३ कार्तिक २०८३, मंगलबार

कृष्णनगर भन्सारलाई नेपालकै नमूना बनाउने उद्घोष, चुहावट नियन्त्रणमा विशेष निगरानी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सीताराम चौधरी

कृष्णनगर(कपिलवस्तु), १३ माघ । कपिलवस्तुको कृष्णनगर भन्सारलाई नेपालकै नमूना भन्सार बनाउन कदम चाल्ने प्रमुख भन्सार अधिकृत विन्देश्वर प्रसाद लेखकले उद्घोष गर्नुभएको छ ।

६५औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख भन्सार अधिकृत लेखकले यस्तो बताउनुभएको हो । भन्सारलाई आधुनिक सूचना प्रविधिमैत्री बनाई राजश्वमा भएको चुहावटमा पूर्ण नियन्त्रण गर्ने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो । भारतको बडी लाइनसँग सबैभन्दा नजिकको भन्सार भएका कारण राजश्व असुलीमा समेत उल्लेख्य वृद्धि हुने लेखकले विश्वास व्यक्त गर्नुभयो । वार्षिक १ अर्ब ६१ करोडको लक्ष्य रहेकोमा आफु प्रमुख भई आएको तीन महिनामा २ गुना बढी कर असुली गर्न सफल भएको उहाँले जानकारी दिनुभयो । छोटो समयमा उपलब्धीमूलक काम भएको समेत उहाँले दाबी गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि सांसद अभिषेकप्रताप शाहले कृष्णनगर भन्सार कार्यालय र शाह परिवारको सम्बन्ध नङ र मासुको जस्तै भएको बताउनुभयो । भन्सार कार्यालयलाई आफूले नजिकबाट नियालेको औल्याउँदै भन्सारलाई उत्कृष्ट बनाउन सबैको चासोको विषय बन्नुपर्ने शाहले जिकिर गर्नुभयो । सांसद शाहले भन्सार कार्यालयलाई कर असुलीको अखडा मात्र नबनाई सामाजिक कार्यतर्फ पनि उन्मुख बनाउनुपर्नेमा जोड दिनुभयो । भन्सारले वार्षिक कार्यक्रममा अनाथ, असहाय, पछाडि पारिएका जेहेन्दार बिद्यार्थीलाई सहयोग गर्ने कार्यमा पनि ध्यान दिनुपर्ने उहाँले जिकिर गर्नुभयो ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढकालले सीमा क्षेत्रमा रहेर काम गर्न अत्यन्तै चुनौतिपूर्ण रहेको औल्याउँदै भन्सार कार्यालयका कर्मचारी, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी अत्यन्तै चनाखो बन्नुपर्ने बताउनुभयो । भन्सार कार्यालयले लक्ष्यभन्दा दोब्बर कर असुलेर काममा केही सुधार आएपनि पहुँचको भरमा छुट लिने परिपाटीमा सुधार गर्न आवश्यक देखिएको प्रजिअ ढकालले जिकिर गर्नुभयो ।

कार्यक्रममा उद्योग बाणिज्य संघ कृष्णनगरका अध्यक्ष गुरुशरण सिंह, चन्द्रौटा उद्योग बाणिज्य संघ चन्द्रौटाका अध्यक्ष जमसेद अलि मिया लगायत धारणा राख्नुभएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक तारिखचन्द्र चौधरी, इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख सञ्जय रिजाल, आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख शरदचन्द्र पौडेल, मानव अधिकारकर्मी मीना परियार, शान्ति पुनस्र्थापना गृहका संयोजक भूमिराज भट्टराई, केआई नेपालका संयोजक केशर विश्वकर्मा लगायतको सहभागिता रहेको थियो ।