काठमाडौं, १४ माघ । कमिसन पाउने भएकैले तस्करीको सुन बरामदका अधिकांश घटनामा सुराकी को थियो भन्ने तथ्य सुरुमै आउथ्यो ।
पुस २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट पास भएको ३३ किलो पाँच सय ७७ ग्राम ४० मिलिग्राम सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सार्वजनिक गर्ने वित्तिकै सुराकी को हो भन्ने प्रश्न उठिहाल्यो । तर ब्युरो प्रमुख डिआईजी नवराज सिलवालले गौशाला बृत्तमा सुन सार्वजनिक गरेलगत्तै भने, ‘बरामद सुनको कुनै सुराकी छैन ।’ सुराकी बिना सिलवालले कसरी त्यत्ति ठूलो परिमाणमा सुन बरामद गरे त ? यो प्रश्नमा सिलवालले जे बताए त्यसले सुन तस्करीको संगठित स्वरुपलाई मात्रै बुझाउँदैन, बरामद सुनको पर्दा पछिका केही पहेलीलाई पनि बुझ्न सघाउँछ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
सिलवालले तीन महिना अघिको घटना सुनाए । उनका अनुसार लन्डन स्कुल अफ ईकोनोमिक्समा पढेर नेपाल फर्केका एक युवाले तारन्तर फोन गरेर सिलवाललाई भेट्न खोजिरहेका थिए ।
अफिसमै आएर भेटेका ती युवाले सुन तस्करीका कारण अर्थतन्त्र चौपट भएको, बजारबाट डलर अवैध रुपमा बाहिरिएको र अवैध सुन भित्रिरहेको तथ्य सुनाएका थिए । सिलवालका अनुसार ती युवाको दावी थियो, चीनको केरूङ नाकाबाट भित्रिएको अवैध सुनले यस्तो भएको होईन, विमानस्थलबाटै भित्रीएको ठूलो परिमाणको सुनले खतरा निम्त्याएको हो ।
तन्नेरीको त्यस्तो तर्क र दाबीपछि आफू अनौठो अन्यौलमा परेको सिलवाल बताउँछन् । उनले भने, ‘त्यसपछिका केही दिन म आफैं विमानस्थलमा रेकी गर्न गएँ । मलाई देख्दा कर्मचारीहरु बढी नै सर्तक भएजस्ता देखिन्थे ।’
पछि सिलवालले थप सूचना पाए, विमानस्थलबाट बाहिरिने सुन दुबईबाट आउँछ । त्यो सूचनालगत्तै उनले अन्तर्राष्ट्रिय कार्यशालाहरुमा भेट भएका दुबईका केही प्रहरी अधिकारीको सम्पर्क पहिल्याए ।
दुबई पुगेर ती अधिकारीलाई भेटन पाए के हुन्थ्यो भन्ने लागिरहेका बेला सिलवालले दुबईमै नेपाल फिल्म टेक्निकल एशोसियनको नेफ्टा अवार्डमा जान निम्ता पाए । नेफ्टाका एक आयोजकले अन्तिम समयमा मात्रै सिलवालको नाम थपिएको पुष्टि गरे ।
पुस ८ मा नेफ्टा अवार्ड थाप्न दुबई पुगे पनि सिलवालको उद्धेश्य अर्कै थियो । दुबई यात्राकै बेला सिलवाल छडकिएर दुवईका प्रहरी अधिकारीलाई भेट्न पुगे । सिलवालले सुनाए, ‘नेपालका सबै कुरा बताएपछि ती अधिकारीले सुन कसले नेपाल लैजान्छ भन्ने सूचना दिन तयार भए ।’
ब्युरोले पाएको सूचना थियो, यही ३३ किलो पाँच सय ७७ ग्राम ४० मिलिग्राम सुनको। युएईको सारजहाबाट एअर अरेबियाको फ्लाईट नम्बर जी ९०५३७ बाट २ः१५ मा उडेको जहाज राती ९ बजे विमानस्थल ल्याण्ड गर्यो ।
९ः५० मा बाहिर निस्किएका दुई व्यक्ति हातेझोला मात्रै बोकेर निस्के । विनालगेज ती व्यक्ति निस्केपछि तिनीहरुको फलोअपमा प्रहरी रातभरी खटियो । ती दुई कोटेश्वर पुगेर बास बसे र भोलिपल्ट बिहान दस बजे ती फेरि विमानस्थल छिरे । दिउँसो दस मिनेटको फरकमा तिनीहरु विमानस्थलबाट ट्याक्सी लिएर बाहिर निस्के । ब्युरो प्रहरीले विमानस्थलको गेट बाहिर ती दुईमध्ये एक जनालाई समाते पनि अर्को व्यक्ति उम्किन सफल भयो ।
सुन लिन निजी कार हाँकेर आएका मोरङका दिनबन्धु थापा र धनुषाका सन्तोष काफ्लेलाई पनि प्रहरीले तत्कालै पक्राउ गर्यो । सिलवालले भने, ‘उम्केका ती व्यक्तिको पहिचान भइसकेको छ । शाहीसँगै बारम्बार सुन लिन जाने मान्छे हुन् ती ।’
ब्युरोको अनुसन्धानमा शाहीले यसअघि पनि दसपटक भन्दा बढी ठुलो परिमाणमा सुन ल्याइसकेको देखिन्छ । यसले विमानस्थलको बाटो हुदै सुन तस्करी नियमित चलिरहेको बुझाउँछ ।
सुन पक्राउपछिका २२ दिनमा प्रहरीका विमानस्थल भन्सारमा कार्यरत तीन कर्मचारी, सुन रिसिभरमा संग्लन रहेको सुचनाका आधारमा काभ्रेको पनौतीबाट दुईजना पक्राउ परिसकेका छन् । सिआईबीका एक अनुसन्धान अधिकारी उक्त सुन भारत लैजानकै निम्ती ल्याइएको बताउँछन । त्यसो त त्यही दिन भारतको दिल्लीस्थित ईन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलबाट दुबई लैजान आटिएको एक करोड भारतिय रुपियाँ बराबरको साउदी मुद्रा रियाल र युएई मुद्रा दिराम पनि बरामद भएको थियो ।
उच्च सुरक्षा रहेको विमानस्थलको टर्मिनल तीनको शौचालयमा नगद रहेको ब्याग साट्न लागेका बेला अवैध विदेशी मुद्रा सहित दुई पक्राउ परेका थिए । भारतीय संचारमाध्यमले नेपालमा बरामद भएको अवैध सुनको आयत र भारतबाट जान लागेको अवैध मुद्राको गन्तव्य र एकै ठाउँमा रहेको भन्दै त्यसको ‘कनेक्सन’ खोजेका थिए ।












प्रतिक्रिया