२९ आश्विन २०८३, बिहिबार

गणतन्त्र पक्षधरदेखि जातीय र राजसंस्था पक्षधरसम्म

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Golmechकाठमाडौं, ३१ भदौ । संविधानसभा बहिस्कार गर्दै आएका शक्तिलाई संविधान निर्माण प्रक्रियामा सहभागी गराउने लक्ष्यसहित राष्ट्रिय राजनीतिक सम्मेलन मंगलबार हुँदैछ । मोर्चामा आवद्ध गणतन्त्र पक्षधरदेखि जातीय र राजसंस्था पक्षधर दलहरु त्यसमा सहभागी हुँदैछन् ।

संविधानको अन्तर्वस्तुमा सहमती जुटाउन सुरुमा गोलमेच हुदै राजनीतिक सम्मेलनको माग प्रमुख रुपमा मोहन वैद्यले नेतृत्व गरेको नेकपा-माओवादीले उठाउदै आएको हो । दोस्रो संविधानसभालाई सुरु देखि नै बहिस्कार गर्दै आएको माओवादी चुनाव सम्पन्न भएको ९ महिनापछि पहिलोपल्ट संविधानसभा परिसरमा देखिने भएको छ ।

सम्मेलनमा सहभागीताका लागि वैद्य पक्षले विभिन्न ४३ साना दल र मोर्चाको नामावली पेस गरेका थिए । तर, मोर्चाभित्रै रहेका अन्य दलहरुले भने संख्या बढाउनका लागि जनमानसमा अस्तित्व नरहेका समूहलाई सहभागी नगराउन सुझाव दिएका थिए । संविधानसभाभित्र रहेका विभिन्न ३० पार्टी र २ क्षेत्रका स्तन्त्रबाट विजयी सभासदले संविधानसभामा प्रतिनिधित्व गरेका छन् ।

सम्मेलनको तयारीलाई अन्तिम रुप दिन सोमवार दिउसो बुद्धनगरस्थित माओवादी कार्यालयमा मोर्चाआवद्ध नेता र राति अबेरसम्म ४ दलका नेता संलग्न कार्यदलको बैठक बसेको थियो ।

मोर्चामा आवद्ध माओवादीबाहेक अन्यबाट हरेक दलबाट एक-एक जना सहभागी हुने र आफ्ना दलका दृष्टिकोण राख्ने सहमती बनेको छ । संक्षिप्तमा आफ्ना भनाई राखेपछि संविधानसभामा अहिलेसम्म भएका सहमतीरअसहमतीका प्रतिवेदन माग्ने तयारीमा उनीहरु छन् ।

‘पहिलै सम्मेलनमा सबै निर्णय हुदैन । हामीले पनि अध्ययन गर्नूपर्ने भएकाले अहिलेसम्मका प्रगती विवरण बुझ्छौु’, माओवादी प्रवक्ता पम्फा भुसालले भनिन् ।

संघीयता, शासकीय स्वरुप, निर्वाचनप्रणालीसहितका विषयमा राष्ट्रिय सहमती खोज्ने उक्त सम्मेलन संविधानसभा नै रहेको अन्तराष्ट्रिय सम्मेलन केन्द्रस्थित ल्होत्से हलमा मंगलबार विहान हुनेछ । सरकारको संयोजनमा हुने सम्मेलनमा बाहिर रहेका मोर्चाको धारणा सुनेपछि प्रमुख दलले सम्मेलनको दोस्रो संस्करणबारे आवश्यक निर्णय गर्नेछन् ।

प्रधानमन्त्री सुशील कोइराला बुधबार अमेरिका प्रस्थान गर्ने भएकाले त्यसअघि नै सम्मेलन राखिएको हो । सम्मेलनलाई संविधानसभामा चौथो शक्तिको रुपमा रहेको राप्रपा नेपालले भने बहिस्कार गर्ने भएको छ ।

