पोखरा, १३ माघ । एमालेका महासचिव ईश्वर पोखरेलले ठूलो दल नेपाली कांग्रेस र एमाओवादी जनताको चाहना विपरितका एजेण्डा बोकेर हिँड्दा संविधान कार्यान्वयन गर्न नसकिएको जिकिर गरेका छन् । उनले जनता र मुलुकको हित विपरित विभिन्न एजेण्डा बनाउँदै संविधान संशोधनको नाममा अघि बढ्दा संविधान कार्यान्वयन गर्न नसकिएको बताए ।
मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल, मानवअधिकार एलाइन्सको आयोजनामा पोखरामा बुधबार भएको संविधान कार्यान्वयन र नागरिक अपेक्षा विषयक नागरिक राजनीतिक संवाद कार्यक्रममा प्रमुख वक्ता रहेका उनले चोर आशयहरु सल्बलाउन थालेकाले अब सजग हुनुपर्ने बताए ।
‘प्रधानमन्त्रीज्यू अहिले मधेशी, थारु, जनजाति, दलितको माग नै समेटेनछौं । त्यसैले समेट्न संविधान संशोधन गर्न लागेको भन्दै हिँड्नुहुन्छ । कांग्रेसका ठुला नेताहरु नै अनावश्यक कुरा हो भन्ने थाहा पाएर पनि झनै अगुवाई गरेर हिँड्नुभएको छ ।’ पोखरेलले भने – कसको एजेण्डाको भरिया भएर हिँड्नुभएको छ तपाईंहरु ? मधेशी, जनजातिका प्रतिनिधिले त सहीछाप लगाएर ९० प्रतिशत बढिको समर्थनमा संविधान जारी गरेको हो ।
उनले कांग्रेस र माओवादीका राष्ट्रबादी नेता, कार्यकर्ताहरु आफ्नै पार्टी र नेताहरुको गतिविधिबाट वाक्क भएको जिकिर गर्दै भन्न नमिलेर मात्र बोल्न नसकेको बताए । उनले थपे – ‘भाषाको कुरा कसरी आयो ? चिनीयाँ भाषा बोल्नसाथ सरकारी बनाईदिने अब ? हामी २४ घण्टामै भारतीय बुहारीलाई नागरिकता दिन्छौं तर भारतले ७ वर्ष लगाउँछ । यति लचिलो कानुन कहिँपनि छैन । अब के को संशोधन ?’
महासचिव पोखरेलले यहाँको जनजाति, मधेशीप्रति प्रेमभावले यो नगरेको नभई अरुकै एजेण्डामा अघि बढेको जिकिर समेत गरे । मधेश र पहाड अलग बनाउने रणनीतिमा अघि बढेकोले यसो हुन नदिनेमा समग्र नेपाली जनता र एमाले कटिबद्ध रुपमा लागेको उनको भाई थियो । संविधानमा केहि कमजोरी भए सच्याउने विधि भएको तर निरपेक्ष ढंगले सदासयता प्रकट गर्दै विरोध गर्ने भलाद्मीहरुको कारण सबै बिग्रेको उनको भनाई थियो । राजनीतिक दल, बुद्धिजीवि वर्गमा ति भलाद्मी हावी हुँदा नचाहिने कुराले माथ गरेको दुःखेसो पोखे । संविधानको सर्वस्वीकार्यता शब्द राम्रो सुनिएपनि यो पाखण्डीपन भन्दै पोखरेलले शक्ति सन्तुलनमा आधारित सम्झौताको दस्तावेज कहिल्यै पनि सबैको चित्तबुझ्दो नहुने बताए ।
ईन्सेकका अध्यक्ष सुबोध प्याकुरेलले नेपालका दलहरु, प्रमुख नेताहरु कोहि पनि मुलुक र जनताप्रति वफादार नहुँदा संविधान कार्यान्वयनको अवस्था जटिल बनेको प्रतिक्रिया दिए । आयोजक संस्था मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल, मानवअधिकार एलाइन्सका केन्द्रिय अध्यक्ष मिनबहादुर शाहीले देशभरका सबैजसो जिल्लाका प्रतिनिधिहरु भेला गरी यसरी राजनीतिक व्यक्ति र नागरिकबीच संवाद कार्यक्रम गरिएको बताए ।
गैसस महासंघकी पूर्व अध्यक्ष शर्मिला कार्कीले राजनीतिक दलहरु पूर्ण प्रतिवद्ध हुने र जनताले सही कुरामा खबरदारी गर्ने हो भने संविधान कार्यान्वयन सहज बन्ने बताईन् । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले काँग्रेस कहिल्यै पनि मुलुकलाई वेफाईदा हुने तरिकाले अघि नबढ्ने भन्दै राज्य पुनसंरचना र तीन तहको निर्वाचन अहिलेको जटिल विषय रहेको बताए ।
एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले राष्ट्रियता र स्वाभिमानको लडाईंमा एमाले हिँडेको र कुनै हालतमा देशलाई भड्खालोमा जाकिन नदिने बताए । माओवादीका कास्कीका अध्यक्ष दीपक कोईरालाले राजनीतिक दलको प्रतिबद्धता नभएसम्म कार्यान्वयन नहुने भएकाले खबरदारी आवश्यक परेको बताए । राष्ट्रिय जनमोर्चाका गण्डकी अञ्चल ईञ्चार्ज शंकर बरालले संविधान नै खारेज हुने अवस्था आउन लागेको भन्दै पार्टीले भन्दै आएको संघियताको सवाल अहिले देशलाई घाँडो भएको बताए ।
आयोजक संस्था मानवअधिकार एलाइन्सका केन्द्रिय महासचिव डा. पद्मप्रसाद खतिवडाले संविधानको कार्यान्वयनमा नागरिक संगठन विषयमा अवधारणापत्र प्रस्तुत गरेका थिए । संस्थाका कास्की अध्यक्ष रामचन्द्र पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने गैसस कास्की अध्यक्ष गोपाल खड्का, जनआन्दोलन घाईते नारायण सुवेदी, शिव सुवेदी, लिलावल्लभ न्यौपाने र बालबालिका क्षेत्रबाट गोमा ढकालले टिप्पणी गरेका थिए ।











प्रतिक्रिया