काठमाडौं, ३१ भदौ । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८औँ शिखर सम्मेलनमा माल्दिभ्स र श्रीलङ्कालाई निमन्त्रणा गर्न मंगलबार त्यसतर्फ प्रस्थान गनर्नुभएको छ ।
आगामी मङ्सिर १० देखि ११ गतेसम्म काठमाडौँमा हुने उक्त शिखर सम्मेलनमा सहभागी हुन सार्क सदस्य राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखलाई निमन्त्रणा गर्न नेपाल सरकारले परराष्ट्रमन्त्रीलाई खटाएको हो ।
प्रधानमन्त्री सुशील कोइरालाले सार्कका वर्तमान अध्यक्ष राष्ट्र माल्दिभ्ससहित सदस्य राष्ट्रहरू श्रीलङ्का, भारत, भुटान, बङ्गलादेश, पाकिस्तान र अफगानिस्तानका सरकार तथा राष्ट्र प्रमुखलाई सम्मेलनमा सहभागिताका लागि निमन्त्रणा पत्र लेख्नुभएको छ ।
सार्कको परम्पराअनुसार सो पत्र सम्बन्धित राष्ट्र एवम् सरकार प्रमुखलाई औपचारिक रुपमा भेटेर हस्तान्तरण गर्ने प्रचलनअनुसार आफू त्यसतर्फ जान लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री पाण्डेले जानकारी दिनुभयो ।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री पाण्डेले मंगलबारदेखि आगामी असोज ३ गतेसम्म माल्दिभ्स र श्रीलङ्काको भ्रमण गर्नुहुनेछ ।
माल्दिभ्सका राष्ट्रपतिलाई बुधबार र श्रीलङ्काका राष्ट्रपतिलाई बिहीबार भेटेर पत्र हस्तान्तरण गर्ने मन्त्री पाण्डेको कार्यसूचीमा छ ।
भ्रमणका क्रममा उहाँले दुवै मुलुकका विदेशमन्त्रीहरूसँग समेत भेटघाट गर्ने र सो अवसरमा सार्क सम्मेलनको तयारी तथा द्विपक्षीय हित र चासोका विषयमा कुराकानी गर्नुहुनेछ ।
त्यसलगत्तै मन्त्री पाण्डे संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा भाग लिन अबुधावी हुँदै न्युयोर्क प्रस्थान गर्नुहुनेछ ।
विमानस्थलमा उहाँलाई परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूले बिदाई गरेका थिए । रासस
















प्रतिक्रिया