सुरुमा ३३ दलीय मोर्चाभित्रै रहेको किशोर कुमार विश्वासको नेतृत्वमा रहेको तत्कालीन आदिवासी जनजाति, मधेसी, मुस्लिम दलित गणतान्त्रिक मोर्चाले पनि सम्मेलनलाई अस्वीकार गरेको छ । ती सबैलाई मिलाई बहुलराष्ट्रिय समाजवादी पार्टी बनाएको विश्वासले सोमवार विज्ञप्ति जारी गरे राजनीतिक सम्मेलनले समस्या समाधन नगर्ने बताएका हुन् ।

को को छन् मोर्चामा

मोर्चामा ४३ दलको सहभागी रहेको जानकारी वैद्य पक्षले सरकारलाई गराएको छ । वाम विचारधारा, जातीय विचारदेखि राजतन्त्रको वकालत गर्नेहरु समेत छन् ।

मोर्चामा रही संविधानसभाको चुनाव बहिस्कार अभियानमा मात्रिका यादवले नेतृत्व गरेको नेकपा (माओवादी), मणि थापाले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिष्ट पार्टी, परि थापाले नेतृत्व गरेको नेकपा (एकीकृत), पासाङ्ग शेर्पाले नेतृत्व गरेको सामाजिक लोकतान्त्रिक पार्टी, कुमार लिङ्गदेनले नेतृत्व गरेको संघीय लिम्बुवान पार्टी (पहिलेको संघीय लिम्बुवान राज्य परिषद)  र प्रकाश अधिकारीले नेतृत्व गरेको नेकपा (संयुक्त मार्क्सवादी) बढी सक्रिय भएका थिए ।

‘पार्टीकै अस्तित्वका रुपमा काम गर्ने त ९-१० वटा भन्दा बढी छैनन् । अरु त विभिन्न प्रयोजनका लागि जन्मेका र जन्माइएका छन्’, मोर्चा सम्बद्ध एक नेताले भने । उनीहरुले सबैलाई सहभागी गराउन आवश्यक नभएको तर्कसमेत मोर्चा बैठकमा गरेका थिए ।

सम्मेलनलाई औपचारिकता मात्र दिन लागिएको हो कि भन्ने शंका मोर्चा भित्रै उठेको छ ।

‘पहिले पनि राष्ट्रपतिको अगुवाईमा सर्वदलीय बैठक बोलाइएको थियो । परिणाम केही आएनु, संविधानसभा चुनाव अघिको प्रसङ्ग राख्दै सामाजिक लोकतान्त्रिक पार्टी अध्यक्ष शेर्पाले भने, ‘यसपटक पनि त्यही दोहोरिएला भन्ने डर छ ।’

फरक-फरक विचारधाराका मोर्चा भएकाले सबैले आ-आफ्नै दृष्टिकोण राख्ने तयारीमा उनीहरु छन् । मोर्चामा आवद्ध क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले भने, ‘आफ्नो बोल्ने पालामा पार्टीको धारणा राख्ने तयारी गरिरहेका छौं । त्यसमा वैद्य माओवादीकै भन्दा विपरित धारणा पनि हुन सक्छ ।’

मोर्चाभित्रै रहेको सोभाराम थापाले नेतृत्व गरेको अर्को समूह राजतन्त्रको वकालत गर्नेछ । ३३ भित्रै कम्तीमा ७ वटा समूह राजावादी छन् । उनीहरुलाई वैद्यले रणनीतिक हिसाबले मोर्चामा सहभागी गराएका छन् । दोस्रो संविधानसभाको चुनाव अघि राष्ट्रिय स्वाधिनताको आन्दोलन चर्काउदा वैद्यले ती समूहलाई उपयोग गरेको थियो । त्यतिबेला देव गुरुङ्गसहितका नेताहरुले राप्रपा नेपालका अध्यक्ष कमल थापा, राजतन्त्र पक्षधर भरत बस्नेतसहितलाई पटक-पटक भेटेका थिए ।