बाजुरा, १६ माघ । नेकपा एमाले बाजुराले शहिद दिवसको अवसर पारी विशाल आम सभाको आयोजना गरेको छ । शहिदहरुको सम्झना र राष्ट्रियताको सवालमा एमालेको अडानबारे जनतालाई जानकारी दिन आम सभाको आयोजना गरेको अध्यक्ष कालीबहादुर शाहीले बताए ।
राष्ट्रिय एकता समृद्धी र स्वाभिमान, संविधान कार्यान्वनका लागि एमालेको अभियान भन्ने नाराका साथ आम सभा सञ्चालन गरिएको हो । जिल्ला भरका अगुवा नेता कार्यकर्ताहरुको भव्य उपस्थितिमा आमसभा सञ्चालन गरेको छ ।
वर्तमान सरकारका विरुद्ध जनमत तयार गरी शहिदले देखेको सपनालाई साकार पार्ने संकल्प सहीत बृहत भेलाको आयोजना गरेको एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले बताए । आम सभालाई केन्द्रीय सदस्य लालबहादुर थापा, प्रकाश शाह, जिल्ला अध्यक्ष कालीबहादुर शाही, सचिव बल्देव रेग्मी, उपसचिव गगन रावल लगायतले संवोधन गरेका थिए ।
वर्तमान सरकार भारतको इसारामा चलेको, राष्ट्रघाती काम गर्ने गरेको, एमाले नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटलाई कार्यान्वन नगरेकोले त्यस विरुद्ध देशव्यापी समर्थन जुटाउन एमाले गाउँ बस्तीबाटै अग्रहस भएको नेताहरुले बताए ।
बडिमालिका नगर क्षेत्र भित्रका महिलाहरुको देउडा तथा विभिन्न साँस्कृतिक प्रस्तुती प्रस्तुत गरिएको थियो । महिलाहरुले साँस्कृतिक कार्यक्रम मार्फत वृद्ध भत्ता, एकल भत्ता, लगायतका सामाजिक सुरक्षा भत्ता एमालेकै पालामा दिन सुरु गरिएको र केपी ओली जस्तो राजनेताको आवश्यक देशलाई रहेको गीतमार्फत खुलेरै प्रशंसा गरेका छन् ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले स्थनीय निकायको निर्वाचन काँग्रेसका कारण हुन नसकेको बताए । दिल्लीले आदेश नदिएसम्म काँग्रेस निर्वाचनका लागि तयार नहुने थापाको आरोप छ ।
कार्यक्रममा अर्का केन्द्रीय सदस्य प्रकाश शाहले माओवादी भारतीयहरुको ढल (फोहर) भएको बताए । पार्टी मिलाउन नसक्ने प्रचण्डले देश बनाउने कल्पना गर्न नसकिने बताउँदै शाहले आगामी निर्वाचनबाट काँग्रेस माओवादीहरु पाखा लाग्ने बताए ।
कार्यक्रममा अवसरपारी एमालेले राष्ट्रिय खेलकुद प्रतियोगिताका स्वर्ण पदक विजेता बाजुराका चार जना खेलाडीलाई सम्मान गरेको छ । आमसभामार्फत निर्वाचनका लागि तयार रहन नेताहरुले कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । कार्यक्रममा २ हजार बढी एमाले नेता कार्यकर्ता सहभागी थिए ।












प्रतिक्रिया