रत्ननगर (चितवन), ३१ भदौ । नेपाली र विदेशी सैनिकको संयुक्त अभ्यास चितवनको शक्तिखोरमा सम्पन्न भएको छ ।
‘एक्स प्यासिफिक एन्जेल २०१४’ नाम दिइएको साताव्यापी उक्त अभ्यास सोमबार साँझ एक औपचारिक कार्यक्रम गरी नेपाली सेना मध्यपृतनाका पृतनापति बलदेवराज महत्तले समापन गर्नुभयो ।
उक्त अभ्यासमा नेपाली र अमेरिकी सेनासहित अस्ट्रेलिया, बेलायत, बङ्गलादेश र मङ्गोलीका सेनाको सहभागिता थियो । कार्यक्रममा विदेशी सेना ६५ जना रहेको अमेरिकी सेनाकी सेकेन्ड लेफ्टिनेन्ट यस्लेई रिगले जानकारी दिनुभयो । कार्यक्रममा विशेष अतिथिका रुपमा अमेरिकी सेनाका मेजर जनरल मिचेल कोम्पटन हुनुहुन्थ्यो ।
सो क्रममा बोल्दै मिचेलले नेपालमा आएर संयुक्त सैनिक अभ्यास गर्न पाउँदा खुसी लागेको भन्दै यसबाट दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने बताउनुभयो ।
कार्यक्रममा मध्यक्षेत्रका पृतनापति बलदेवराज महतले अमेरिकी एयरफोर्सलगायत विभिन्न देशबाट सेना यहाँ आएर स्थानीय जनतालाई सेवा दिँदा अत्यन्तै खुसी लागेको बताउनुभयो ।
उक्त अभ्यास यही भदौ २३ गतेदेखि मकवानपुरको मनहरीबाट सुरु भएको थियो । तीन दिन मकवानपुरमा कार्यक्रम गरेर २६ गतेबाट चितवनको शक्तिखोरमा गरिएको थियो । कार्यक्रममा विशेषज्ञ सेनाहरुको समेत सहभागिता थियो ।
विस्फोटमा परी घाइते भएकाहरुको आवश्यक उपचार पद्धति र विपद् व्यवस्थापनको विषयमा समेत अभ्यास भएको थियो । यस्तै प्राथमिक उपचारसम्बन्धी पनि अभ्यास भएको बताइएको छ ।
सो क्रममा स्थानीयका लागि स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको थियो । उक्त शिविरमा पाँच हजार ५४६ जना सर्वसाधारण र दुई हजार विद्यार्थी गरी सात हजार ५०० भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको अमेरिकी सेनाको सूचना हेर्ने सेकेन्ड लेफ्टिनेन्ट रिगले जानकारी दिनुभयो ।
यस्तै सेनाले यी दुई स्कुलको मर्मत कार्य र इन्जिनियरिङको कामसमेत गरेको कार्यक्रममा आज जानकारी दिएको थियो । रासस
















प्रतिक्रिया