काठमाडौं, १८ माघ । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधनमार्फत जनताका अधिकार स्थापित गर्ने कुरामा एमालेले धेरै बेइमानी गरिरहेको आरोप लगाएका छन् ।
मंगलबार रिपोर्टर्स क्लबद्धारा आयोजित साक्षात्कारमा उनले भने- ‘एमालेले धेरै बेइमानी गर्यो क्या, तर यसको हिसाबकिताब जनताले दिन्छन्, त्यसैको तयारी स्वरुप अहिले एमालेमुक्त मधेश बनाउने कुरा पनि भैरहेको छ क्या ।’
यद्यपी उनले काँग्रेस र माओवादी केन्द्रको भने बुद्धि आएको तर्क गरे । त्यस्तै महतोले संविधान कार्यान्वयनको लागि निर्वाचन गर्नुपर्छ भनेर एमालेले ढोल पिटिरहेको गुनासो समेत पोखे ।
‘पूनर्संरचना प्रतिवेदन कुनै हालतमा मान्दैनौं’
स्थानीय तह पूनर्संरचना आयोगको प्रतिवेदन कुनै हालतमा पनि मान्य नभएको जिकिर गर्दै त्यसलाई परिमार्जन गर्नुपर्ने उनको माग छ । उनले थपे– ‘पूनर्संरचनाको नाममा फेरि मधेशमा नयाँ ढंगले विभेद सूरु गरिएको छ, यो हामी मान्दैनौं, मधेशमा ५१ प्रतिशत जनसंख्या छ, तर २५ प्रतिशत पनि दिइएको छैन ।’
स्थानीय तहको पूनर्संरचना भद्रगोल रहेको कुरा नुवाकोटको आन्दोलनले नै पुष्टि गरिसकेको उनको दाबी थियो । उनले भने, ‘हेर्दै जानुहोस्, यस्तै हो भने नुवाकोटको जस्तो घट्ना ७५ जिल्लामै दोहोरिन्छ, नुवाकोटमा त गोली नै चल्यो, अब त्यो गोली कहाँ कहाँ चलाउने हो ?’ उनले पूनर्संरचना गर्दा पनि पूर्वाग्रही राखेको आरोप लगाए ।
त्यस्तै उनले राजा महेन्द्रले महेन्द्र राजमार्ग निर्माण गर्दा मधेशमा षड्यन्त्र गरेजस्तै अहिले रेलवेको नाममा अर्को नयाँ ढंगको षडयन्त्र गर्न लागिएको भन्दै हाइवे र सिमानाको बीचबाट रेलवे मार्गको डिपीआर गर्नुपर्ने माग गरे । उनले थपे, ‘यस्तै विभेद गरिरहने हो भने विष्फोट हुन्छ ।’












प्रतिक्रिया