर्ने बताउँदै आएको छ । कार्यक्रममा बोल्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता राजेन्द्र महतोले संविधान संशोधन नगरिकन चुनावको मिति घोषणा गरे सरकारसँग सम्बन्धविच्छेद गर्ने र त्यस विरुद्धमा आन्दोलनमा जाने घोषणा गरे ।

उनले संविधान विभेदकारी भएकाले संशोधन नभईकन चुनावको मिति घोषणा गर्न नहुने बताए । यदि त्यस्तो हर्कत गरिए त्यसलाई कुनै पनि हालतमा नमान्ने उनले बताएका छन् ।

संविधान संशोधन जनताबाट आएकाले त्यसलाई लत्याउन नहुने र प्रचण्डले आफूले गरेको बाचा पूरा गर्नुपर्ने उनको भनाई थियो ।

चुनावको नाम जोडेर कसैलेपनि लोकतन्त्रको पाठ नपढाउन आग्रह गर्दै उनले मधेशी जनताको अधिकार कटौती गरेको आरोप लगाउन पनि पछि परेनन् । उनले यस्तै भए ७५ वटै जिल्लामा गोली समेत चल्ने बताएका छन् ।

यति मात्रै होइन्, प्रचण्डलाई आफ्नै पार्टीका नेताले पनि बेला–बेलामा झस्याइरहेका छन् । नेकपा माओबादी केन्द्रका प्रभु शाहले पनि संसदमा टेबुल भएको संविधान संशोधन प्रस्ताव पारित गरेर मात्रै निर्वाचनको मिति घोषणा हुनुपर्ने अडान राखे ।

उनले संविधान संशोधनकै लागि बनेको सरकारले त्यो काम थाँती राखेर निर्वाचनको मिति घोषणा गरेर जोखिम माल्न नहुने सुझाव दिए । सरकारमै रहेका उपप्रधानमन्त्री तथा माओबादकीका प्रभावशाली नेता टोपबहादुर रायमाझी पनि बेला–बेलामा संविधान संशोधन अगाडि नै निर्वाचनको मिति घोषणा गरिनुपर्ने बताउँदै आएका छन् ।

सत्ता साझेदार काँग्रेस, राप्रपा र समर्थक मधेशी दलहरु मात्रै नभई आफ्नै दलका प्रभावशाली नेताहरुले समेत आफूलाई साथ दिन छोडेपछि प्रधानमन्त्री प्रचण्ड हतासिएका छन् । संशोधन प्रस्ताव टेबुल गराउन सहयोग गरेका दलहरुले अहिले त्यसलाई थाँती राखेर निर्वाचनको मिति घोषणामा जोड दिएका छन् ।

प्रधानमन्त्री आफै भने पहिले संविधान संशोधनपछि मात्रै निर्वाचनको मिति घोषणा गर्ने पक्षमा रहेपनि अहिले अन्यौलमा छन् । यसले प्रधानमन्त्री प्रचण्डलाई मात्रै होइन् सिंगो देशलाई नै अन्यौलतामा धकेलेको छ ।

निर्वाचनको मिति घोषणा गरेपनि त्यसले सार्थकता पाउँछकी पाउँदैन भन्ने एकिन गर्न सकिने स्थिति अब छैन । यसरी दुईखाले कुरा गरेर मुलुकलाई बन्धकमा राख्नु बाहेक अरु हुँदैन । त्यसैले आफ्नो गोरुको बाहै्र टक्का भन्ने नेताले अब निचोड निकाल्नै पर्छ । देशलाई यसरी बन्धक बनाएर राख्न पाइँदैन् ।