काठमाडौं, १५ माघ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा रहेका नागरिकले कन्सुलर विभागबाट लिनुपर्ने विविध कानूनी सेवा अब अनलाइनमार्फत नै लिन सकिने भएको छ ।
परराष्ट्र मन्त्रालयको कन्सुलर विभागले अबदेखि विदेशमा हराएका नागरिकको खोजतलास र उद्धार, विदेशमा मृत्यु भएकाको शव झिकाउने, मृतकका परिवार र घाइतेले पाउनुपर्ने क्षतिपूर्ति, अधिकृत वारेसनामाजस्ता सेवाका लागि अब अनलाइनबाटै आवेदन गर्न सकिने भएको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
यी सेवाका लागि त्यस्ता व्यक्ति र उनीहरुका आफन्त स्वयम् विभागमा आई आवेदन गर्नुका साथै सो कार्य प्रगतिको सोधपुछका लागि समेत आफैँ उपस्थित हुनुपर्नेमा अबदेखि अनलाइनबाटै आवेदन गरी आफ्नो आवेदन कहाँ पुग्यो र के हुँदैछ भन्नेबारेमा घरैमा बसी जानकारी लिन सकिने छ ।
अनलाइनबाट यस्तो सेवाका लागि गरिएको सेवाग्राहीको आवेदन सम्बन्धित देशमा रहेका नेपाली नियोगमा पनि पुग्ने र यसबारेमा ती नियोग पनि सेवाप्रति जिम्मेवार हुनुपर्ने छ ।












प्रतिक्रिया